१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०७

फूलले चिटिक्क सडक [तस्बिरहरु]

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत बुटवल–बेलहिया व्यापारिकमार्ग यतिबेला मनमोहक छ । उक्त मार्गको मणिग्राम योगीकुटीको बीच सडकमा फुलेका फूलले उक्त सडकमा यात्रामा निस्कने सबैलाई मन आनन्दित बनाएको छ । पालिकाको १३ किलोमिटर सडक खण्डमा २ हजार ५ सय बढी फूल रोपिएको हरियाली प्रवर्द्धन अधिकृत गोरखनाथ खनालले बताए । ती फूलमध्ये बेगमबेली र अन्य विभिन्न रङमा फूल फुलेपछि दृश्य हेर्नलायक बनेको हो ।

नगरपालिकाले सिटी फ्लावरका रुपमा रोपेको बेगमबेलीका धेरै रङमा फुलेको फूलसँगै, हमेलिया, कल्की, करविर लगायतका फूल सडकको बीचमा रहेको ग्रिनरी क्षेत्रमा रातो, पहेँलो, सेतो, गुलाबी रङमा फुलेको छ । तीबाहेक आँप, वर, पिपल, स्वामीलगायतका रुख पनि सडक किनारमा छन् । सडकमा यात्रा गर्नेहरुले भिडियो खिच्ने, तस्बिर खिच्ने सामाजिक संजालमा राखेर समेत तिलोत्तमाको प्रशंसा गर्ने गरेका छन् ।

पालिकाले हालसम्म २ लाख ५० हजारभन्दा बढी बिरुवा सडक किनार, सार्वजनिक क्षेत्र, सरकारी भवन तथा विद्यालय परिसर र पालिकामा रहेका १६ वटा पार्कमा रोपेको खनालले जानकारी दिए ।

फूलमा नगरपालिकाबाट खटिएका कर्मचारीले पानी राख्ने, काटछाँट, गोडमेल र मल राख्ने काम गर्छन् । फललाई जोगाउन जाली लगाई रिङ बनाएर रोपिएको छ । हरियाली प्रवर्द्धन पालिकाको मुख्य काम नै भएकाले सडकलाई फूलमय बनाइरहेको नगर प्रमुख रामकृष्ण खाँणले बताए । उनले पूर्वनगर प्रमुखले सुरु गरेको कामलाई निरन्तरता दिँदै आफ्नो कार्यकालमा नगरलाई थप सुन्दर र हेर्नलायक बनाउने उद्देश्यसहित सरसफाई, हरियाली र राम्रा फूल फुलाउने अभियानलाई अघि बढाएको बताए । तिलोत्तमाको वडा न १, २, ३, ४ र ५ मा अहिले ती फूल फुलेका हुन् ।

प्रकाशित : वैशाख ७, २०८१ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्