कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

युवा नेपाली फिल्मकर्मीका वृत्तचित्र हेर्न मन पराउँछु

हरेक बिहान मलाई सूर्यले उज्यालो छर्दै स्वागत गर्छ, अनि दिउँसो न्यानो आगालो फैलाउँदै ज्योति दिन्छ । मैले काम गरेका अन्य कुनै पनि देशमा कहिल्यै यसरी अनवरत घाम लागेको देखेकी थिइनँ– यो दैनिक आशीर्वाद हो, जसले मलाई प्रसन्न र आभारी बनाउँछ । 

काठमाडौँ — नेपालमा रहेका शरणार्थीलाई संरक्षण गर्ने र उनीहरूका समस्या समाधान गर्न संयुक्त राष्ट्रसंघका शरणार्थीका लागि उच्चायुक्त (यूएनएचसीआर) ले नेपाल सरकारको समन्वयमा सन् १९९० को दशकदेखि काम गरिरहेको छ । नेपालमा शरणार्थीका समस्यालाई सम्बोधन गर्ने कार्यको नेतृत्व हाल यूएनएचसीआर प्रतिनिधि कारोलीन श्पानुठ वर्माले गरिरहेकी छन् ।

युवा नेपाली फिल्मकर्मीका वृत्तचित्र हेर्न मन पराउँछु

जर्मनीको ह्याम्बर्गमा जन्मेहुर्केकी वर्माले यसअघि अमेरिकाको न्युयोर्कस्थित मानवअधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) मा काम गरिसकेकी छन् । मानव अधिकारपछि भने उनले शरणार्थीको संरक्षणमा काम गर्न यूएचएनसीआरमार्फत काम गर्न थालेकी हुन् । उनले मोरक्को, मलेसिया, इन्डोनेसिया, उत्तरी म्यासेडोनिया, बुल्गेरिया र जेनेभामा रहेको यूएचएचसीआरको मुख्यालयमा अन्तर्राष्ट्रिय संरक्षण विभाग र एसिया ब्युरो र अफ्रिका ब्युरोमा विभिन्न अन्तर्राष्ट्रिय संरक्षण र कानुनी पदहरूमा काम गरिसकेका छन् । यूएनएचसीआरकी नेपाल–प्रतिनिधि वर्मासँग नेपाल, यहाँको परिवेश, भूगोल, भाषा, साहित्य, चाडपर्वलगायत विभिन्न विषयमा कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश:

तपाईं पहिलो पटक नेपाल कहिले आउनुभयो र नेपालबारे कस्तो अनुभव छ ?

सन् २०१९ सेप्टेम्बरमा नेपाल टेक्दा यहाँको असाधारण सुन्दरताले मलाई तुरुन्तै मोहित बनायो । नेपालको पहाड र पर्वतसँग मेरो माया बस्यो । मेरो यात्रा कोभिड–१९ को सुरुआतसँगै होला भन्ने मलाई अलिकति पनि ज्ञान थिएन । महामारीको चुनौती हुँदाहुँदै पनि म दृढ रहें र प्राय: नेपालको पूर्वी भागमा पर्ने पनि कोशी प्रदेश घुमें । मोरङ जिल्लाको पथरी शनिश्चरे र झापा जिल्लाको बेलडाँगी भुटानी शरणार्थी बस्ती पुगेर त्यहाँका स्थानीय र प्रदेश सरकारका अधिकारी र शरणार्थीलाई भेटेपछि मलाई निकै सन्तुष्ट भयो । चुनौतीहरूबीच मानवीय करुणा र दृढता स्पष्ट देखिन्थ्यो । कोभिड–१९ ले ल्याएको उथलपुथलको समयमा नेपालका प्राकृतिक सुन्दरताले मलाई सान्त्वना दिए । कोशीको न्यानो मौसम काठमाडौंको चिसो मौसमबाट आउनेका लागि स्वागतयोग्य परिवर्तन थियो । काठमाडौं उपत्यका वरिपरिका सुन्दर पहाडहरूले मलाई निकै उमंग दिने गरेका छन् र म शनिबार पारेर यी पहाड चढ्दै आएकी छु । मनमोहक दृश्य र नेपाली पदयात्री साथीहरूले हरेक यात्रालाई अविस्मरणीय बनाएका थिए । नेपालको सुन्दरता शब्दमा बयान गर्न सकिँदैन । त्यसका लागि म सदैव आभारी छु ।

