२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१
परिक्रमा

अशान्त अमेरिकी विश्वविद्यालय

गाजामा इजरायली हमलाविरुद्ध अमेरिकाको ४५ राज्यका १ सय ३० विश्वविद्यालय तथा कलेजमा अस्थायी शिविर नै खडा गरेर प्रदर्शनमा उत्रिए विद्यार्थी, कम्तीमा २५ सय विद्यार्थी पक्राउ

काठमाडौँ — प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेको आठ महिना पुगिसकेको छ । इजरायलले व्यहोरेको अप्रत्याशित आक्रमणमा करिब १ हजार २ सय इजरायली तत्काल मारिए । घाइते भएका सय जनाभन्दा बढीले आक्रमणको केही दिनमा ज्यान गुमाएका थिए । त्यसका साथै २ सय ५० जनाभन्दा बढीलाई इजरायली क्षेत्रबाट बन्धक बनाएर लैजान हमास सफल भएको थियो । 

अशान्त अमेरिकी विश्वविद्यालय

आन्दोलित विद्यार्थीले गाजामा स्थायी युद्धविराम हुनुपर्ने, इजरायललाई अमेरिकाले गरिरहेको सैन्य सहयोग अन्त्य गरिनुपर्ने, हतियार विक्रेता र युद्धबाट नाफा कमाउने कम्पनीबाट विश्वविद्यालयले वित्तीय सहयोग लिन रोक्नुपर्ने र आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थीलाई रिहा गर्नुपर्ने माग राखेका छन्

आफूविरुद्ध इतिहासकै भयानक आक्रमणबाट क्रुद्ध इजरायलले त्यसलगत्तै प्यालेस्टाइनमा अन्धाधुन्ध आक्रमण सुरु गर्‍यो । जसका कारण आठ महिनाको अवधिमा ३७ हजार ७ सय ८९ प्यालेस्टिनीको ज्यान गइसकेको छ । मारिनेमध्ये अधिकांश महिला र बालबालिका छन् । कम्तीमा ७८ हजार घाइते भएको जनाइएको छ । यस अवधिमा प्यालेस्टाइनमा हजारौं संरचनाहरू ध्वस्त भएका छन् भने ठूलो संख्यामा सर्वसाधारणहरू विस्थापित भएका छन् ।

पश्चिम एसिया क्षेत्रमा जारी तनाव आठ महिनापछि भने अमेरिकासम्म पुगेको छ । अमेरिकी विश्वविद्यालयका विद्यार्थीले प्यालेस्टाइनमा भइरहेको इजरायली आक्रमणको विरोधमा प्रदर्शनहरू चर्काएका छन् । त्यस्ता विरोध प्रदर्शनहरूले विगतमा अमेरिका हुने गरेका युद्ध र रंगभेदविरुद्धका आन्दोलनको झल्को दिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । इजरायली आक्रमणको विरोधमा गरिएको प्रदर्शनको शृंखला पछिल्लो दिनमा निकै बढेको छ । जसका कारण दर्जनौं विश्वविद्यालय तनावग्रस्त बनेका छन् ।

आन्दोलित विद्यार्थीले गाजामा स्थायी युद्धविराम हुनुपर्ने, इजरायललाई अमेरिकाले गरिरहेको सैन्य सहयोग अन्त्य गरिनुपर्ने, हतियार विक्रेता र युद्धबाट नाफा कमाउने कम्पनीबाट विश्वविद्यालयले वित्तीय सहयोग लिन रोक्नुपर्ने र आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थीलाई रिहा गर्नुपर्ने माग राखेका छन्

इजरायलले अक्टोबरमा प्यालेस्टाइनमाथि आक्रमण सुरु गरेदेखि नै अमेरिकाका विभिन्न विश्वविद्यालयका विद्यार्थीले युद्धविरोधी प्रदर्शनहरू सुरु गरेका थिए । तर इजरायलको ज्यादती बढ्दै गएपछि विद्यार्थीहरू थप आन्दोलित भएका हुन् । सुरुमा र्‍याली, अनशन, भोक हडताल गरेका विद्यार्थीहरू पछिल्लो समय भने क्याम्पस हाताभित्रै पाल टाँगेरै बस्न थालेका छन् । बीबीसीका अनुसार ४५ राज्य र वासिङ्टनमा विद्यार्थीहरू आन्दोलिन छन् । एक सय ३० भन्दा बढी विश्वविद्यालय तथा कलेजमा विद्यार्थीहरू अस्थायी शिविर नै खडा गरेर प्रदर्शनमा उत्रेका छन् ।

