२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

टेबल टेनिसमा ओलम्पिक छनोटको अवसर

काठमाडौँ — सम्भवतः नेपालले टेबल टेनिसबाट ओलम्पिकमा छनोट हुने तेस्रो खेलाडी पाउन सक्नेछ, यदि नेपाली खेलाडीको प्रदर्शन अपेक्षाअनुसार राम्रो रहने हो भने । वैशाख ३१ देखि जेठ २ सम्म नेपालमा दक्षिण एसियाली ओलम्पिक छनोट हुनेछ । नेपालमा ओलम्पिक छनोटको अन्तिम चरण हुन लागेको यो नै पहिलो पटक हो । 

टेबल टेनिसमा ओलम्पिक छनोटको अवसर

यसमा विजेता रहेका एक–एक पुरुष र महिला खेलाडीले फ्रान्समा हुने यसै वर्षको ओलम्पिकमा स्वतः प्रवेश पाउनेछ । ‘दक्षिण एसियालीस्तरमा हाम्रा खेलाडीको प्रदर्शनलाई आधार मान्ने हो भने नेपाली खेलाडी छनोट हुने सम्भावना अत्यधिक रहेको छ । दक्षिण एसियाली टेबल टेनिसमा भारतपछि नेपाल नै बलियो रहेको छ,’ टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले भने ।

प्रतियोगितामा नेपालसँगै बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीको सहभागिता रहनेछ । प्रत्येक देशबाट पुरुष र महिलातर्फ दुई–दुई खेलाडीले सहभागिता जनाउनेछन् । त्यस अर्थमा कुल २० खेलाडीको सहभागिता रहनेछ । नेपालका तर्फबाट पुरुषमा संयोग कपाली र सान्टु श्रेष्ठ तथा महिलामा नविता श्रेष्ठ र इभाना थापाले खेल्नेछन् । भारत यसअघि नै पेरिस ओलम्पिकका लागि छनोट भइसकेको छ । त्यसैले प्रतियोगितामा भारतले खेल्ने छैन र यो बाँकी देशका लागि अवसर बनेको छ ।

‘हाम्रा खेलाडीले आफ्नै भूमिमा खेल्न लागेका छन्, त्यसको पनि फाइदा हुनेछ,’ दक्षिण एसियाली टेबल टेनिस महासंघका महासचिव शंकर गौतमले भने । प्रतियोगिता सञ्चालनका लागि १० लाख रुपैयाँको बजेट रहेको छ । ‘आर्थिक सहयोगका लागि हामीले छलफल अगाडि बढाइरहेका छौं,’ अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले भने ।

नेपाली खेलाडीको प्रमुख प्रतिद्वन्द्वी श्रीलंका हुने मानिएको छ । यस्तै प्रतियोगिताका संयोजक तेजेन्द्र सिंहले नेपाली टेबल टेनिसका लागि यो नै ओलम्पिक छनोटका लागि सबैभन्दा अवसर रहेको दाबी गरे । उनका अनुसार खेल लिग कम नकआउटको आधारमा हुनेछ ।

छनोटका खेल सञ्चालनका लागि सम्पूर्ण जनशक्ति विदेशबाट आउनेछन् । नेपालबाट अहिलेसम्म तेक्वान्दोका संगीना वैद्य र दीपक विष्ट मात्रै छनोट चरण पार गरेका छन् । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी दुवैले अहिलेसम्म सहयोग भने गरेको छैन । निजी क्षेत्रबाट भने नेपाली घरले पाँच लाख रुपैयाँ प्रायोजन गर्नेछ । यस्तै समाजसेवी सुमन खड्गीले पनि आर्थिक सहयोग गर्नेछन् ।

प्रकाशित : वैशाख २४, २०८१ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?