कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूर्य नेपाल एनपीजीए टुर : शीर्षमा सद्भावको अग्रता कायम

काठमाडौँ — एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको तेस्रो दिन समग्रमा ११ अन्डर २ सय ५ को स्कोरसहित शीर्षस्थानमा ओगटेका छन् । बुधबार २ अन्डर ७० खेलेका सद्भावले प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारे ।

सूर्य नेपाल एनपीजीए टुर : शीर्षमा सद्भावको अग्रता कायम

भुवनले १ अन्डर ७१ मा खेल सक्दा समग्रमा १० अन्डर २ सय ६ स्कोर बनाएर दोस्रो स्थानमा रहे । अन्तिम १८ होलको खेल बाँकीमा उपाधि होडलाई सद्भाव र भुवनबीच कडा प्रतिस्पर्धा हुनेछ ।

समग्रमा ३ अन्डर २ सय १३ सहित दिनेश प्रजापति र विजय श्रेष्ठ इनहाउस संयुक्त तेस्रो स्थानमा छन् । दिनकै उत्कृष्ट ४ अन्डर ६८ स्कोर कार्ड बनाएका दिनेश नवौं स्थानबाट तेस्रो स्थानमा उक्लिए । विजयले बुधबार १ ओभर ७३ मा खेल सके ।

बुधबार १ अन्डर ७१ स्कोर बनाएर समग्रमा २ अन्डर २ सय १४ सहित नीरज तामाङ पाँचौं स्थानमा रहे । एमेच्योर राहुल विश्वकर्मा १ ओभर २ सय १७ सहित छैटौं स्थानमा उक्लिए । उनले बुधबार ३ अन्डर ६९ को कार्ड बनाए ।

एमेच्योर टासी छिरिङ र प्रो सञ्जय लामा समग्रमा २ ओभर २ सय १८ सहित सातौं स्थानमा छन् । टासीले १ अन्डर ७१ र सञ्जयले इभन पार ७२ मा खेल पूरा गरेका थिए । समग्रमा ३ ओभर २ सय १९ सहित युवराज भुजेल र रवि खड्का संयुक्त नवौं स्थानमा छन् । दुवैले बुधबार ४ ओभर ७६ मा खेल सके ।

लगातार दुई दिनको संयुक्त अग्रता लिएका भुवनलाई पछि पार्दै एकल अग्रता बनाउने क्रममा सद्भावले फ्रन्टनाइन २ अन्डर ३४ मा सके । तेस्रो र छैंटौं होलमा बर्डी प्रहार गर्दै फ्रन्टनाइन बोगीरहित खेले । यसपछि १४ औं होलमा एक शट बचाए पनि १७ औं होलको बोगीले ब्याकनाइन इभन पार ३६ मा सकेका थिए ।

भुवनले राम्रो सुरुआत गर्दै फ्रन्टनाइन ३ अन्डर ३३ मा पुरा गरे । दोस्रो होलमा एक शट खेर फाले । तर यसपछि चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । तर यो लयलाई भुवनले निरन्तरता दिन सकेनन । १५औं र १७औं होलमा बोगी खेप्दै ब्याक नाइन २ ओभर ३८ मा सकाए ।

दिनेशले फ्रन्ट र ब्याक नाइन दुवै २ अन्डर ३४ मा पूरा गरे । चौथो होलको बोगीविरुद्ध तेस्रो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे । यसपछि १० र ११ औं होलमा पनि एक–एक शट बचाए ।

विजयले फ्रन्टनाइन इभन पार ३६ मा सक्दा तेस्रो र सातौं होलमा १–१ शट बचाए भने पाँचौ र छैटौं होलमा बोगी खेपे । ब्याकनाइन भने १ ओभर ३७ मा पुरा गरे । विजयले दसौंदेखि १२औं होलमा लगातार तीन बर्डीको सफलता पाए । तर ४ पारको १४ औं होलमा ट्रिपल बोगीको सामना गर्न बाध्य हुँदा १७ औं होलमा एक शट खेर फाले । विजेताले १ लाख ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : चैत्र १४, २०८० २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?