नेपालमा काम गर्दा धेरै मानिस भेट्नुभएको छ । नेपालका मानिसहरू कस्तो पाउनुभयो ?

कोभिड–१९ महामारीको समयमा मेरो नेपाल यात्रा र त्यसपछिको लकडाउनले मानवीय भावनाको दृढता र अनुकूलतालाई प्रमाणित गरिदियो । विश्व भर्चुअल सञ्चारमा परिवर्तन हुँदै गर्दा मेरा नेपाली साझेदारहरूले निकै छिटो यस प्रकारको प्रविधि र भर्चुअल सञ्जाल अपनाउन सकेकोमा दंग थिएँ । छोटा र विनम्र शब्दका ह्वाट्सएप सन्देशहरूले सहकार्य र साझेदारीलाई बढाइराख्यो, यसले एकता र सहयोगको सोच देखाउँथ्यो । मोबाइल फोनमा हुने टिम मिटिङमा धेरै सरकारी पदाधिकारीहरूसँग कुराकानी हुन्थ्यो । यस यात्राका दौरान जो–जो नेपालीहरूसँग मेरो भेट भयो, ती सबैको दयालुपन र दृढ संकल्पबाट म निकै नतमस्तक छु । अथक कामप्रति उनीहरूको अटल प्रतिबद्धता, अक्सर राति अबेरसम्म र साताका

अन्तिम दिनमा पनि काम गर्ने उनीहरूमा जिम्मेवारी र करुणाको बलियो भावना रहेको देखाउँथ्यो । धेरै नेपाली साझेदार, सरकार र नागरिक समाजको सहयोग लिएर हामीले शरणार्थीका लागि अत्यावश्यक जनस्वास्थ्य सेवा, खोप र अन्य सेवा प्राप्त हुने अवस्था सुनिश्चित गर्‍यौं । यो भनेको सहकार्यको शक्ति, अनि चुनौतीहरू पार गर्ने मानव जातिको असीमित क्षमताको प्रमाण हो ।

नेपालको मौसम कस्तो पाउनुभयो ?

हरेक बिहान मलाई सूर्यले उज्यालो छर्दै स्वागत गर्छ अनि दिउँसो न्यानो अँगालो फैलाउँदै ज्योति दिन्छ । मैले काम गरेका अन्य कुनै पनि देशमा कहिल्यै यसरी अनवरत घाम लागेको देखेकी थिइनँ– यो दैनिक आशीर्वाद हो, जसले मलाई प्रसन्न र आभारी बनाउँछ । मेरो गृहनगर ह्याम्बर्गमा भन्ने गरिन्छ– ‘मौसम खराब हुँदैन, अनुपयुक्त लुगा चयन मात्रै खराब हो ।’ यो मानसिकता अँगालेकी मैले हरेक ऋतु, मौसमको प्रशंसा गर्न सिकेको छु, नेपालको जाडो र मनसुन महिना त मलाई झनै मनपर्छ । एकदमै चिसो र सबभन्दा धेरै पानी पर्ने

दिनहरूलाई पनि उचित लुगा लगाएर प्रकृतिको मनमोहकताको आनन्द लिने सुन्दर अवसरमा बदल्न सकिन्छ । चिरस्थायी घाम देखिने यस क्षेत्रमा हरेक दिनले मलाई जीवनको सारभूत खुसी याद दिलाउँछ ।

नेपालको खाना कस्तो लाग्यो ? कुन परिकार सबैभन्दा मन पर्‍यो ?

