२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८१

कम्युनिस्ट आन्दोलनको भविष्य

२०४८ सालमा मोहनविक्रम सिंहले जस्तै निर्वाचन बहिष्कार गर्ने वा पुष्पकमल दाहालले जस्तै पार्टीलाई भूमिगत राखेर मोर्चामार्फत चुनाव लड्ने कार्यनीति अघि सारेको भए कम्युनिस्ट पार्टी मसालकै तहबाट माथि उठ्न सम्भव थिएन ।
विष्णु रिजाल

वैशाख १०, २००६ (अप्रिल २२, १९४९) मा पुष्पलाल श्रेष्ठको नेतृत्वमा भारत कलकत्तामा स्थापित नेपाल कम्युनिस्ट पार्टीले ७५ औं वर्ष प्रवेश गर्दा यसले नेपालमा सबभन्दा ठूलो आन्दोलनका रूपमा आफूलाई स्थापित गरेको छ । आश्चर्य त विश्वबाटै कम्युनिस्ट सत्ताहरू धमाधम ढल्दा र कम्युनिस्ट पार्टी दुब्लाउँदै जाँदा नेपालमा चाहिँ कम्युनिस्ट जनमत प्रभावशाली छ ।

कम्युनिस्ट आन्दोलनको भविष्य

शासन सत्तामा कम्युनिस्टको वर्चस्व विभिन्न प्रकारले कायम छ भने जनमानसमा सबभन्दा प्रभावशाली विचारधाराका रूपमा कम्युनिज्म स्थापित भएको छ । शान्तिपूर्ण र सशस्त्र दुवैथरी कम्युनिस्टका लागि अनुकूल भूमि यहीँ देखिएको छ । आर्थिक–सामाजिक रूपान्तरणका मुद्दा बलियो गरी स्थापित हुनु र तिनले नेपाली समाजमा स्वीकार्यता प्राप्त गर्नुमा कम्युनिस्टहरूको मुख्य योगदान छ । कुनै बेला पञ्चायती व्यवस्थाका विरुद्ध संयुक्त संघर्ष गर्न कम्युनिस्टहरूसँग सहकार्य गर्न हिचकिचाउने नेपाली कांग्रेससमेत वाम एजेन्डाबाट टाढा बस्न सकेन । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक/समावेशिता जस्ता विषयलाई राष्ट्रिय एजेन्डाका रूपमा स्वीकार्य बनाउन निःसन्देह कम्युनिस्ट पार्टीहरूले भूमिका निर्वाह गरेका छन् ।

विश्वका विभिन्न ठाउँमा बलियो अवस्थामा रहेका कम्युनिस्ट पार्टी कमजोर हुँदा, शान्तिपूर्ण राजनीतिमा भाग लिएका कम्युनिस्टले आकर्षण पैदा गर्न नसक्दा नेपालमा कम्युनिस्ट आन्दोलन किन बलियो र लोकप्रिय शक्तिका रूपमा विकास भयो होला ? विचार मात्रै अघि सारेको भरमा वा कुनै प्रभावशाली नेता मात्रै भएका आधारमा पार्टी र आन्दोलन बलियो हुने भए नेपालमा भन्दा अरू मुलुकमै कम्युनिस्टहरू बलिया हुने थिए । नेपालमा कम्युनिस्टहरूले आफूलाई लोकप्रिय शक्तिका रूपमा विकास गर्न सक्नुको मुख्य कारण स्थापनाकालदेखि नै तीन मुद्दामा ध्यान केन्द्रित गर्नु हो– लोकतन्त्र, राष्ट्रियता र जनजीविका ।

