कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

‘उल्लु सर’ लाई प्रसिद्ध 'ह्विट्ली अवार्ड'

लाटोकोसेरो संरक्षण अभियानमा सक्रिय राजु आचार्य बेलायतमा ५० हजार पाउन्डको 'ह्विट्ली अवार्ड'बाट पुरस्कृत
दीपक परियार

पोखरा — गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षण परियोजनाका लागि पोखराका संरक्षणकर्मी राजु आचार्यले प्रसिद्ध ह्विट्ली अवार्ड प्राप्त गरेका छन् । संरक्षणका क्षेत्रमा विगतमा पुर्‍याएको योगदानको आधारमा समेत बेलायतमा रहेको संस्था ह्विट्ली फन्ड फर नेचरले उनलाई अवार्डबाट पुरस्कृत गरेको हो ।

‘उल्लु सर’ लाई प्रसिद्ध 'ह्विट्ली अवार्ड'

बिहीबार बेलायतको लन्डनमा आयोजित एक कार्यक्रमबीच बेलायती राजकुमारी एनले उक्त अवार्ड प्रदान गरेकी हुन् । ५० हजार पाउन्ड राशिको उक्त अवार्ड आचार्यसहित विश्वभरका ६ जना अनुसन्धान/संरक्षणकर्मीलाई दिइएको छ । अनुसन्धान र संरक्षण क्षेत्रमा विगतमा पुर्‍याएको योगदान र आगामी योजनाका लागि यो पुरस्कार प्रदान गरिएको हो ।

आचार्यसँगै ब्राजिल, भुटान, पपुवा न्युगिनी, क्यामरुन र गुयानाका अनुसन्धान एवं संरक्षणकर्मीले पनि अवार्ड प्राप्त गरे । संस्थाले ३० वर्षमा ८० भन्दा बढी मुलुकका २ सयजना संरक्षणकर्मीलाई २३ मिलियन पाउन्ड सहयोग गरिसकेको छ ।

संरक्षणको क्षेत्रमा काम गर्ने संस्था ‘प्रकृतिका साथीहरू’ का संस्थापक आचार्य ‘उल्लु सर’ का रूपमा परिचित छन् । लाटोकोसेरो संरक्षणमा उनको निरन्तर लगावका कारण उनले उक्त नाम पाएका हुन् । उनले गण्डकी प्रदेशमा उल्लुका प्रमुख खतराहरू पहिचान गर्ने र वार्षिक रूपमा ‘नेपाल उल्लु महोत्सव’ मार्फत संरक्षणको सांस्कृतिक चेतना बढाउने कामका लागि उक्त रकम खर्च गर्ने छन् । नेपाल सरकारले बनाएको ‘१० वर्षे लाटोकोसेरो संरक्षण कार्ययोजना’ले तोकेको कार्यहरूमा उक्त रकम खर्च हुनेछ ।

उक्त कार्यक्रमअन्तर्गत गुलेली नियन्त्रण, बुढा रुखको संरक्षण, कृत्रिम गुँडको स्थापना तथा लाटोकोसेरोको अवैध चोरी सिकारी नियन्त्रण आदि रहेको छ । यी काम गर्न उनको समूहमा सोम जिसी र सुमन सापकोटासमेत रहने छन् । ‘यो पुरस्कार पाउनु मेरो जीवनको सब भन्दा खुसीको दिन हो । पुरस्कार ती सबै चराको लागि समर्पित छ जो दुर्लभ नभएकै कारण अनुसन्धान र संरक्षणकर्मीको आँखामा परेका छैनन्,’ उनले भनेका छन्, ‘बिनास्वार्थ लाटोकोसेरो संरक्षण अभियानमा जोडिएका सबैलाई मुरीमुरी धन्यवाद ।’

नेपालका संरक्षणकर्मी राजु आचार्यलाई बुधबार लन्डनमा ह्विट्ली अवार्ड प्रदान गर्दै बेलायती राजकुमारी एन ।

हाल प्रकृतिका साथीहरू संस्थाको कार्यकारी निर्देशकसमेत रहेका आचार्यले विगत ३५ वर्षदेखि वन्यजन्तुको अध्ययन र संरक्षणमा विशेष योगदान गरेका छन् । १६ वर्षदेखि उनी लाटोकोसेरो संरक्षणमा बढी सक्रिय छन् । उक्त अवधिमा उनी प्रत्यक्ष रूपमा ६० हजारभन्दा धेरै मानिससम्म पुगेर लाटोकोसेरोको महत्त्वको बारेमा जानकारी गराएका छन् । उनका लाटोकोसेरोसम्बन्धी ५ पुस्तक प्रकाशित छन् । उनी लाटोकोसेरोसम्बन्धी डिजिटल पत्रिका ‘हप्सिलो’का सम्पादकसमेत हुन् । उनका १ सय २५ भन्दा बढी प्रकृतिसम्बन्धि लेख प्रकाशित छन् ।

