२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति 

डम्बरसिं राई

खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाले प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्ने दुई जनालाई छात्रवृत्ति दिएको छ । नगरपालिकाको छात्रवृत्ति कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८० अनुसार वडा नं. ४ बडहरेका विकेश सिलवाल र वडा नं. ६ मङ्गलटारका हेमन राईलाई जनही एक/एक लाख रूपैयाँका दरले बिहीबार उपलब्ध गराएको हो ।

प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति 

नगरप्रमुख विमला राईका अनुसार छात्रवृत्ति कार्यक्रम अन्तरगत पहिलो पटक दुईजना छात्रलाई प्रोत्साहन रकम उपलब्ध गराइएको हो । ‘नगरपालिकाले रोजगारमूलक गुणस्तरीय शिक्षामा जोड दिएको छ, यसका लागि नगरपालिकाभित्रका छात्रछात्रालाई प्राविधिक विषयमा अध्ययन गर्न/गराउन छात्रवृत्ति स्वरुप एक लाखका दरले प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो,' राईले भनिन् ।

सिलवाल एभरेष्ट इन्जिनियरिङ कलेज ललितपुर र राई कान्तिपुर इन्टरनेश्नल कलेज काठमाडाौमा सिभिल इन्जिनियरिङ विषयको स्नातक तह अध्ययनरत गरिरहेका छन् । उनीहरु दुवै जनाले नगरपालिकाद्वारा जारी सूचनाको आधारमा आवेदन दिएपछि नगरपालिकामा गठित छनोट समितिको सिफारिसको आधारमा एक लाखका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको राईले बताइन् ।

नगरपालिकाले चिकित्साशास्त्रका विषयहरु, कृषि तथा पशु विज्ञानका विषयहरु, वन तथा वातावरण विज्ञानका विषयहरु, इन्जिनियरिङका विषयहरु र सूचना प्रविधिका विषयहरु गरी पाँचवटा विषयमा उच्च शिक्षा अध्ययन गर्ने छात्रछात्रालाई प्रोत्साहन रकम उपलब्ध गराउने नीति पारित गरेका राईले सुनाइन् ।

नगरपालिकाले उपलब्ध गराउने प्रोत्साहन रकम पाउन छात्रछात्राले कलेज भर्ना भएको प्रमाणसहित आवेदन दिनुपर्ने राईले बताइन् । यसका लागि कोटा निर्धारण गरिएको छैन । प्राविधिक विषय अध्ययन गर्ने जति सबैले छात्रवृत्ति स्वरुप प्रोत्साहन रकम पाउने प्रमुख राईले बताइन् ।

छात्रवृत्तिका लागि स्नातक तह अध्ययनरत छात्रछात्राले मात्र आवेदन दिन पाउने व्यवस्था छ । छात्रवृत्तिका लागि आवेदन दिन छात्रछात्रा सोही नगरपालिकाको हुनुपर्ने, जेहेन्दार, दलित तथा विपन्न परिकारको सदस्य हुनुपर्ने, फौजदारी अभियोगमा कसुरदार नठहरिएको हुनुपर्ने, प्रतिवद्धतापत्रका शर्तमा लिखित सहमति जनाउनुपर्ने र नेपालभित्रै सञ्चालित शैक्षिक संस्थामा अध्ययनरत रहेको हुनुपर्ने नगरपालिकाले तयार पारेको कार्यविधिमा उल्लेख छ ।

प्रकाशित : वैशाख ७, २०८१ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?