२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

म्याग्दीका अधिकांश वनमा डढेलो 

घनश्याम खड्का

म्याग्दी — जिल्लाका अधिकांश सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा दैनिकजसो डढेलो लागिरहेको छ । 

म्याग्दीका अधिकांश वनमा डढेलो 

सोमबार मात्र बेनी नगरपालिका-७ र ८ वडामा पर्ने बराहपाखो सामुदायिक वन, बेनी नगरपालिका-२ र ३ मा पर्ने तोराखेतको जंगल, बेनी नगरपालिका-३ कै ठूलोरानीवन, मंगला गाउँपालिका-४ को आलडाँडा -सामुदायिक वन र अन्नपूर्ण गाउँपालिका- १ को दोवा सामुदायिक वन, वडा नं ६ घारको साल्जा, खोप, महभीर, जुकेपानी, भुर्दुङ सामुदायिक वनमा डढेलो लागिरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

मंगला गाउँपालिकाको आलडाँडा र अन्नपूर्ण गाउँपालिका दोवा र घारको जंगलमा ५ दिन अघि लागेको डढेलो अझै निभेको छैन । फागुन सुरु भएदेखि यता जिल्लाका कम्तिमा ५५ वटा सामुदायिक वनको १ हजार बढी क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हिमालमुनिका राष्ट्रिय वन र चरन क्षेत्रमा लागेको डढेलोको कतै अभिलेख छैन ।

‘बस्ती नजिकका प्रायः सबै भीर र जोडिएको जंगल डढेलोले काला बनेका छन् । बस्तीदेखि माथिल्लो चरन क्षेत्र पनि उस्तै काला देखिन्छन् । डढेलो लगाउने प्रचलन रोक्न अनेक प्रयत्न गरियो तर सकेका छैनौं,' डिभिजन वन कार्यालयका वन अधिकृत चन्द्रमणि सापकोटाले भने, ‘टाढाको कुरा नगरौं सदरमुकाम बेनीमै डढेलो लागिरहेको छ । वन डिभिजन कार्यालयकै आवास क्षेत्र डढेलोको चपेटोमा परेको छ ।’

अधिकृत सापकोटाले थपे, ‘माथिल्लो हिमाली क्षेत्रमा कतै सिकारीले डढेलो लगाउने गरेको सुनिएको भएपनि तल्लो बस्ती नजिकका भीरपाखामा गाउँलेले नै डढेलो लगाउँछन् ।’ डिभिजन वन कार्यालयले वर्षेनि वन डढेलो नियन्त्रण गर्न विभिन्न शीर्षकमा लाखौं खर्च गर्ने गरेपनि डढेलो नियन्त्रणमा कुनै प्रभाव पारेको छैन ।

वन कार्यालयले वन डढेलो विरुद्ध प्रचार–प्रसार गर्न, सामुदायिक वनलाई डढेलो नियन्त्रण परिचालन गर्न डढेलो नियन्त्रणमा प्रभावकारी काम गर्ने सामुदायिक वन समुहलाई पुरस्कार, डढेलो नियन्त्रणमा खटिने ब्यक्तिहरुलाई खाजा तथा पानी खर्च र र डढेलो लगाउने विरुद्ध सुराकी परिचालन समेत १० लाखबढी खर्च कागजमै सीमित छ । वन डढेलो नियन्त्रण गर्न जिल्लास्तरीय एक र सबै ६ वटा स्थानीय तहमा सव डिभिजन कार्यालयले डढेलो नियन्त्रण सञ्जाल गठन भएपनि ती कागजमै सीमित छन् ।

वन, पाखा र भीरमा लागेको डढेलोको धुँवा र कच्ची सडकमा गाडीले उडाउने धुलोले वायु प्रदुषण बढेको छ । वायु प्रदुषण मापन अनुसार बेनीको वायुमा १ सय २५ पिएम प्रदुषण देखिएको छ । यो मापनले वायुको अस्वस्थयता देखाउँछ ।

त्यस्तै वन डिभिजन कार्यालयको अभिलेख अनुसार जिल्लाको २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफल मध्य ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ ।

ढोरपाटन सिकार आरक्षले १ हजार २ सय ६० हेक्टर, एक्यापले ३ हजार ७ सय ५३ हेक्टर वन क्षेत्र ओगटेको छ । वन कार्यालयले ब्यवस्थापन गर्ने ७९ हजार ४ सय ३९ हेक्टर वनमध्य २४ हजार २ सय २ हेक्टर वन ३ सय १० वटा सामुदायिक वन उपभोक्ता समुह मार्फत ब्यवस्थापन हुँदै आएको छ । करिव ५ हेक्टर कवुलियत, धार्मिक र निजी वन छ । बाँकी सवै राष्ट्रिय वन हो ।

‘वन डढेलो नियन्त्रण गर्ने विभिन्न कार्यक्रम भएपनि प्रभावकारी कार्यान्वयन भएको छैन’ वन अधिकृत सापकोटाले थपे, ‘वन डढेलोको राम्रो अभिलेख पनि हामीसंग छैन । कर्मचारी त खटाएका छौं । तर सूचना आएको छैन । बस्तीभन्दा धेरै माथि राष्ट्रिय वन भएकोले पनि नियन्त्रणमा चुनौती छन् ।’

वन डढेलो मध्य सवैभन्दा ठूलो २०५० बैशाख १ गतेदेखी एक महिना १७ दिनसम्म ढोरपाटन सिकार आरक्षको म्याग्दी पट्टी लुलाङ्ग र गुर्जा गाविसको वन क्षेत्रमा लागेको थियो । यस वन डढेलोले झण्डै आठ सय हेक्टर वन नष्ट गरेकोले सुकेका रुखहरुको जंगल मात्र देख्न पाइन्छ ।नयाँ विरुवा समेत उम्रेका छैनन् ।

यही सुकेको जंगलमा ०६९ जेठमा पुनः भीषण डढेलो लाग्यो । १५ दिनसम्म लागेको डढेलो नियन्त्रण गर्न सेना परिचालन हुने प्रयास भएपनि दुर्गम पहाडी इलाकामा ठूलो क्षेत्रफलमा फैलिएकोले सफल भएन । यो डढेलो आकासे झरी लागेपछि नियन्त्रणमा आएको थियो ।

त्यसैगरी ०४५ सालमा मुस्ताङ्गबाट हावाहुरीले ल्याएको आगोको लप्काले संसारकै सबैभन्दा ठूलो लालीगुराँसको जंगल अर्न्तगत म्याग्दीको शिख, हिस्तान, राम्चे र पर्वतको भुकदेउराली गाविसको ठूलो क्षेत्रफल वनमा डढेलो लागेको थियो ।

प्रकाशित : वैशाख १२, २०८१ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?