मेरो जवाफ आश्चर्यजनक नहोला तर मैले स्विकार्नैपर्ने कुरा मलाई दालभात निकै मनपर्छ । यसको सरलपन र यसले दिने पोषणबारे केही असाधारण कुरा छ । त्यसैले यो मेरो हरेक दिन संकोच नमानीकन खाने खाना बनेको छ । शाकाहारी भोजन लोकप्रिय रहेको नेपालमा दालभातमा रमाउनु एउटा उत्कृष्ट उदाहरण हो । नेपालमा पाइने स्थानीय सागसब्जी र फलफूलले हरेक खानालाई स्वाद र ताजापन प्रदान गर्दछ । स्वादिलो एभोकाडो, करेला र पालुंगोदेखि रसिलो सुन्तला र मीठो मालभोग केरासम्म, नेपालको असाधारण गुणस्तरीय उपजले म दंग भएकी छु । हरेक गाँसले नेपाली भोजनको स्वादलाई नेपाली आतिथ्यसँग जोड्छ, जसले हरेक भोजनमा संस्कृति र भोजनकला स्वाद पस्कन्छ ।

नेपालको रीतिरिवाजबारे के बुझ्नुभयो ?

मलाई एकदमै मनपर्ने नेपाली अभिवादन नमस्ते हो । यो मधुर भावले, मैले दिँदा र लिँदा, सधैं मेरो हृदयमा न्यानो आभास गराउँछ । कोभिड–१९ का कारण लागेका प्रतिबन्धका बाबजुद पनि नमस्तेको भावनामा कुनै परिवर्तन थिएन, जसले यसको कालातित महत्त्वलाई दर्शाउँछ । नमस्ते सर्वव्यापी छ र नमस्तेबारे मलाई सबभन्दा मनपर्ने कुरा यही हो । नमस्ते हरेक संस्कृतिभन्दा माथि छ र जहाँ गए पनि यसले मलाई घरजस्तो अनुभूति दिलाउँछ । मुस्कानसँगैको नमस्ते सरल तर शक्तिशाली उदारता कार्य हो जसले जोकोहीको दिन उज्यालो बनाउँछ ।

नेपालको चाडपर्व मनाउनुभयो ? कुन पर्व मन पर्‍यो ?

पक्कै पनि । मलाई नेपालका चाडपर्व निकै मन पर्छ, विशेष गरी दसैं र तिहार । दसैं र तिहारमा सहरभरिका मानिसमा एकता अनि मित्रताको भावना हुन्छ । एक पलका लागि सामान्य दिनचर्या रोकिएको छ कि भन्ने बोध गराउँछ । सडक र गल्लीमा बत्ती, सजावट र परम्परागत संगीतको मधुर धुनको आनन्द लिन्छु । यी कार्यक्रमहरूले मलाई नेपाली संस्कृति र परम्पराको अनुभवसमेत दिलाउँछन् । र, यो सुन्दर राष्ट्रप्रति मेरो प्रशंसालाई झन् गहिरो बनाउँछन् ।

तपाईंलाई नेपाली भाषा बोल्न आउँछ ? नेपालमा कति भाषा छन्, थाहा छ ?

नेपालमा १२० भन्दा धेरै भाषा छन्, जसले नेपालको सांस्कृतिक, धार्मिक र भाषिक विविधतालाई देखाउँछ । मैले केही नेपाली पनि सिकेकी छु र अझै पनि सिकिरहेकी छु । जुन देशमा बसिन्छ, त्यो देशको भाषा सिक्नुको मजै बेग्लै हुन्छ । यसले नेपाल र यहाँका जनतालाई बुझ्न र प्रशंसा गर्न सहयोग गर्दछ । मैले सुरुदेखि नै भाषा सिकेको भए हुन्थ्यो भन्ने लाग्छ तर पनि अहिले नेपाली भाषालाई अँगाल्न पाउँदा धेरै खुसी लागिरहेको छ ।

नेपाली गीतसंगीत सुन्नुभएको छ ? मनपर्ने कुनै गीत छ त ?

