कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

पश्चिम एसियाको तनावले नेपालको वैदेशिक व्यापारमा असर 

इरान–इजरायलबीच देखिएको पछिल्लो तनावले नेपालको आयात महँगिन सक्ने
राजु चौधरी

काठमाडौँ — रुस–युक्रेनबीच जारी युद्धले विश्वभरकै व्यापारमा प्रभाव पारिरहेका बेला इरान–इजरायल युद्धले थप मलजल थपिदिएको छ । गत अक्टोबर ७ मा हमास विद्रोहीले इजरायलमा आक्रमण गरेपछि हमासलाई समाप्त गर्ने भन्दै साढे ६ महिनादेखि इजरायलले गाँजा क्षेत्रमा निरन्तर हमला गर्दै आएको छ ।

पश्चिम एसियाको तनावले नेपालको वैदेशिक व्यापारमा असर 

हमलाको विरोधमा यमनको लडाकु समूह हुथीले लाल सागर हुँदै ओहोरदोहोर गर्ने कार्गो जहाजहरूमाथि आक्रमण गर्दै आएको छ । यसले दक्षिण एसिया क्षेत्रको मात्र नभएर विश्व बजारकै व्यापार शृंखलामा प्रभाव पारिरहेको थियो । यसैबीच गत शनिबार इरानले पनि इजरायलमाथि ड्रोन र मिसाइलबाट आक्रमण गरेपछि विश्व बजारमा थप अस्थिरता छाएको छ । वैदेशिक व्यापारका जानकारहरूका अनुसार पश्चिम एसियामा देखिएको पछिल्लो तनावको असर ढिलोचाँडो नेपाली बजारमा पनि पर्नेछ ।

त्यसको असर सर्वसाधारणको भान्सासम्मै पर्न सक्ने उनीहरूको अनुमान छ ।

‘युद्धकै कारण सामान आयात गर्दा समुद्रमा त्रास बढेको छ । हुथी लडाकुले कार्गो जहाजमा आक्रमण गरेका छन् । जहाजमा आक्रमण भएपछि सामान रि–रुट गरेर साउथ अफ्रिकाबाट आउँछ । यसले आयातको क्रममा लाग्ने समय एक/डेढ महिना लाग्छ, इन्धन खर्च बढाएको छ,’ नेपाल समुद्रपार निकासी/पैठारी संघका अध्यक्ष विनोदकुमार सेठियाले भने, ‘समग्रमा भन्दा समुद्री भाडा ३० देखि ४० प्रतिशत बढेको छ । इरानले पनि जहाज कब्जामा लिन्छ, त्यो अर्को समस्या हो ।’

युद्धकै कारण विदेशी विनिमयदरमा समेत असर परेको छ । अन्तर्राष्ट्रिय व्यापार सबै मुलुकसँग सम्बन्धित (इन्टरलिंक) भएकाले एक–दुई मुलुकमा युद्ध भए समग्र व्यापारमा असर पर्ने सेठियाको भनाइ छ । ‘युक्रेनकै कुरा गर्दा त्यहाँबाट आयात हुन नसके अन्य मुलुकबाट आउँछ तर मूल्य बढ्छ । नेपालमा आइपुग्दा सबै लागत जोडेर करिब ५/७ प्रतिशत मूल्य बढ्न सक्ने देखिन्छ,’ उनले भने, ‘तर, अन्तर्राष्ट्रिय बजारकै व्यापारमा मन्दी छाएको छ, अन्तर्राष्ट्रिय बजारमा ३० देखि ५० प्रतिशत व्यापार घटेको छ । यही कारणले माग र आपूर्तिले पनि स्थानीय बजारमा मूल्य निर्धारण गर्न सक्छ ।’

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँको आयात हुँदा इरानबाट १ करोड ८४ लाख ८१ हजार रुपैयाँको अल्कोहल, जुत्ता, मुटुको भल्ब, जिउँदा जनावरलगायत वस्तु आयात भएको छ । इजरायलबाट ७९ करोड ५५ लाख ९२ हजारको ल्यापटप, नोटबुक, कम्प्युटर सीपीयू, चकलेट, फलफूल, इनर्जी फलफूल जुस, फुड सप्लिमेन्टलगायत आयात भएको छ ।

रुसबाट २ अर्ब ६१ करोड १७ लाख २० हजारको धनियाँ, एयरक्राफ्टका सामान, जनावर, युरियालगायत आयात भएको छ । ८ महिनाको अवधिमा युक्रेनबाट १४ अर्ब ३६ करोड ८८ लाख ८४ हजार रुपैयाँको मुसुरो दाल, जिरा, सनफ्लावरको कच्चा पदार्थ, क्रुड सेवाबिन, जनावरको भ्याक्सिन, मेकअपको सामान, रबर, अर्नामेन्ट, रेफ्रिजेरेटरलगायत आयात भएको छ । युक्रेनबाट सबैभन्दा बढी खाने तेल (कच्चा पदार्थ) आयात भएको तथ्यांक छ ।

