२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

नेपालका लक्ष्य पूरा गर्न सघाउने जापानको प्रतिबद्धता

काठमाडौँ — नेपाल–जापान द्विपक्षीय सम्बन्ध विस्तार र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्नेमा जोड दिँदै एकदिने भ्रमणका लागि आइतबार आएकी जापानी विदेशमन्त्री योको कामीकावा स्वदेश फर्केकी छन् । उनले आर्थिक विकासमा नेपालले राखेको लक्ष्य पूरा गर्न जापान सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । 

नेपालका लक्ष्य पूरा गर्न सघाउने जापानको प्रतिबद्धता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटपछि उनले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय छलफलसमेत गरेकी थिइन् ।

‘दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ गर्ने विषयमा कुरा भयो,’ उपप्रधानमन्त्री श्रेष्ठले कान्तिपुरसँग भने, ‘बहुपक्षीय फोरमहरूमा दुई मुलुकले एकअर्कालाई सहयोग गर्ने विषयमा पनि कुराकानी भयो ।’ राष्ट्रसंघको पुनःसंरचनाको विषयका साथै राष्ट्रसंघमा उम्मेदवारी दिँदा एकले अर्कोलाई सहयोग गर्नेबारे पनि छलफल भएको उनले बताए । परराष्ट्र प्रवक्ता अमृतकुमार राईले भेटवार्तामा नेपाल र जापान सम्बन्धको विविध पक्षलगायत विषयमा छलफल भएको जानकारी दिए । उनले अन्य कुनै पनि सम्झौता र समझदारी नभएको प्रस्ट पारे ।

विदेशमन्त्री योकोले प्रधानमन्त्री दाहालसँग भने सिंहदरबारस्थित कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी थिइन् । त्यसक्रममा द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायतका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले जानकारी दिए ।

‘भेटमा प्रधानमन्त्रीले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पुर्‍याउँदै आएको र पछिल्लो समय नेपालको ठूला पूर्वाधार निर्माणमा पनि महत्त्वपूर्ण सहयोग गरेको स्मरण गर्नुभयो, उहाँले जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गर्नुभयो,’ सापकोटाले भने, ‘नेपाल र जापानबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ सबल हुनेमा जोड दिँदै प्रधानमन्त्रीले आगामी दिनमा नेपाल र जापान दुवैतर्फबाट उच्चस्तरीय भ्रमण हुने विश्वास पनि व्यक्त गर्नुभयो ।’

त्यस अवसरमा जापानी विदेशमन्त्री योकोले नेपाल–जापानबीच सम्बन्ध सदैव सौहार्दपूर्ण रहँदै आएको बताइन् । उनले दुई देशबीच रहिआएको समस्यारहित मित्रवत् सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाएर लैजानुपर्नेमा जोड दिएको सापकोटाले जानकारी दिए । उनले भने, ‘उहाँ (जापानी विदेशमन्त्री) ले आर्थिक विकासमा नेपालले राखेका लक्ष्य पूरा गर्नका लागि जापान सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’

उपप्रधानमन्त्री श्रेष्ठ र प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेपछि जापानी विदेशमन्त्री योको राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेटवार्ताका लागि गएकी थिइन् । उनले राष्ट्रपति पौडेलसँग नेपालको विकास र स्थिरता यो क्षेत्रकै लागि आवश्यक महसुस गरेर जापानले नेपालको विकासमा हरतरहको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गरे । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले कार्बन उत्सजन गर्ने विकसित मुलुकले जलवायु परिवर्तनको असर न्यूनीकरणका सन्दर्भमा अत्यन्त गम्भीर भइदिन आग्रह गरेका थिए ।

राष्ट्रपति पौडेलले एसियाका ज्योति गौतम बुद्धको सन्देश प्रवाहित भएदेखि नै नेपाल र जापानबीच सांस्कृतिक सम्बन्ध रहिआएको बताए । उनले दुई देशबीच समस्यारहित सम्बन्ध रहेको र नेपालले सधैं जापानको उच्च सद्भाव महसुस गरेको उल्लेख गरे । नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको पनि राष्ट्रपतिले उल्लेख गरे ।

नेपाल र जापानबीच आर्थिक सहयोग र सहकार्यका क्षेत्रहरू थप विस्तार हुने विश्वास पौडेलले राखेका थिए । ‘जनस्तरको सम्बन्ध फराकिलो बनाउन प्राथमिकता दिनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले जापानसँगको धार्मिक–सांस्कृतिक समानता एवं नेपालको प्राकृतिक सुन्दरताका कारण नेपालमा थप जापानी पर्यटक आउने विश्वास पनि व्यक्त गर्नुभएको थियो,’ भेटपछि राष्ट्रपतिको सचिवालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

भेटमा जापानी विदेशमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि चिन्तित रहेको उल्लेख गरिन् । उनले नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताइन् । उनले सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने लक्ष्य राखेको बताइन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वैकल्पिक ऊर्जाको प्रयोगका निम्ति प्रविधिमा ठूलो क्रान्ति गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरिन् ।

विदेशमन्त्री योकोले नेपाल आएलगत्तै वसन्तपुर दरबार क्षेत्रको भ्रमण गरेकी थिइन् । नेपाल आउनुअघि विदेशमन्त्री योकोले श्रीलंकाको दुईदिने भ्रमण गरेकी थिइन । उनी अफ्रिकी मुलुक मादागास्कर, आइभोरी कोस्ट र नाइजेरिया हुँदै युरोपेली देश फ्रान्स पुगेर एसियाको श्रीलंका हुँदै नेपाल आएकी हुन् ।

जापानबाट पछिल्लो पटक विदेश राज्यमन्त्री ताकेई सुन्सुके २०७९ मंसिरमा संघीय संसद् र प्रदेशसभाको निर्वाचन अवलोकन गर्न नेपाल आएका थिए । नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तर दुई मुलुकबीचको सम्बन्ध त्यसको झन्डै ५४ वर्षअघिदेखि नै सुरुआत भएको हो । सन् १९०२ मा काठमाडौंबाट टोकियोतर्फ ८ जना विद्यार्थी पढ्नका लागि पहिलो पटक गएका थिए । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा उनीहरू टोकियो पुगेका हुन् ।

प्रकाशित : वैशाख २४, २०८१ ०५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?