नेपालका ६८ जिल्ला घुमेका उनले हजारौं विद्यार्थीलाई लाटोकोसेरो संरक्षण गर्न प्रेरित गरेका छन् । नेपालको सबैभन्दा ठूलो संरक्षण अभियान नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव उनकै नेतृत्वमा ११ वर्षदेखि सञ्चालन हुँदै आएको छ । लाटोकोसेरोबाहेक उनले ब्वाँसो, जंगली चौंरी, हिउँ चितुवा, ध्वाँसे चितुवा, वन कुकुर, साना मांसाहारी, गिद्ध, कालिज संरक्षणमा पनि काम गरेका छन् । मानव–वन्य जन्तु द्वन्द्व, जैविक विविधता अभिलेखीकरण, वन कार्बन, समुदायमा आधारित प्रकृति संरक्षण, हरित विद्यालयका क्षेत्रमा उनको दख्खल छ ।

अन्य अनुसन्धानकर्मी नपुगेको क्षेत्र तथा प्रजातिको अनुसन्धान र संरक्षणको नेतृत्व गरिरहेका उनी नवीन काम गर्न रुची राख्छन् । पश्चिममा हुम्लादेखि पूर्वमा संखुवासभासम्मका क्षेत्रमा पुगेर काम गरेका छन् । ‘प्रकृतिका साथीहरू’ मार्फत उनकै पहलमा सरकारले सन् २०२० मा लाटोकोसेरो संरक्षण कार्य योजना तयार पारेको थियो । उक्त कार्ययोजनाले उल्लुको शिकार, अवैध व्यापार र बासस्थानको क्षतिबाट हुने खतरालाई सम्बोधन गर्छ ।

उनको परियोजनाले उच्च जोखिममा रहेका प्रमुख प्रजाति संरक्षण प्रयासहरू केन्द्रित गर्ने खतरालाई सम्बोधन गर्दछ । चराहरूमध्ये नेपालमा अवैध व्यापारको हुनेमा उल्लु पनि पर्छ । नेपालमा प्रत्येक वर्ष १ हजार ५ सय उल्लुहरूको शिकार वा व्यापार गरेको तथ्यांक छ । नेपालमा उल्लुलाई अशुभको प्रतीकका रूपमा बुझिँदा पनि हानी व्यहोर्न परेको छ ।

उल्लु रुखको टोड्कोमा बस्न रुचाउँछन् । पुराना रुख काट्दा उल्लुको बासस्थानमा क्षति पुग्छ । गाउँघरमा गुलेलीको प्रयोगले शिकार गरिनु पनि उल्लूको लागि खतरा हो । गण्डकी प्रदेशको एक तिहाइ भाग वन क्षेत्रले ओगटेको छ । आचार्यको परियोजनाले समुदायको सक्रिय सहभागिताको सदुपयोग गर्दै उल्लु संरक्षणमा सफलता पाउने लक्ष्य राखेको छ । स्थानीय समुदायबीचको सहकार्यको माध्यमबाट उल्लुको प्रयोग कम गर्ने, उल्लूको मासुको उपभोगलाई निरुत्साहित गर्ने, चरा संरक्षणमा नियम कानुनको पालना गर्न वकालत गर्ने परियोजनाको उद्धेश्य छ ।

परियोजनाअन्तर्गत पाँच स्थानमा गुलेली निषेधित क्षेत्र बनाएर उल्लुको सिकार गर्ने विद्यार्थीलाई गुलेलीको प्रयोगमा निरुत्साहित गर्ने, एक सयवटा संरक्षण शिविर बनाएर विद्यार्थी र सर्वसाधारणमा चेतना जगाउने कार्यक्रम छन् । उनको टोलीले ५ सय पुराना रूखहरूको संरक्षण र अर्ध–सहरी क्षेत्रमा एक सयवटा कृत्रिम गुँडहरू स्थापना गरेर १ हजार २ सय हेक्टरमा उल्लु बासस्थानको पुनःस्थापना गर्ने योजना बनाएको छ । सुरुवाति अवस्थाका वैज्ञानिकलाई परियोजनामा समावेश गराउने उनको योजना छ ।

रूखहरू जोगाउन र कृत्रिम गुँडहरू स्थापना गर्न ‘उल्लु दूत’ लाई प्रशिक्षणसमेत दिइने छ । परियोजनाले उल्लुका बारेमा नकारात्मक धारणा कम गर्ने लक्ष्य राखेको छ । परियोजनाअन्तर्गत उल्लुको शिकार र व्यापार कम गर्न नियामक निकाय, नीति निर्माता र उल्लु दूतहरूको क्षमता वृद्धि गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन हुने छन् ।

प्रकाशित : वैशाख २१, २०८१ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?