कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बैंकमा साढे ६ खर्ब थुप्रिँदा पनि वित्तीय–बिमा क्षेत्रको वृद्धिदरमा सुधार

यस वर्ष अपेक्षित रूपमा कर्जा विस्तार र बिमालेख बिक्री नहुँदा पनि अवस्था गत वर्षभन्दा राम्रो बन्दा आर्थिक वृद्धिमा सुधार

काठमाडौँ — चालु आर्थिक वर्षमा वित्तीय र बिमा क्षेत्रको वृद्धिदर ७.८० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । अपेक्षित रूपमा कर्जा प्रवाह नहुँदा बैंक तथा वित्तीय संस्थामा करिब साढे ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएका बेला पनि वित्तीय तथा बिमा क्षेत्रको वृद्धिदरमा सुधार हुने देखिएको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमान प्रतिवेदनले औंल्याएको छ ।

बैंकमा साढे ६ खर्ब थुप्रिँदा पनि वित्तीय–बिमा क्षेत्रको वृद्धिदरमा सुधार

गत आर्थिक वर्षको तुलनामा यो प्रक्षेपण ०.५४ प्रतिशत बिन्दुले बढी हो । गत आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर ७.२७ प्रतिशत हुने संशोधित अनुमान छ ।

‘बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि, बैंक र वित्तीय संस्थाको सेवा शुल्कको आम्दानीमा भएको वृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको हो,’ प्रतिवेदनले भनेको छ, ‘अपेक्षित कर्जा प्रवाह विस्तार नभए पनि गत वर्षभन्दा धेरै नै कर्जा प्रवाह भएकाले वृद्धिको अनुमान पनि केही बढी देखिएको हो ।’ यस वर्ष वित्तीय प्रणाली पर्याप्त तरलता छ । ब्याजदर घटिरहेको छ । अपेक्षित रूपमा कर्जा प्रवाह भएको छैन । बिमा पहुँच पनि खुम्चिएको छ । यस्तो अवस्थामा पनि वित्तीय र बिमा क्षेत्रमा कसरी सकारात्मक विस्तार हुन सक्छ भन्ने प्रश्न उठेको छ । यस सम्बन्धमा बैकर्स संघका अध्यक्ष सुनिल केसी भन्छन्, ‘यस वर्ष कर्जा माग बढ्न नसके पनि गत वर्षभन्दा बढी नै ऋण प्रवाहको वृद्धिदर धेरै भएकाले वृद्धिदरमा सकारात्मक असर देखिएको हुन सक्छ ।’ आर्थिक गतिविधिमा आएको शिथिलताले कर्जाको माग अपेक्षित रूपमा बढ्न नसके पनि अर्थतन्त्रका धेरै सूचकमा सुधारका क्रममा रहेको उनले जनाए ।

गत वर्षको साउनदेखि फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप ४ खर्ब ३५ अर्ब ८७ करोडले बढेको छ । यो ७.६ प्रतिशतको वृद्धि हो । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब ८० अर्ब ५७ करोड (५.५ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.५ प्रतिशत थियो । गत वर्षको फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३६.८ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको आठ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९९ अर्ब ५० करोड (४.२ प्रतिशत) ले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब २८ अर्ब १८ करोड (२.८ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिवेदनले चालु आर्थिक वर्षमा घरजग्गा कारोबारको वृद्धिदर २.९८ प्रतिशतले हुने हुने अनुमान गरेको छ । घर जग्गाको कारोबारमा तुलनात्मक रूपमा कमी आएको भए तापनि निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढ्ने कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष ०७९/८० मा यस क्षेत्रको वृद्धिदर २.१८ प्रतिशत रहने संशोधित अनुमान कार्यालयले गरेको छ । आर्थिक वर्ष ०७८/७९ को अन्तिम तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १.७२ प्रतिशत कायम गरिएको छ । कोभिडका कारण गरिएको लकडाउनका कारण अघिल्ला दुई आर्थिक वर्षमा वित्तीय र बिमा क्षेत्रको वृद्धिदर खुम्चिएको थियो । कोभिडको जोखिम कम भएपछि मुलुकमा आर्थिक गतिविधि बढेका छन् । यसले बैंकिङ र बिमा क्षेत्रमा पनि सकारात्मक प्रभाव परेकाले चालु आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदरमा सुधार देखिएको राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ ।

गत चैतसम्म नेपालमा बिमा पहुँच ४३.३२ प्रतिशत पुगेको नेपाल बिमा प्राधिकरणको तथ्यांक छ । गत वर्षको यही अवधिमा यस्तो पहुँच ४४.५५ प्रतिशत थियो । अर्थतन्त्रमा आएको शिथिलतासँगै नागरिकको खरिद क्षमता घटे पनि बिमा पहुँच पनि घटेको प्राधिकरणको दाबी छ । यस्तै पछिल्ला वर्षमा बिमाप्रति नागरिकको विश्वास पनि खस्किँदै गएको देखिन्छ । सरकारले पैसा नदिएको भन्दै करिब १ लाख नागरिकले कोरोना बिमाको दाबी भुक्तानी पाएका छैनन् । सरकारले कृषि बिमाको अनुदान नदिँदा कम्पनीले कृषि बिमालेख बिक्री र दाबी भुक्तानी रोकेका छन् । यी कारणले पनि बिमाप्रति नागरिकको विश्वास खस्किएको जानकार बताउँछन् ।


प्रकाशित : वैशाख २०, २०८१ २२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?