नेपालमा कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन एकअर्काका परिपूरक सावित भएका छन् । कम्युनिस्टहरूले प्रतिस्पर्धामा विश्वास गर्दैनन्, निर्वाचन (ब्यालेट) मा होइन, बल (बुलेट) मा विश्वास गर्छन् भन्ने भावना व्याप्त भएको र त्यहीअनुसार अभ्यास पनि भइरहेका बेला नेपालमा कम्युनिस्टले निर्वाचनमा सहभागिता जनाएर यात्रा आरम्भ गरेका थिए । पहिलो पटक (२०१० साल, काठमाडौं नगर) आयोजित निर्वाचनमा नै कम्युनिस्टहरूले भाग लिएर विजय हासिल गरेका थिए भने २०१५ सालमा पहिलो पटक आयोजित संसदीय निर्वाचनमा चार स्थान प्राप्त गरे । पञ्चायतकालमा कांग्रेसले देश छाडेर प्रवास रोज्दा पनि अधिकांश कम्युनिस्ट देशभित्रै थिए । यतिसम्म कि पञ्चायतको जनपक्षीय उपयोगको नीति लिएर नेकपा (माले) ले २०४३ को राष्ट्रिय पञ्चायतको निर्वाचनमा पाँचजना जनप्रतिनिधिलाई पञ्चायतको भण्डाफोर गर्न संसद्मा पठाउने सफलता प्राप्त गरेको थियो ।

२०४४ को स्थानीय पञ्चायत निर्वाचनमा करिब २० हजार उम्मेदवार उठाएर १० हजारभन्दा बढीलाई विजयी बनाएको थियो । २०४६ मा सम्पन्न चौथो महाधिवेशनबाट कांग्रेससँग सहकार्य गरेर पञ्चायतविरोधी आन्दोलन अघि बढाउने नीति लिनुका साथै मदन भण्डारी नेतृत्वमा अघि सारिएको जनताको बहुदलीय जनवादले कम्युनिस्टहरूलाई जनताका बीचमा जान, मन जित्न र आफूलाई परीक्षण गर्न निर्देशित गरेको थियो । कम्युनिस्ट सत्ताहरू ढलिरहेका बेला हिम्मतका साथ अघि सारिएको यस कार्यनीतिले नेपालमा कम्युनिस्टहरूलाई स्वीकार्य शक्तिका रूपमा स्थापित गर्न निर्णायक भूमिका खेलेको छ ।

कार्ल मार्क्सले टाउकाले टेकेर हिँडिरहेको हेगेलको द्वन्द्ववाद र फायबाखको भौतिकवादलाई संश्लेषण गरेर आफूले खुट्टाले हिँड्ने बनाएको भनेझैं अलमलमा रहेका कम्युनिस्टलाई भण्डारीले जनताको बहुदलीय जनवादको नयाँ सूत्रीकरणमार्फत देखाएको बाटोले नै यहाँसम्म ल्याइपुर्‍याएको छ । यद्यपि, युरोपदेखि एसियासम्म त्यसअघि पनि कम्युनिस्ट पार्टी निर्वाचनमा सहभागी हुने अवधारणा नआएको होइन । तर, कार्यनीति (ट्याक्टिस) ले मात्र चुनाव उपभोग गर्न खोज्दा देखापरेका चुनौतीलाई बुझेर प्रतिबद्धताकै तहमा विकास गरिएका कारण विश्व कम्युनिस्ट आन्दोलनमै नेपालले नयाँ आयाम थपेको छ । विश्वमा अर्को कुनै देशमा निर्वाचनबाट कम्युनिस्ट पार्टी सत्तामा पुगेको इतिहास छैन ।