नेपाल वनस्पति घिउ तथा तेल उत्पादक संघका अनुसार सूर्यमुखीको कच्चा प्रदार्थ ९५ प्रतिशत युक्रेनबाट आयात हुन्छ । ५ प्रतिशत रसिया र अर्जेन्टिनाबाट आयात हुन्छ । भटमासको हकमा ब्राजिल, अमेरिका र अर्जेन्टिनाबाट आयात हुन्छ । ‘अन्तर्राष्ट्रियस्तरमा हुने युद्धले कच्चा तेलको मूल्य बढ्छ । त्यसको सिधा असर खाने तेलमा पनि पर्छ,’ नेपाल वनस्पति घिउ तथा तेल उत्पादक संघका उपाध्यक्ष अमित मोरले भने, ‘सोयाबिन र भटमासको कच्चा पदार्थ उत्पादनमा ब्राजिल, अमेरिका र अर्जेन्टिनाले बायो डिजेल एड गर्ने भनेका छन् । कच्चा तेलको मूल्य बढ्दा त्यही हिसाबले डिजेलको मूल्य बढ्छ । खाने तेलको मूल्य बढ्न पनि मद्दत पुग्छ ।’

नेपालमा भटमास खेती २६ हजार हेक्टरमा गरिन्छ । वार्षिक करिब ३४ हजार ४ सय ३४ टन उत्पादन हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । तेलहन (तोरी, आलस, सनफ्लावर) २ लाख ६१ हजार ४ सय ३२ हेक्टरमा खेती हुन्छ । यसबाट वार्षिक २ लाख ७४ हजार ५ सय ४ टन उत्पादन हुन्छ । तर स्वदेशी मागले धान्दैन । स्वदेशी माग धान्न आयात नै गर्नुपर्छ । व्यवसायीका अनुसार पाम तेलको हकमा भने मूल्य घट्न सक्छ । पाम तेलको सबैभन्दा ठूलो बजार इरान हो । इरानमा मलेसिया र इन्डोनेसियाले आपूर्ति गर्छन् । ‘युद्धकै कारण इरानमा अवरोध छ । मलेसिया र इन्डोनेसियाले स्टक सक्ने अन्य मुलुकमा पठाउन सक्छ, त्यस कारण पाम तेल सस्तो हुन सक्छ,’ उपाध्यक्ष मोरले भने, ‘युद्धकै कारणले खाने तेलको आपूर्तिमा त्यति प्रभाव पर्दैन, रोमानिया हुँदै आयात हुन्छ । तर, इन्धनका कारण मूल्य बढ्न सक्छ ।’


निर्यातको हकमा भने खासै असर पर्दैन । ती मुलुकमा नगण्य रूपमा निर्यात भएको विभागको तथ्यांकमा छ । ८ महिनामा १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँको निर्यात हुँदा इरानमा जम्मा ४० लाख ८८ हजार रुपैयाँको सल, मफलर निर्यात भएको छ । इजरायलमा २ करोड १७ लाख ४५ हजारको किताब, फेल्ट, कार्पेट, जर्सी, ज्याकेट, कटन ड्रेस निर्यात भएको छ । त्यस्तै, रुसमा १७ करोड २३ लाख ५४ हजारको गहना, सांगीतिक बाजा, रेखाचित्र, ग्रिन टी, ब्लाक टी, अगरबत्ती, कार्पेट र युक्रेनमा १ लाख ९३ हजारको भेडाको छाला निर्यात भएको छ । ‘युद्धले ‘रेड सी’ बाट ढुवानी हुने वस्तुमा समस्या हुन्छ । त्यसले लजेस्टिक खर्च बढाउँछ । त्यसको प्रत्यक्ष प्रभाव कच्चा पदार्थको मूल्य बढ्ने देखिन्छ,’ नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठले भने, ‘कच्चा पदार्थ आयात गर्दा पालो कुर्नुपर्ने हुन्छ । समयमै आयात गर्न नसके सामान होल्ड राख्नुपर्छ, त्यसको पनि चार्ज लाग्छ, मूल्य ३० प्रतिशतसम्म बढ्ने देखिन्छ ।’

अन्तर्राष्ट्रियस्तरमा विवादले पेट्रोलियम पदार्थ, सुनको भाउ लगायतमा पनि प्रत्यक्ष असर पारेको छ । युद्धले कच्चा तेलको मूल्यमा ठूलो दबाब सिर्जना गरेको छ । सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद दर आउँदा पेट्रोल २ रुपैयाँ ९६ पैसा र डिजेल ३ रुपैयाँ ४६ पैसा प्रतिलिटर बढेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमले पनि सोमबार राति १२ बजेदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ७८ रुपैयाँ र डिजेल र मट्टीतेल समान १ सय ६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ । त्यस्तै, व्यापार व्यवसायमा अन्योल देखिएपछि लगानीकर्ताले सुनमा लगानी गरेका छन् । सोही कारण अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको छ । नेपालमा पनि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै मंगलबार प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : वैशाख ५, २०८१ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?