२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

बढ्यो आयु, औसत ७१.३ वर्ष बाँच्छन् नेपाली

स्वास्थ्य प्रणालीमा भएको सुधार, सचेतना, बालबालिकाले पाइरहेको पोषण र जन्मेदेखि हुर्किंदासम्म पाउने लालनपालन औसत आयु बढ्नुका मुख्य कारक 
यज्ञ बञ्जाडे

काठमाडौँ — एक दशकअघिको तुलनामा नेपालीको औसत आयु झन्डै पाँच वर्ष बढेर ७१ वर्षभन्दा बढी पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरूले नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको देखाएका हुन् ।

बढ्यो आयु, औसत ७१.३ वर्ष बाँच्छन् नेपाली

नेपालीको औसत आयु ०७८ मा ६६.६ र ०५८ मा ६०.४ वर्ष थियो । औसत आयु बढ्नुमा स्वास्थ्य प्रणालीमा भएको सुधार, सचेतना, बालबालिकाले पाइरहेको पोषण र जन्मेदेखि हुर्किंदासम्म पाउने लालनपालनले समेत ठूलो भूमिका खेलेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

औसत आयु झन्डै साढे ७१ वर्ष रहे पनि पुरुषभन्दा महिला करिब साढे ५ वर्ष बढी बाँच्ने प्रतिवेदनले देखाएको छ । ०७८को जनगणनाअनुसार पुरुषको औसत आयु ६८.२ वर्ष र महिलाको ७३.८ वर्ष छ । ०६८ को जनगणनाले पुरुषको औसत आयु ६५.४ वर्ष र महिलाको ६८ वर्ष रहेको देखाएको थियो । ०३८ सालमा पुरुषको तुलनामा महिलाको औसत आयु कम थियो । पछिल्लो ५० वर्षमा यस प्रवृत्तिमा व्यापक परिवर्तन आई महिलाको औसत आयु बढी देखिएको छ ।

महिलाको तुलनामा पुरुषको आयु कम हुनुमा पछिल्लो दशकमा नेपालले भोग्नुपरेका प्राकृतिक तथा कोरोना महामारीको मृत्युदर पुरुषको बढी हुनु रहेको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले बताए । ‘महिलाको तुलतामा दुर्घटनामा बढी पुरुष परेको देखिनु, मदिरा र लागुऔषध सेवनको मारमा पुरुष बढी देखिनु तथा विदेश जाने संख्यामा पुरुष बढी हुँदा कार्यक्षेत्रमा हुने दुर्घटनाले समेत पुरुषको मृत्युदर बढी देखाएको छ,’ उनी भन्छन्, ‘जन्मेदेखि नै शिशु र बाल मृत्युदरमा छोरीको तुलनामा छोराको मृत्युदर बढी देखिन्छ । यसको प्रभाव औसत आयुमै देखिएको हो ।’

पछिल्लो ५० वर्षमा नेपालीको औसत आयु साढे २१ वर्षले बढेको छ । कार्यालयका अनुसार ०३८ सालको जनगणनामा औसत आयु ४९.८ वर्ष देखिएको थियो । २०४८ सालमा वृद्धि भई ५४.३ वर्ष पुगेको थियो । ०५८ सालमा ६०.४ वर्ष पुगेको थियो । ०६८ सालमा ६६.६ वर्ष पुगेको औसत आयु पछिल्लो जनगणनाले ७१.३ वर्ष पुगेको देखाएको छ । आँकडाअनुसार पछिल्लो १० वर्षमा मात्र ४.७ वर्षले औसत आयु बढेको छ ।

प्रदेशगत रूपमा हेर्दा कर्णालीमा मानिस सबैभन्दा धेरै वर्ष बाँच्ने गरेको देखिएको छ । यस प्रदेशको औसत आयु ७२.५ वर्ष देखिएको छ भने लुम्बिनी प्रदेशको सबैभन्दा कम ६९.५ वर्ष छ । वाग्मती प्रदेशमा औसत आयु ७२.४ वर्ष, गण्डकीमा ७२.१ वर्ष, मधेशमा ७१.८ वर्ष, कोशीमा ७०.४ वर्ष र सुदूरपश्चिमा ७१.३ वर्ष रहेको प्रतिवेदनमा उल्लेख छ । ‘महिलाको औसत आयु सबैभन्दा धेरै कर्णालीमा ७५.५ वर्ष भने सबैभन्दा कम लुम्बिनीमा ७२.५ वर्ष छ,’ प्रतिवेदनमा भनिएको छ, ‘गण्डकीमा महिलाको औसत आयु ७५.४ वर्ष र मधेशमा ७३.२ प्रतिशत छ ।’ कोशीमा ७२.८, सुदूरपश्चिममा ७५.२ र गण्डकीमा ७५.४ वर्ष छ ।

प्रदेशगत रूपमा हेर्दा मधेशमा पुरुषको औसत आयु सबैभन्दा बढी ६९.९ वर्ष छ भने सबैभन्दा कम लुम्बिनीमा ६६.१ वर्ष छ । सूदूरपश्चिममा ६६.९, कोशीमा ६७.५, गण्डकीमा ६८.१, कर्णालीमा ६९.२ र वाग्मतीमा ६९.६ वर्ष पुरुषको औसत आयु छ ।

स्वास्थ्य क्षेत्रमा बढेको सरकारको लगानीको प्रतिफल औसत आयुमा देखिएको प्रतिवेदनले औंल्याएको छ । अर्कातर्फ, विद्यालय शिक्षाले बढाएको स्वास्थ्य सचेतनाले समेत औसत आयु बढाउन भूमिका खेल्ने गरेको बताइएको छ । ‘०३८ सालमा १३.५ जना रहेको कोरा मृत्युदर ०७८ सालमा आएर ६.८ जनामा झरेको छ । कोरा मृत्युदर (कुनै निश्चित ठाउँमा एक वर्षभरिमा प्रतिहजार जनसंख्यामा मृत्यु हुने व्यक्तिको संख्या) हरेक जनगणनाले घट्दै गएको प्रतिवेदनले देखाएको हो ।

शिशु मृत्युदरको तथ्यांक केलाउँदा

प्रतिहजार जीवित जन्ममा एक वर्ष उमेर नपुग्दै मुत्यु हुने शिशु संख्या १७ छ । ०६८ मा यस्तो संख्या ४० र ०५८ मा ६४ थियो । ०३८ सालमा प्रतिहजार जीवित जन्मेका शिशुमध्ये औसत १ सय १७ जनाको मृत्यु हुने गरेको थियो । शिशुको मृत्युदरमध्ये छोरीको तुलनामा छोराको बढी देखिन्छ । छोराको प्रतिहजार मृत्युदर १९ रहँदा छोरीको १५ रहेको देखिएको छ । ०६८ मा छोराको मृत्यूदर प्रतिहजारमा १२ र छोरीको ११ थियो ।

नेपालको जनसंख्या वृद्धिदर पनि निरन्तर घट्दै गएको प्रतिवेदनले देखाएको छ । नेपालको जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत छ । प्रदेशगत रूपमा हेर्दा लुम्बिनी प्रदेशको सबैभन्दा बढी जनसंख्या वृद्धिदर १.२४ छ भने मधेशको १.१९ प्रतिशत छ । बाँकी प्रदेशमध्ये कोशीको ०.८६, वाग्मतीको ०.९७, गण्डकीको ०.२५, कर्णालीको ०.७० र सुदूरपश्चिमको ०.५२ प्रतिशत छ ।

प्रकाशित : वैशाख २४, २०८१ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?