‘रेसम फिरिरी’ बोलको गीत सुन्दा यसले मलाई आनन्द, उत्सव र सद्भावको संसारमा लैजान्छ । बेग्लै संसारमा लैजाने यसको धुनले मेरो मन शान्त राख्दछ, मलाई प्रोत्साहित गर्दछ । यसले मलाई नेपाली भावनाको शाश्वत सुन्दरता एवम् शक्ति र मैले काम गर्ने शरणार्थीहरूबारे याद दिलाउँछ । कुनै आश्चर्यको कुरा नै छैन, नेपाल शरणार्थीहरूप्रति निकै उदार छ । जसले रेसम फिरिरीमा चित्रण गरिएको सुन्दरतालाई आफ्नै गृहदेशमा छाडेर हिँड्नुपरेको छ । मैले प्राय: सुन्ने गरेको र मेरो मन छोएको अर्को गीत नेपाली रक ब्यान्ड अल्बाट्रसको ‘आफ्नै संसारमा किन’ भन्ने बोलको गीत हो ।

नेपाली साहित्यसँग परिचित हुनुहुन्छ ? कुनै कृति मन परेको छ ?

प्रसिद्ध साहित्यकार पारिजातका कृतिहरू मलाई एकदमै राम्रो लाग्छन् र तिनले मेरो मनमा छाप छोडेका छन् । पारिजातका लेखहरूमा नेपाली महिला र समाजका सीमान्तीकृतहरूका सहनशक्ति र बहादुरीबारे सशक्त अभिव्यक्ति छ । तिनले क्रूरता र अत्याचारका कारण घर र आफन्त छोडेर भाग्न बाध्य शरणार्थीहरूका मनका भावनालाई छुन्छ । पारिजातले बहादुरीसाथ आफ्ना विचारोत्तेजक लेखहरूमा गुमाइ, तृष्णा र प्रेमका जटिलतालाई पस्कन्छिन् । यसले निर्वासन र अनिश्चिततालाई व्यवस्थापन गर्दै अघि बढ्ने शरणार्थीहरूको जटिल यात्रालाई प्रतिविम्बित गर्दछ । यदि मैले समय यन्त्रमा बसेर कुराकानी गर्नका लागि एउटा मान्छे रोज्ने मौका पाएँ भने पारिजातलाई रोज्ने थिएँ ।

नेपाली फिल्म हेर्नुभएको छ ?

म त्यति फिल्म हेर्दिनँ । विशेष गरी नेपालको प्रकृतिको मनमोहक सुन्दरता र काठमाडौंको जीवन्त सडकहरूको आनन्द लिन पाउँदा फिल्ममा ध्यान नै जाँदैन । हेर्नका लागि यति अविश्वसनीय दृश्य छन्, थिएटरमा गएर सिटमा बसेर फिल्म हेर्दै आफूलाई सीमित राख्नु उचित देख्दिनँ म । तथापि, म युवा नेपाली फिल्मकर्मीहरूले बनाएका वृत्तचित्रहरू हेर्न मन पराउँछु । प्राकृतिक सुन्दरता एवम् संस्कृति र नेपालले सामना गरिरहेका वातावरणीय परिवर्तनहरूको चित्रण गर्ने वृत्तचित्र मलाई धेरै मन पर्छ ।

नेपालका कुन–कुन ठाउँ घुम्नुभएको छ ? कुन ठाउँ मन पर्‍यो ?