कम्युनिस्टहरूले भन्ने गरेको ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ बिनै माओवादीले चलाएको सशस्त्र संघर्षको विसर्जन शान्तिपूर्ण राजनीतिमै भएको छ । कम्युनिस्टबीचमै ‘उग्रवामपन्थी भड्काव’ का रूपमा आलोचित माओवादी ‘जनयुद्ध’ विजयमा पुग्ने कुनै सम्भावना नै थिएन । पूर्ण पराजय हुनबाट जोगिनुमा शान्तिपूर्ण राजनीतिमार्फत कम्युनिस्टहरूले पाइरहेको सफलताले पनि काम गरेको छ । भूराजनीतिक संवेदनशीलता, मुलुकको राष्ट्रिय बल, कम्युनिस्ट विचाराधाराको विश्वव्यापी रक्षात्मक अवस्थाजस्ता विषयलाई नजरअन्दाज गरेर घोषणा गरिएको ‘जनयुद्ध’को शान्तिपूर्ण अवतरणले अब नेपालका कुनै पनि कम्युनिस्टका अगाडि जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादबाहेक अर्को मूल बाटो छैन भन्ने पुष्टि गर्छ । पूर्ण रूपमा बन्दुकमा मात्रै विश्वास गर्ने माओको आदर्श र नामबाट सुरु भएको माओवादी आन्दोलन ‘प्रचण्डपथ’, ‘एक्काइसौं शताब्दीमा जनवादको विकास’, ‘जनताको जनवाद’ हुँदै जुन बिसौनीमा थकाइ मार्न आइपुगेको छ, यसबाट पनि नेपालमा शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाहेक कम्युनिस्टका लागि अर्को कुनै भविष्य छैन भन्ने कुरा स्थापित गरेको छ ।

कुनै पनि आन्दोलनका लागि ७५ वर्ष छोटो समय होइन । ७५ वर्षअघि बल्लतल्ल स्वतन्त्रता प्राप्त गरेका देश आज विश्वमा नमुना बनेका छन् । हामीकहाँ भने यसबीचको सबै समय राजनीतिक संघर्षमै बितेको छ । राणा शासनको गर्भबाट जन्मेका दलहरू परिपक्व नहुँदै २०१७ सालमा राजा महेन्द्रको कोपभाजनमा पर्नुपर्‍यो भने २०४६ सालको परिवर्तनपछि पनि मुलुकले स्थायित्व पाउन सकेन । अस्थिरता, अराजकता र अयोग्यताको जगमा टेकेर राजा ज्ञानेन्द्रले २०५९ असोज १८ र २०६१ माघ १९ मा गरी दुई किस्तामा प्रजातन्त्रको घाँटी निमोठे । त्यसको सजाय २०६५ जेठ १५ मा २ सय ४० वर्ष पुरानो राजतन्त्र उन्मूलनबाट दिए पनि त्यसयताको १५ वर्षलाई आलोचनात्मक रूपमा हेर्ने जनमत बढिसकेको छ । नेपालको राजनीतिक परिवर्तन र नयाँ व्यवस्थाको निर्माणकर्ता भएका कारण कम्युनिस्टहरूले पनि प्रश्नबाट भाग्न पाइने अवस्था छैन । राष्ट्रपति, उपराष्ट्रपति, ६ जना प्रधानमन्त्री, सयौं मन्त्री, मुख्यमन्त्री, सांसददेखि वडाध्यक्षसम्म उत्पादन गरेका कम्युनिस्टलाई मुलुकको विकास नभएको दोष अरूको टाउकामा हालेर उम्किने छुट छैन । आफैं विभाजित र आरोप–प्रत्यारोपमा सक्रिय कम्युनिस्टहरूले बलियो व्यवस्था र सुदृढ राष्ट्र कसरी बनाउँछन् भन्ने प्रश्नको जवाफ नदिए नयाँ पुस्ता सन्तुष्ट हुन सक्दैन ।

२०७४ को निर्वाचनमा दुई कम्युनिस्ट पार्टीबीच गठबन्धन गरेर प्राप्त करिब दुई तिहाइ मतको जगमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले जगाएका आशा मात्रै पूरा गर्न सक्दा जनजीविका अर्थात् समृद्धिको नेतृत्व गर्ने नयाँ चरणमा पुग्न सकिन्छ । यसै पनि कम्युनिस्टमाथि सपना मात्र देखाउने गरेको आरोप लागिरहेको बेला हालसम्मकै पूर्ण बहुमतको एक मात्र कम्युनिस्ट सरकारले अघि सारेका केही आधारभूत तहकेन्द्रित अवधारणा र केही ‘गेम चेन्जर’ परियोजनाले समृद्धिको आशा नजगाएको होइन । तर, विकसित परिस्थिति र नेताहरूको मनस्थितिबीचको अन्तरविरोधले सरकार र पार्टी दुवै जोगिन सकेनन् । बलियो अवसर गुमाएर, कमजोर गणितसहित तीन वर्षपछि पुरानै अवस्थामा फर्किन खोजे पनि त्यसको मूल्य भ्यागुताको धार्नी पुर्‍याउन लखतरान परेर चुकाइरहनुपरेको छ ।

