कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७५

नेपाल-बंगलादेश सहकार्यमा सन्तुष्टि, सार्क र बिमस्टेकलाई पुनरुत्थानमा जोड

काठमाडौँ — तेस्रो नेपाल-बंगलादेश परराष्ट्र सचिवस्तरीय संयुक्त परामर्श बैठकमा दुई पक्षीय सहकार्यमा सन्तुष्टि रहेको तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) लाई पुनरुथानमा जोड दिने सहमति भएको छ ।

नेपाल-बंगलादेश सहकार्यमा सन्तुष्टि, सार्क र बिमस्टेकलाई पुनरुत्थानमा जोड

संयुक्त परामर्श बैठकमा दुवै परराष्ट्र सचिवहरु नेपालकी सेवा लम्साल र बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनले आ–आफ्नो पक्षबाट बैठकको नेतृत्व गरेका थिए ।

बैठकपछि परराष्ट्र मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षको समीक्षा गरियो । दुवै परराष्ट्र सचिवले नेपाल र बंगलादेशबीच रहेको उत्कृष्ट द्विपक्षीय सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरे ।’

दुई सचिव बीचमा आपसी हितका सबै प्रमुख विषयमा छलफल भएको र विशेषगरी व्यापार तथा वाणिज्य, पारवहन तथा कनेक्टिभिटी, ऊर्जा र विद्युत क्षेत्र, पर्यटन, संस्कृति र शिक्षालगायत सबै क्षेत्रलाई सामेल गरेर सहयोग प्रबर्द्धन गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

लम्साल र मोमेनले व्यापार र कनेक्टिभिटी विस्तार गरेर मात्र नभई जनस्तरमा सम्पर्क प्रवर्द्धन गर्ने थप अवसर सिर्जना गरेर व्यक्तिगत देशको अर्थतन्त्रमा योगदान पुर्‍याउन बीबीआईएन मोटर भिहिकल सम्झौता फ्रेमवर्कको परिचालनमा जोड पनि दिए ।

परराष्ट्र सचिव लम्सालले आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा उपयुक्त सम्भावनाको खोजीमा जोड दिइन् । उनले निजी क्षेत्रलगायत सार्थक सहकार्यात्मक साझेदारी स्थापना गर्न बंगलादेशलाई प्रस्ताव गरिन् । उनले नेपालले बंगलादेशसँग थप व्यापार र लगानी सहकार्यलाई अगाडि बढाउन चाहेको बताइन् ।

उनले नेपालमा जलविद्युत् क्षेत्रमा लगानीका अवसर खोज्न बंगलादेशी पक्षलाई आग्रह गरिन् । उनले बंगलादेशमा निकासी हुने नेपाली उत्पादनमा लगाइने विद्यमान अन्य भन्सार र अन्य शुल्क शुल्क हटाउन पनि बंगलादेश सरकारलाई आग्रह गरिन् ।

बंगलादेशका विदेश सचिव मोमेनले बंगलादेश–भारत–नेपालबीचको त्रिपक्षीय ऊर्जा सम्झौता छिट्टै टुंगोमा पुग्ने कुरामा जोड दिए । उनले उक्त सम्झौता टुंगिएसँगै बंगलादेशलाई नेपालबाट विद्युत् आयात गर्न मद्दत गर्ने प्रष्ट पारे । नेपाल र बंगलादेश बीचमा विद्युत आयान र निर्यात गर्ने सहमति भए पनि भारतसँग त्रिपक्षीय सम्झौता हुन भने अझै बाँकी छ ।

उनले लुम्बिनीमा गुम्बा निर्माणका लागि जग्गा उपलब्ध गराएकोमा नेपाल सरकारलाई धन्यवाद दिए । दुवै विदेशहरु सचिवले आपसी हितका क्षेत्रीय विषयमा छलफल गरेका थिए ।

सन् २०१४ मा नेपालमा भएको १८ औं सार्क शिखर सम्मेलन भएको थियो । त्यसपछि पाकिस्तानमा हुनु पर्ने १९ औं शिखर सम्मेलन अघि बढ्न सकेको छैन । दुवै परराष्ट्र सचिवहरुले सार्कको पुनरुत्थानमा जोड दिएका हुन् । साथै, उनीहरुले बिमस्टेकलाई सक्रिय बनाउन पनि जोड दिएका हुन् ।

साथै, बुधबारै नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र बंगलादेशको फरेन सर्भिस एकेडेमीबीच भएको समझदारीपत्रमा पनि दुई देशका विदेश सचिवले हस्ताक्षर गरेका छन् ।

नेपाल भ्रमणमा रहेका सचिव मोमेनले बुधबारै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरे । उक्त अवशरमा दुई पक्षीय व्यापार र वाणिज्यमा सहकार्य, कनेक्टिभिटी, उर्जा र विद्यूत, पर्यटन, संस्कृति र शिक्षाको विषयमा छलफल भएको बंगलादेशको विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित : वैशाख ५, २०८१ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?