२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

तीन स्थानीय तहका पाँच विद्यालयमा भूकम्प प्रतिरोधी भवन निर्माण

डीबी बुढा

जुम्ला — तीन स्थानीय तहमा रहेका पाँच विद्यालयका भवनहरु भूकम्प प्रतिरोधी बनेका छन् । निकै जीर्ण र कमसल भवनहरु भत्काएर भूकम्प प्रतिरोधी भवन बनाइएको हो । 

तीन स्थानीय तहका पाँच विद्यालयमा भूकम्प प्रतिरोधी भवन निर्माण

कनकासुन्दरीको भैलापाटा र गोरुचौर आधारभुत विद्यालय, हिमाको भैरब आधारभुत विद्यालय जोगीबाडा र महादेव आधारभुत विद्यालय कुडु तथा सिंजाका माध्यमिक विद्यालय जोडुमा भूकम्प प्रतिरोधी भवन बनाइएको हो । विद्यालयमा भूकम्प प्रतिरोधी भवनहरु बनेपछि झण्डै एक हजार बालबालिका सुरक्षित रुपमा पढ्न पाउने भएका छन् । यी विद्यालयहरुमा भवन सामान्य हलचल र पहिरो आउने बित्तिकै ध्वस्त हुने अवस्थाका थिए ।

पछिल्लो समय बारम्बार भूकम्पले तर्साइरहने र कच्ची भवनहरु भत्किएर ठुलो क्षति हुन सक्ने सम्भावना बढेकोले नयाँ बन्ने भवनहरु भूकम्प प्रतिरोधी बनाउन थालिएको सिंजा गाउँपालिकाले जनाएको छ । पाँच वटै विद्यालयहरुमा चारचार कोठे भवन भूकम्प प्रतिरोधी, बालमैत्री र अपांगमैत्री बनेका छन् । प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा पेश नेपालको आधार परियोजनाबाट विद्यालयहरुको भवन बनाइएको हो ।

४ वटा शौचालय र ३ वटा हेण्ड वासिङ स्टेशन बनाइएको छ । कनकासुन्दरीका स्थानीय करबहादुर वडले बालबालिका रमाइरमाइकन स्कुल जाने अवस्था बनेको बताए । विद्यालयका भवनहरु निकै आकर्षक, बलियो र शैक्षिक सामाग्रीमैत्री बनेकोले रहरले बालबालिका स्कुल जान थालेको उनको अनुभव छ ।

जीर्ण भवनमा कोचाकोच गरेर विद्यार्थी पढाइरहेका यि विद्यालयहरु सुरक्षित भवनमा गुणस्तरीय पढाइ हुन थालेकोमा उत्साहित छन् । २ करोड ४७ लाख ३ हजार ५ सय ३३ रुपैयाँमा विद्यालय भवनहरु निर्माण भएका हुन् । नयाँ निर्माणसंगै मर्मतसम्भार, कक्षाकोठा, शौचालय, हातधुने स्टेशन खानेपानी सुविधा र हरियो बगैंचाको अवधारणा समेत निर्माण भएको छ ।

सिंजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले अब बन्ने सबै भवनहरु भूकम्पप्रतिरोधी र भवन आचारसंहिताको पुर्ण पालना गरेर मात्र बन्ने बताए । उनले भने, ‘सिंजा क्षेत्रका विद्यालयहरु भूकम्प प्रतिरोधी बनिरहेका छन्। यसले अभिभावकमा ढुक्कता र विद्यार्थीमा सुरक्षित आभाष दिलाएको छ । ’

प्रकाशित : वैशाख ८, २०८१ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?