२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

तीन सयलाई आउट गर्ने माही

४२ वर्षीय महेन्द्रसिंह धोनी अहिले पनि विकेटपछाडि उत्तिकै फुर्तिला देखिन्छन् । निकै कम समयमा जेजस्तो गर्ने हो, त्यो गरिहाल्छन् । विपक्षी ब्याटरसामु आफूलाई सम्हाल्ने अवसर नै हुन्न । उनीजस्ता विकेटकिपर विश्व क्रिकेटमा विरलै देखिन्छन् र उनको यो कला यसपल्ट पनि दमदार देखिएको छ । 
हिमेश

काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेटबाट महेन्द्रसिंह धोनीले संन्यास लिएको धेरै भइसक्यो । अब त उनी ४२ वर्षका पनि भइसके । अझै आईपीएल खेलिरहेका छन्, चेन्नाई सुपर किंग्सका लागि । जतिजति बेला उनी ब्याटिङका लागि ओर्लिन्छन्, जहाँसुकै खेलेको खेल भए पनि पूरा रंगशाला गुञ्जायमान हुन्छ । सबैले भनिरहेका हुन्छन्– माही, माही । यो कति साह्रो चर्को हुन्छ भने एउटा घटनाले दर्शाउँछ ।

तीन सयलाई आउट गर्ने माही

एक महिना भयो, अहिले चलिरहेको आईपीएल २०२४ मा चेन्नाईले कोलकाता नाइट राइडर्सको सामना गरेको । खेल भएको थियो, चेन्नाईको प्रसिद्ध एमए चिदम्बरम् स्टेडियममा । दोस्रोपल्ट ब्याटिङ गरेको चेन्नाईलाई खेल जित्न अन्तिम १९ बलमा तीन रन चाहिएको थियो । ठीक त्यही बेला धोनी क्रिजमा ओर्ले । अब के चाहियो र ? पूरा रंगशालामा खुसीयाली छाएको थियो । आवाज पनि कति साह्रो निस्केको थियो भने फिल्डिङ गरिरहेका आन्द्रे रसेलले आफ्ना दुवै कान थुने ।

विश्व क्रिकेटका लागि यो निकै ‘आइकोनिक’ दृश्य थियो । सायद रसेल दर्शकले धोनीप्रति देखाएको सम्मानबाट आफ्नो खेल प्रभावित नहोस् भन्न चाहन्थे । कारण जस्तै होस्, धोनी अझै पनि उत्तिकै लोकप्रिय छन् । भारतीय टिममा अहिले जति खेलाडी छन्, तीभन्दा पनि धेरै बढी । ब्याटिङकै कुरा गर्ने हो भने यसपल्ट धोनी ‘क्यामिओ’ भूमिकामा रमाइरहेका छन् । उनले ठूल्ठूला इनिङ्स खेलिरहेका छैनन् । खासमा उनी त्यस जिम्मेवारीमै छैनन् ।

अहिलेसम्म चेन्नाईले खेलेका १० खेलमा १ सय १० को औसतले रन बनाइरहेका छन् । यसपल्टको आईपीएलमा उनले आफ्नो सय रन पूरा गरिसकेका छन् । प्रायः इनिङ्सको अन्त्यतिर आउँछन् र नटआउट पनि रहन्छन् । अझ रमाइलो त के भने यसपल्ट उनी दुईपल्ट मात्र आउट भएका छन्, त्यो पनि रनटआउट । पञ्जाव किंग्सविरुद्धको खेलमा उनी आउट भएका थिए । नत्र अनुमान चलिरहेको थियो, कतै यो सिजनमा उनी आउट नै नहुने त होइनन् ?

आईपीएल सुरु भएदेखि लगातार खेलिरहेका धोनीले यसपल्ट चेन्नाईको नेतृत्व पनि गरिरहेका छैनन् । सिजनको सुरुमै समाचार आएको थियो, उनी चेन्नाईको कप्तान रहने छैनन् । बरु नेतृत्व ऋतुराज गायकवाडले गर्नेछन् । पोहोरको सिजनमा पनि सुरुमा उनी कप्तान थिएनन्, तर टिमको खराब प्रदर्शनपछि उनले टिम सम्हालेका थिए र टिमले उपाधि पनि जित्यो । उनको विकेटकिपिङमा भने अझै पुरानो झलक देख्न पाइन्छ । एक महिनाअगाडि मात्रै उनले एउटा दुर्लभ कीर्तिमान बनाए ।

दिल्ली क्यापिटल्सविरुद्ध विशाखापटनमा भएको खेलमा आफ्नो तीन सयौं सिकार बनाए धोनीले । ट्वान्टी–२० क्रिकेटमा तीन सयौं आउट रच्ने पहिलो विकेटकिपर बने उनी । धोनी अझै पनि विकेटपछाडि उत्तिकै फुर्तिला देखिन्छन् । निकै कम समयमा जेजस्तो गर्ने हो, त्यो गरिहाल्छन् । विपक्षी ब्याटरसामु आफूलाई सम्हाल्ने अवसर नै हुन्न । भनिन्छ, उनी जस्ता विकेटकिपर विश्व क्रिकेटमा विरलै देखिन्छन् र उनको यो कला यसपल्ट पनि दमदार देखिएको छ ।

