३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

आगलागीले २४ दिनमा १२ सय हेक्टर वन सखाप

प्रकाश बराल

बागलुङ — वैशाख महिनाभर बागलुङका २७ वटा सामुदायिक वनमा लागेको आगोले १ हजार २ सय हेक्टर जमिनको वन क्षेत्र सखाप भएको प्रहरीले जनाएको छ । वनमा लागेको डढेलो बस्तीमा सल्किएर ठूलो जनधनको क्षति भएको छ ।

आगलागीले २४ दिनमा १२ सय हेक्टर वन सखाप

आगोले मानवीय र पशुपंक्षीको क्षति समेत भएको हो । त्यसबाहेक वैशाख महिनाभर धुँवा र धुलोले स्थानीयबासी हैरान परेका छन् । धुँवा र धुलोले रुघाखोकी, ज्वरो र शरिर चिलाउने रोगका बिरामी बढेका छन् ।

धुलो र धुँवाले आँखा पोल्ने समस्या भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल आँफै गुनासो गरे । सदरमुकाम आसपासका जंगल मात्र नभइ जिल्ला भित्रका दर्जनौं जंगलमा आगलागी भैरहेको छ । बागलुङ नगरपालिकाको फोहोर फाल्ने गरेको खुतुर्केमा त दुइ सातादेखि आगोलागेको अझै निभेको छैन । मालढुंगादेखि बलेवा र कुश्मीसेरा जाने सडक धुवाँले बाटो नदेखिने गरी छोपिएको छ ।

केही स्थानमा आगो निभाउने प्रयास भएपनि अधिकांस स्थानमा अनियन्त्रित छ । जसका कारण वातावरण प्रदुषण भएको हो । ‘वातावरण यतिधेरै प्रदुषित भएको थाहा थिएन, अहिले आँखा पोल्ने समस्या समेत बढेको छ’ जैमिनी नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्रका डा. सुलभ आचार्यले भने, ‘फोहोरको कण सिधै आँखा र नाकमा पुगेको छ ।’

धुलो र धुँवाले श्वासप्रश्वास र आँखामा समस्या आएको उनले बताए । त्यसकालाग मास्क लगाउने उक्तम उपाया भएपनि आँखाको समस्या भने बढी दुःखद भएको प्रतिक्रिया दिए । निरन्तर मास्क लगाउँदा समेत स्वास्थ्यमा समस्या हुने उनको तर्क छ ।

अधिकांस जंगलमा आगो लाग्नुमा प्राकृतिक कारण भने नभएको प्रहरी उपरीक्षक ऋषिराम कंडेल बताउँछन् । नियोजित रुपमा आगो लगाउँदै हिड्ने केही मानिस पक्राउ समेत परेको उनले बताए । ‘कैयौं स्थानमा नियोजित रुपमा आगो लगाइएको अनुमान छ’ कंडेलले भने, ‘प्रमाण सहित भेटिनेलाई पक्राउ गरेर कारवाही प्रक्रियामा लैजान्छौं ।’

वैशाखमा मात्रै बागलुङका २७ वटा सामुदायिक वनमा आगलागी भएको प्रहरीको तथ्यांक छ । ती घटनामा २ जनाको मृत्यु भएको छ । १० घर र १० गोठ जलेका छन् । २ जना मानिस घाइते छन् । यो अबधिमा ४३ घरपालुवा जनावरको मृत्यु भएको छ ।

आगो नियन्त्रणकालागि नेपाल प्रहरी, सेना र सशष्त्र प्रहरी सहित स्थानीय खटिएका छन् । स्थानीय तहले राहत तथा खाद्यान्नकालागि सहयोग गरेका छन् । डिभिजन वन कार्यालयले सबै सुरक्षा निकायलाई आगो निभाउने उपकरण सहयोग समेत गरेको छ । तर वातावरण संरक्षण तर्फ भने कुनै काम नभएको पाइएको हो ।

‘घटनापछि आगो निभाउने काममा साथ र सहयोग भएको छ, तर पूर्व तयारी केहीपनि देखिएन’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, ‘घटना भएपछि राहत र उद्दारमा भने हामीपनि खटिएका छौं ।’ वातावरणमा परेको समस्या बारे सबै सचेत बन्न सकेमा आगलागीका घटना न्युनीकरण गर्न सकिने उनले बताए ।

प्रकाशित : वैशाख २४, २०८१ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?