नेपाललाई घर भन्न पाउनु सौभाग्यको कुरा हो । नेपालमा मेरो कामले मलाई देशभरका शरणार्थीहरूसम्म पुर्‍याउँछ । म यहाँ बस्दाको समयमा म कोशी प्रदेश, पोखरा, मुस्ताङजस्ता ठाउँहरू बारम्बार पुगेकी छु । त्यहाँ मेरो भेट भुटानी र तिब्बती शरणार्थीहरूसँग हुने गर्छ । यसबाहेक मेरो टिम र मेरो विभिन्न पृष्ठभूमिबाट जबर्जस्ती विस्थापित भएका व्यक्तिहरूसँग नियमित भेट हुन्छ । यी भेटघाट पेसागत आवश्यकताले मात्र नभएर प्रत्यक्ष सम्बन्धहरू विकास गर्ने, शरणार्थीहरूको आवश्यकता, समस्या बुझ्ने र समाधानको प्रस्तावहरू निकाल्ने लगावका कारण हुने गरेका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालयमा रहेर काम गर्नुको सुन्दरता भनेको हामी ती मानिसहरूसँग प्रत्यक्ष जोडिन्छौं । जसका लागि हामी काम गर्दछौं । दोस्रो, कोभिड–१९ का कारण लकडाउन भएपछि नेपालले मलाई पहाड र प्रकृतिको अध्ययन गर्ने व्यक्तिगत मार्गमा हिँड्ने अनुमति दिएको छ ।

नेपाल कला र संस्कृतिमा धनी रहेको तपाईंलाई थाहा छ । नेपालको कला र संस्कृतिबारे तपाईं के भन्नुहुन्छ ?

नेपालको कला र संस्कृतिबारे मलाई सबभन्दा मनपर्ने कुरा भनेको हर पक्षमा प्रवेश गर्ने गतिशील मिश्रण हो । यो विविधता प्रभावहरू भएको एउटा सुन्दर मिश्रण हो– धर्म र संस्कृतिको मिश्रण, मन्दिरहरूमा स्थापत्य अर्थात् वास्तुशैलीको मिश्रण वा परम्परागत कलामा जीवन्त रङहरूको सौहार्दपूर्ण पारस्परिक अन्तरक्रियात्मक मिश्रण । यसबाहेक नेपालको कला र संस्कृतिले विगत र वर्तमानलाई, पुस्ताहरूलाई जोड्छ र आफ्नोपन एवम् गर्वको भावना अभिवृद्धि गर्दछ । हामी नेपालमा शरणार्थीहरूबीच पनि कला र शिल्प संरक्षणका लागि सोही प्रकारको अनुराग देख्दछौं । म ह्याम्बर्गमा हुर्कें । त्यहाँको वातावरणमा रेखाचित्र, चित्रकला र शिल्पकलालाई मेरो परिवार र शिक्षकहरूले निकै महत्त्व दिन्थे । यति धेरै नेपालीको सिर्जनशीलतालाई म निकै प्रशंसा गर्दछु । पुराना घरहरूको जीर्णोद्धारमा गरिएका प्रयासलाई म प्रशंसा गर्दछु र इमानदारीपूर्वक के भन्दछु भने नेपालीहरूको पुराना सीप र शिल्पकलालाई कायम र संरक्षित राखिनुपर्छ ।

शरणार्थीहरूको अधिकार रक्षा गर्न नेपालमा यूएनएचसीआरको भूमिका के छ ?

