२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

'समाजवादी क्रान्तिको दुई चरण' पुस्तक सार्वजनिक

काठमाडौँ — नेपालका वामपन्थी दलहरुले समाजवादी क्रान्तिको चर्को चर्चा गर्दै आएका छन् । नेपालको संविधानमै ‘लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने’ उल्लेख भएपछि वामपन्थी दलहरुले समाजवादी क्रान्तिको आधार तयार गर्ने दस्तावेजमै उल्लेख गरेका छन् । तर समाजवादी क्रान्तिको बाटोमा अघि बढ्ने विषयमा वामपन्थीहरु स्पष्ट छैनन् ।

'समाजवादी क्रान्तिको दुई चरण' पुस्तक सार्वजनिक

समाजवादी क्रान्ति मुख्यगरी समानता, सामाजिक न्यायमा आधारित आर्थिक वृद्धिसँग अघि बढ्ने तथ्यलाई दलहरुले नजरअन्दाज गरेको पाइन्छ । मुखमा समाजवाद, व्यवहारमा निजी सम्पत्ति थुपार्ने राजनीतिक दलका नेताहरुका लागि समाजवादी क्रान्ति क्षितिजको वस्तुजस्तै बन्न पुगेको छ । समाजवादी क्रान्ति पूरा गर्ने नेपाली मौलिकता के हुन सक्छ ?

समाजवादी क्रान्ति पूरा हुन दुई चरण पार गर्नुपर्ने निष्कर्षसहित डीपी ढकालको किताब सार्वजनिक भएको छ । उनले नेपालमा समाजवादी क्रान्ति दुई चरणमा पूरा हुने तर्क र तथ्य प्रस्तुत गरेका छन् ।

उनले पहिलो चरणमा ‘समाजवादोन्मुख राज्य संरक्षित औद्योगिक पुँजीवाद’ को बाटोमा अघि बढ्नुपर्ने तर्क गरेका छन् । ‘समाजवाद निमार्णको पहिलो चरण समाजवादोन्मुख राज्य संरक्षित औद्योगिक पुँजीवाद निर्माण गर्नुपर्ने हुन्छ । जसअर्न्तगत उत्पादनको वृद्धि, उत्पादक शक्तिको विकास, राष्ट्रिय आयको समानताका आधारमा वितरण, राष्ट्रिय आय र बचतको वृद्धि र मौलिक हक र अधिकारको कार्यान्वयनमार्फत आधारभूत समानता कायम गर्ने हुनुपर्दछ’ ढकालको किताबमा छ ।

उनले उत्पादन वृद्धिको कार्यक्रम बनाउँदा सार्वजनिक क्षेत्रको नेतृत्वदायी भूमिका बनाउन योजनाबद्ध पहल लिनुपर्दछ । यो चरणको समय अवधि कति रहन्छ भन्नेकुरा देशको आर्थिक अवस्था, वर्गहरूको आन्तरिक शक्ति सन्तुलन र कम्युनिस्ट पार्टीको आत्मगत अवस्थाले निर्धारण हुने लेखेका छन् । ‘समाजवादोन्मुख राज्य संरक्षित औद्योगिक पुँजीवादको चरणमा छिटो पुग्ने र छिट्टै समाजवादको परिपक्व चरणमा समाजलाई लैजानमा कम्युनिस्टको हरदम कोसिस हुनुपर्दछ’ उनको दाबी छ ।

पहिलो चरणमा उत्पादकत्व वृद्धि, कृषि, जलस्रोत, वन पैदावर र जडिबुटी, खनिज, विज्ञान प्रविधि र आविष्कार, पर्यटनअन्तर्गत धार्मिक पर्यटन, हिम पर्यटन, जल पर्यटन, वन, सांस्कृतिक पर्यटनको विकासमा जोड दिएका छन् ।

उनले समाजवादी क्रान्तिको दोस्रो चरण अघि बढाउन समाजवादमा संक्रमणको महाभियान आवश्यक हुने तर्क गरेका छन् । ‘अर्थ राजनीतिको पहिलो चरण सफलतापूर्वक कार्यान्वयन गरिसकेपछि समाजवादमा संक्रमणको बलियो आधार निर्माण हुनेछ’ लेखकको तर्क छ, ‘समाजवादमा संक्रमणको आधार उत्पादन वृद्धि, आधारभूत समानता, बलियो राष्ट्रियता र सवल जनतन्त्रको जगमा टेकेर मात्र सम्भव हुनेछ ।’

उनले समाजमा समाजवादी विचारधाराको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक प्रभुत्व स्थापित गर्ने काम पहिलो चरण पार गरेपछि दोस्रो चरणमा समाजवादमा संक्रमण बलप्रयोगद्वारा हुन्छ कि शान्तिपूर्ण भन्नेबारेमा त्यसबेला पैदा हुने शक्ति सन्तुलनले निर्धारण हुने जनाएका छन् ।

प्रतिक्रियावादी विचार र पुनरुत्थानवादी शक्तिहरूलाई जनताको संगठित राजनीतिक पहलकदमीबाट निस्तेज पारेपछि मात्र समाजवादमा हुने अन्तरसंघर्षको सञ्चालनमा माओले भनेझैं विचारका सयौं फूलहरूलाई फुल्न दिने नीति लिनुपर्ने उनले लेखेका छन् । ‘समाजवादलाई जनताको व्यापक स्वेच्छिक केन्द्रीकरणको साझा अभियानको रूपमा विकसित गरिनुपर्दछ,’ ढकाल लेख्छन्, ‘समाजवादको अर्थनीति मूलतः समाजको स्वामित्व स्थापित भएको हुनुपर्दछ ।’

प्राध्यापक नरविक्रम थापाले वर्तमान विश्वको अर्थ राजनीतिक अवस्था, दक्षिण एसिया र नेपालको विगतदेखि वर्तमानसम्मको आर्थिक, राजनीतिक र सामाजिक अवस्थाको बारेमा मार्क्सवादी दृष्टिकोणबाट सटिक व्याख्या तथा विश्लेषण गरिएको उल्लेख गरेका छन् ।

प्रकाशित : वैशाख २६, २०८१ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?