नेपालमा कम्युनिस्ट पार्टीको बीउ रोप्नमा पुष्पलाल श्रेष्ठको जति योगदान छ, त्यसलाई हुर्काउन र बढाउनमा मदन भण्डारीको योगदान छ । किनभने, स्वयम् पुष्पलालले पनि कम्युनिस्ट पार्टीलाई एक राख्न सक्नुभएन, देशभित्र आन्दोलन सिर्जना गर्न सक्नुभएन । पहिलो पुस्ताका नेताहरू पुष्पलाल, मनमोहन अधिकारी, मोहनविक्रम सिंह, शम्भुराम श्रेष्ठ, निर्मल लामा, नारायणमान बिजुक्छे आदिको व्यक्तित्वको टकरावको सिकार बनेको कम्युनिस्ट आन्दोलनमा झापा आन्दोलनले सिर्जना गरेको तरंगको पृष्ठभूमिमा भण्डारीले विचारको नयाँ डोरीले एकताबद्ध बनाएकामा शंका छैन । यदि २०४८ सालमा मोहनविक्रम सिंहले जस्तै निर्वाचन बहिष्कार गर्ने वा पुष्पकमल दाहालले जस्तै पार्टीलाई भूमिगत राखेर मोर्चामार्फत चुनाव लड्ने कार्यनीति अघि सारेको भए नेपालमा अहिलेसम्म कम्युनिस्ट पार्टी मसालकै तहबाट माथि उठ्न सम्भव थिएन । प्रतिस्पर्धामा खरो उत्रिने नीति अंगीकार गरेबापत लागेको ‘संशोधनवादी’, ‘अवसरवादी’ देखि ‘दक्षिणपन्थी’ सम्मका आरोपलाई चिरेर कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउन सकेकै कारण विश्व प्रसिद्ध अमेरिकी पत्रिका ‘न्युजविक’ले भण्डारीलाई कार्ल मार्क्सको रूपमा प्रस्तुत गर्दै ‘इन नेपाल, कार्ल मार्क्स लिभ्स’ शीर्षकमा अन्तर्वार्ता छापेको थियो । नेपालको कम्युनिस्ट आन्दोलनलाई विश्वव्यापीकरण गर्नमा भण्डारीको योगदान इतिहासमा अंकित छ ।

कम्युनिज्म गरिबीको दर्शन होइन । बिरालो सेतो होस् वा कालो, त्यसले मुसा मार्नुपर्छ भन्दै आलोचना खेपेरै देङ स्याओपिङले चीनलाई आजको अवस्थासम्म आइपुग्ने गरी दिशानिर्देश गरेका थिए । आज नेपालमा कम्युनिस्टहरू प्रश्न सोध्ने ठाउँमा मात्र छैनन्, उत्तर दिने ठाउँमा छन् । हिजोको आदर्श, भूमिगत जीवनका दुःखद् दिन, जेल ब्रेकका साहसिक कथा, आन्दोलनमा गरेको योगदान, शहादत जस्ता विषय अवश्य हाम्रो लोकतान्त्रिक परिवर्तनका जग हुन् । तर, आजको पुस्ताले त्यति सुनेर चित्त बुझाउँदैन । २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछि जन्मेको बच्चा आज बालिग नागरिक भइसकेको छ । आँखामा सुदूर भविष्यको सुन्दर सपना, मनमा असन्तोषको उर्लिंदो ज्वाला र हातमा बेरोजगारीको अप्रिय प्रमाणपत्र बोकेको युवाले आज कम्युनिस्ट पार्टीलाई किन रोज्ने ? मेरा हजुरआमा–बुबा यसैमा लागेका थिए भन्नु एउटा कुरा होला तर मुख्य प्रश्न छ– आज उठेका प्रश्नलाई सम्बोधन गर्न कम्युनिस्टहरू कत्तिको सक्षम हुन्छन् र ती युवालाई आकर्षित गर्न सक्छन् ? अझ पार्टीभित्र व्याप्त ‘फाइल बढुवा’ प्रवृत्तिले युवा पुस्तालाई आकर्षितभन्दा विकर्षित गरिरहेको छ । ९० वर्षको उमेरमा मसालको महामन्त्री बनेका मोहनविक्रम सिंहले पदग्रहण गरेको ‘सोह्रौं पटक’ लेखिँदा चित्त दुखाएर ‘विभिन्न परिस्थितिमा नौ पटक मात्र महामन्त्री भएको’ भन्दै खण्डन निकाल्ने पार्टीका रूपमा कम्युनिस्ट पार्टीको साइन बोर्ड झुन्ड्याइरहँदा कम्युनिस्टहरूप्रति आकर्षण बढ्छ कि वितृष्णा ?

संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालमा कम्युनिस्ट पार्टीले सुरुदेखि नै आफूलाई राष्ट्रियताको पहरेदारका रूपमा खडा गरेको छ । २००७ सालमा राणा, कांग्रेस र भारतबीच दिल्लीमा सम्पन्न सम्झौताको विरोधदेखि २०७७ मा राष्ट्रिय सहमति कायम गरी नेपाली भू–भाग समेटेर नेपालको नक्सा जारी गर्ने बेलासम्म कम्युनिस्ट पार्टीले अवलम्बन गरेको राष्ट्रिय स्वाभिमानको नीतिले जनतालाई आकर्षित गरेको छ । आफ्नो राष्ट्रलाई माया गर्नु, अरूबाट थिचोमिचो नहोस् भनेर खबरदारी गर्नु र राष्ट्रियतामाथि आँच आउने कुनै पनि कदमका विरुद्धमा अग्रपंक्तिमा उभ्याउनु नेपालका कम्युनिस्टको विशेषता नै बनेको छ । दुई ठूला शक्तिका बीचमा रहेकाले यहाँका जनतामा राष्ट्रवादी मनोविज्ञान निर्माण गर्नु र त्यसका आधारमा आफ्नो राष्ट्रलाई प्राथमिकतामा राख्नु कुनै राजनीतिक विषय मात्र होइन, देशभक्ति हो । यसबाट कुनै–कुनै कम्युनिस्ट पार्टीहरू बेला–बेलामा चुके पनि नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवृत्ति सुरुदेखि नै स्पष्ट छ । पार्टी स्थापनालगत्तै निकालिएको नेकपाको पहिलो पर्चादेखि नै कम्युनिस्टहरूले यसमा निरन्तर अडान राख्दै आएका छन् ।

२५ वर्षपछि नेपालको कम्युनिस्ट आन्दोलनले एक शताब्दी पार गर्नेछ । अग्रगमन, आर्थिक–सामाजिक परिवर्तन र जनजीविका सुनिश्चितताका लागि सय वर्षदेखि गर्दै आएको बहसलाई सूचकहरूमा ढालेर हेर्दा परिणाम कस्तो देखिएला ? कम्युनिस्ट आन्दोलनलाई दीर्घजीवी बनाउन आज कम्युनिस्ट पार्टीका नेताको नेतृत्वमा कम्युनिस्ट पार्टीहरू सत्तामा रहेकै बेला योजना बनाउने र कार्यान्वयन गर्ने होइन भने जनताले कम्युनिस्ट र अरू पार्टीबीचको भिन्नता महसुस गर्ने छैनन् । हीरक महोत्सव मनाइरहेको यस घडीमा २५ वर्षपछि शताब्दी महोत्सव मनाउने बेलासम्म पुग्दा उठ्न सक्ने प्रश्नहरूको आकलन र समाधान खोज्दा मात्रै कम्युनिस्टहरूले आफ्नो औचित्य सावित गर्न सक्नेछन् ।

– रिजाल एमालेका केन्द्रीय सदस्य हुन् ।

प्रकाशित : वैशाख १३, २०८१ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?