धोनीले एउटा अर्को काम पनि खुबै राम्रोसँग निर्वाह गरिरहेका छन् । त्यो हो, नयाँ र युवा खेलाडीमाथि विश्वास गर्ने । तिनलाई चाहिँदो मौका दिने । सबैलाई थाहा छ, उनकै कारण भारतीय टिममा विराट कोहली र रोहित शर्माले स्टारडमसम्म पुग्ने मौका पाए । चेन्नाईकै कुरा गर्ने हो भने यस्तै अवसर धोनीले सुरेश रैना र रवीन्द्र जडेजाका लागि तयार पारे । त्यसैलेत हो, चेन्नाईले कीर्तिमान पाँचपल्ट आईपीएल जित्न सकेको ।

यसपल्ट चेन्नाईका लागि राम्रो प्रदर्शन गर्नेमा श्रीलंकाली फास्ट बलर मथिशा पथिरना पनि पर्छन् । उनको बलिङमा अर्का श्रीलंकाली पूर्वबलर लसिथ मलिंगाको झलक पाइन्छ । पथिरनाले एक अन्तर्वार्तामा आफ्नो खेल जीवनमा धोनीको प्रभाव अभिभावकको जस्तै रहेको बताएका छन् । उनले भनेका छन्, ‘आफ्नै बुबापछि मेरो खेल जीवनमा कसैको सबैभन्दा ठूलो प्रभाव छ भने उनी धोनी हुन् ।’ अन्तर्वार्तामा पाथिरनाले प्रयोग गरेको शब्द हो, ‘फादर फिगर’ । उनी भन्छन्, ‘धोनीले मेरो खेलमा नजिकबाट ध्यान दिइरहन्छन् । यस्तो गर्नु भनेर सल्लाह पनि दिइरहन्छन् । घरमा हुँदा बुबाले जेजस्तो गर्छन्, धोनीले पनि त्यस्तै गर्छन् ।’

गत सिजनमा धोनीले उपाधि उचाल्दा उनी टिमका प्रमुख बलर थिए । १२ खेलमा १९ विकेट लिएका थिए उनले । यसपल्ट पनि उनको भूमिका बलियो छ र १३ महत्त्वपूर्ण विकेट लिइसकेका छन् । धोनीप्रति यस्तै सम्मान बंगलादेशी बलर मुस्तफिजुर रहमानले पनि देखाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटका लागि उनी भर्खरै चेन्नाई छाडेर बंगलादेश फर्केका छन् । त्यस अगाडि उनलाई मीठो बिदाइ दिन धोनीले बिर्सेनन् । अनि धोनीको हातबाट उनको हस्ताक्षर भएको जर्सी पनि पाए । चेन्नाई छाड्नुअघि उनले सामाजिक सञ्जालमा लेखे, ‘सबथोकका लागि माही भाइलाई धेरैधेरै धन्यवाद । उनीजत्तिको लेजेन्डसँग एउटै ड्रेसिङ रुम सेयर गर्नु पनि ठूलै कुरा हो । मलाई विश्वास गरेकामा फेरि पनि धन्यवाद ।’

यत्तिको कुरा गर्दा एउटा प्रश्न अझै छुटाउनु हुन्न । साँच्चै धोनीले आईपीएलबाट संन्यास चाहिँ कहिले लिने छन् त ? गत सिजन सायद उनीसँग संन्यासका लागि असाध्यै राम्रो अवसर थियो । फाइनलमा गुजरात टाइटन्सलाई हराएर उपाधि जित्दा अनुमान पनि थियो, धोनीले अब संन्यास घोषणा गर्नेछन् । तर त्यस्तो केही भएन । बरु पछि उनले उल्टै घोषणा गरे, ‘म २०२४ को आईपीएलमा पनि देखिनेछु ।’ त्यसैले हामी यसपल्ट पनि उनको खेल हेर्न पाइरहेका छौं ।

यो सिजनको अन्त्यपछि के त ? यसपल्टको आईपीएलमा लिग चरणका खेल सकिने क्रममा छन् । अबको ध्यानमा प्ले–अफ खेल्ने टिम कुन–कुन हुनेछन् भन्नेमै छ । धोनीको परिवारसँग नजिक रहेकाले भनिरहेका छन्, सायद एक अर्को सिजन खेल्नेछन् कि ? अथवा हुन सक्छ, संन्यास लिन पनि सक्छन् । अहिलेका लागि उनको खेलमा रमाउनु नै ठीक ।

प्रकाशित : वैशाख २४, २०८१ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?