यूएनएचसीआरको कार्यदेश भनेको शरणार्थीहरूलाई राष्ट्रियताको पर्वाह नगरी कुनै पनि भेदभावबिना संरक्षण र समस्याहरूको समाधान गर्न प्रयत्न गर्नु हो । यसले शरणार्थीहरूको सुरक्षाका लागि प्रणालीहरू स्थापना गर्न, आदर्श रूपमा शरणार्थी नीतिहरू र कानुनहरू अपनाएर र उपयुक्त रूपमा मानवीय सहायता प्रदान गर्न सम्बन्धित मुलुकको सरकारलाई समर्थनमा लिएर काम गर्छ । त्यो पनि विशेष आपत्कालीन समयमा एचएनएचसीआरले काम गर्छ । शरणार्थीको एक अनिवार्य अधिकार ‘नन–रिफउलेमेन्ट’ को सिद्धान्तद्वारा सुरक्षित हुनु हो । यसको मतलब कुनै पनि शरणार्थीलाई उनीहरूको इच्छाविपरीत आफ्नो मूल देशमा फिर्ता गर्न सकिँदैन । नेपालका तिब्बती र भुटानी शरणार्थीहरू ३० देखि ६० वर्ष पहिले आएका थिए । नेपालमा भुटानी शरणार्थीहरूले सन् २००७–२०१६ को बीचमा १ लाख १३ हजार ५ सयभन्दा बढी संख्या समूह पुनर्वास कार्यक्रमबाट लाभान्वित भएका थिए । स्वैच्छिक स्वदेश फिर्ता गर्न असम्भव रहेको अवस्थामा सार्वजनिक सेवा र नेपाली समाजमा शरणार्थी यूएनएचसीआरले नेपाल सरकारलाई सहयोग गर्दै आइरहेको छ । अहिले नेपालमा २० हजारभन्दा कम शरणार्थी बाँकी छन् ।

यूएनएचसीआरले नेपाल सरकारसँग कसरी काम गरिरहेको छ ?

यूएनएचसीआर–नेपालले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालगायत सार्वजनिक सेवाहरूमा समावेश गरी शरणार्थी संरक्षण र समाधानका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारहरूसँग नजिकबाट काम गरिरहेको छ । यूएनएचसीआरले वर्षौंदेखि नेपालको स्वास्थ्य र शिक्षा पूर्वाधारमा सहयोग गर्दै आएको छ । सन् २०१७ मा यूएनएचसीआरले सुरुका सात भुटानी शरणार्थी शिविरहरूलाई झापा र मोरङ जिल्लामा दुई वटा बस्तीमा परिणत गर्‍यो । बसोबास र सडक सुदृढ गर्‍यो । सौर्य ऊर्जाबाट बिजुली प्रदान गर्‍यो । र, शरणार्थी समुदायमा रहेका संस्थाहरूमार्फत शरणार्थीको क्षमतालाई अभिवृद्धि गर्‍यो । यूएनएचसीआरले सम्बन्धित सरकारी अधिकारीहरूका लागि नियमित जागरुकता र क्षमता विकास कार्यक्रमहरू सञ्चालन गर्दछ । विगतका केही वर्षहरूमा यूएनएचसीआरले शरणार्थीहरू र उनीहरू जोडिएका नेपाली समुदायहरूको सीप विकास र जीविकोपार्जनका अवसरमा लगानी गरेको छ । हामीले साँच्चै आत्मनिर्भरता हासिल गर्नका लागि बजारमा सीप, शरणार्थी हस्तकला र अन्य उत्पादनबीचको सम्बन्ध बलियो बनाउनमा ध्यान केन्द्रित गरिरहेका छौं । हामीले पाएको उत्कृष्ट सरकारी सहयोगको अतिरिक्त, हामीले नागरिक समाज, निजी क्षेत्र, संयुक्त राष्ट्रसंघका भगिनी संस्थाहरू र शरणार्थीसँग साझेदारी गर्‍यौं । यो शरणार्थी मुद्दालाई सम्बोधन गर्न सहयोग गर्ने यूएनएचसीआरले नेपालमा विकास गरेको साझेदारीको फराकिलो दायरा हो । यूएचएचसीआर नेपालका सबै शरणार्थीले सरकारी कानुनी पहिचान, कागजात र जन्म दर्ता प्राप्त गर्नुपर्छ भन्नेमा सचेत छ । शरणार्थीहरूले सरकारी कागजात हातमा लिएर मात्र नेपाली समाजको हिस्सा महसुस गर्न र योगदान गर्न सक्छन् ।

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

प्रकाशित : वैशाख १५, २०८१ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?