कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटहरी गोल्डकप फुटबल : चर्च ब्वाइज सेमिफाइनलमा

अर्जुन सुवेदी

सुनसरी — चर्च ब्वाइज युनाइटेडले मंगलबार एनआरटीलाई पराजित गर्दै १४ औं कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल तय गरेको छ । इटहरी रंगशालामा मंगलबार राति अन्तिम क्वाटरफाइनलमा झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइजले बुढासुब्बा गोल्डकप बिजेता एनआरटीमाथि २–१ गोलको जिते निकाले ।

इटहरी गोल्डकप फुटबल : चर्च ब्वाइज सेमिफाइनलमा

चर्च ब्वाइजको जितमा अबायोमी फकुन्ले र सुरजज्यू ठकुरीले गोल गरेका थिए । एनआरटीका अफिज ओलावालेले एक गोल फर्काए पनि त्यो पर्याप्त भएन ।

खेलको ३७ औं मिनेटमा अबायोमीले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएको चर्च ब्वाइजमाथि एनआरटीले ८२ औं मिनेटमा गोल फर्कायो । शिशिर लेखीको पास सदुपयोग गर्दै ओलावालेले खेल १–१ गोलको बराबरीमा ल्याए । लगत्तै त्यसको एक मिनेट बित्न नपाउँदै चर्च ब्वाइजका सुरजले गोल गरी टिमलाई पुनः २–१ को अग्रता दिलाए । उनले उक्त गोल वैकल्पिक खेलाडी मिलन राईको पासमा गरेका हुन् । मिलन ७५ औं मिनेटमा राजेश परियारको ठाउँमा मैदान छिरेका थिए ।

मंगलबार म्यान अफद म्याच चर्च ब्वाइजका सुरजज्यू ठकुरी भए । उनलाई १० हजार प्रदान गरे । चर्च ब्वाइजले दोस्रो सेमिफाइनलमा बिहीबार आयोजक राष्ट्रिय जागृति क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

आयोजक टिम पाहुना टोली कञ्चनजंघा फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ ।

बुधबार पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी र साबिक बिजेता सगरमाथा फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ । आर्मीले बिर्तामोड युनाइटेड र सगरमाथाले एपीएफलाई हराएका थिए । फाइनल शनिबार हुनेछ ।

प्रकाशित : चैत्र १४, २०८० ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?