उत्तरपूर्वी क्षेत्रका जर्ज वासिङ्टन, ब्राउन, यल, हार्वार्ड, एमर्सन, न्युयोर्क, जर्जटाउन, अमेरिकन, मेरिल्यान्ड, जोन हप्किन्स, टुफ्ट्स, कोर्नेल, पेन्सलभेनिया, प्रिन्स्टन, टेम्पल, नर्थ इस्टर्न, एमआटी, द न्यु स्कुल, रोचेस्टर र पिट्सवर्ग विश्वविद्यालयमा प्रदर्शन चर्केको छ । त्यस्तै, पश्चिम तटीय क्षेत्रका क्यालिफोर्निया स्टेट पोलिटेक्निक, हुम्बोल्ट, साउदर्न क्यालिफोर्निया, क्यालिफोर्निया, लस एन्जलस, बर्कले, वासिङ्टन, ओरिगन विश्वविद्यालयमा पनि विद्यार्थीहरू आन्दोलित भएका छन् ।

कोलम्बिया विश्वविद्यालयमा गरिएको प्रदर्शन ।

विस्कन्सिन, नर्थवेस्टर्न, वासिङ्टन (सेन्ट लुइस), इन्डियाना, मिसिगन, ओहायो, ओहायो स्टेट, मिनेसोटा, कोलम्बिया, सिकागोलगायतका मध्यपश्चिम क्षेत्रका विश्वविद्यालयमा पनि प्रदर्शन चर्किएको बीबीसीले जनाएको छ । दक्षिणी क्षेत्रका टुलेन, एमोरी, भान्डेरबिल्ट, नर्थ क्यारोलाइना, चार्लोट, नर्थ क्यारोलाइना (चापेल हिल), केन्नेस, फ्लोरिडा, भर्जिनिया टेक, जर्जिया र दक्षिणपश्चिम क्षेत्रका टेक्सास (अस्टिन), टेक्सास (डालस), राइस र एरिजोना विश्वविद्यालयमा प्रदर्शन हिंसात्मक बनेको बीबीसीले उल्लेख गरेको छ ।

विद्यार्थीले प्रदर्शन चर्काएका विश्वविद्यालयले नियमित कक्षा बन्द गरी भर्चुअल माध्यमबाट पठनपाठन सञ्चालन गरेका छन् । ‘युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया’ ले दीक्षान्त समारोह नै स्थगन गरेको छ । स्थानीय प्रहरी र केही विश्वविद्यालय प्रशासनले प्रदर्शनकारीविरुद्ध कठोर नीति अपनाउन थालेका छन् । कोलम्बियालगायतका केही विश्वविद्यालयले प्रदर्शनमा सहभागी विद्यार्थीलाई निलम्बन गरेका छन् ।

केही विश्वविद्यालयले भने प्रदर्शन अन्त्यका लागि विद्यार्थीहरूसँग वार्ता सुरु गरेका अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । अन्य केहीले भने प्रदर्शन रोक्न अल्टिमेटम दिएका र प्रहरी गुहारेका जनाइएको छ । बीबीसीका अनुसार सिकागो नजिकैको नर्थवेस्टर्न र रोडी आइल्यान्डस्थित ब्राउन विश्वविद्यालय प्रशासन र विद्यार्थीबीच विश्वविद्यालय हाताभित्र टेन्टको संख्या घटाउने सहमति भएको छ । कतिपय विश्वविद्यालयमा प्रदर्शकारी विद्यार्थी र प्रहरीबीच झडपहरू भएका समाचार सार्वजनिक भएका छन् । त्यस्तै सयौं विद्यार्थीहरू पक्राउ परेका छन् । प्रदर्शनमा पक्राउ परेका विद्यार्थीहरूको संख्या यकिन नभए पनि कम्तीमा २ हजार ५ सय विद्यार्थी पक्राउ परेका समाचार संस्थाले एपीले उल्लेख गरेको छ ।

एपीका अनुसार मे १ र २ मा मात्रै यल, डार्टमाउथ, स्टोनी ब्रुक, पोर्टल्यान्ड, विस्कन्सिन र टेक्सास विश्वविद्यालयमा मात्रै सयौं विद्यार्थी पक्राउ परेका थिए । त्यस्तै, क्यालिफोनिर्याबाट २ सय १० र न्युयोर्कबाट २ सय ८२ विद्यार्थीलाई नियन्त्रणमा लिइएको थियो । न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालयले क्याम्पस हातामा विद्यार्थीहरूले बनाएका अस्थायी शिविरहरू हटाउन समयसीमा तोकेको थियो । तर उक्त समयमा शिविरहरू नहटाइएपछि विद्यार्थीहरूलाई निलम्बन गर्न थालेको छ ।

युनिभर्सिटी अफ टेक्सस (अस्टिन) मा राखिएका शिविर हटाउन विद्यार्थीले आनाकानी गरेपछि टेक्सास प्रहरीले हटाइदिएको छ । त्यसक्रममा पालहरूभित्र ढुंगाहरू फेला परेका र कतिपय प्रदर्शनकारी विश्वविद्यालयसँग असम्बन्धित रहेको पत्ता लागेको विश्वविद्यालयको दाबी छ  ।कोलम्बिया विश्वविद्यालयमा प्रदर्शनकारीले खडा गरेका शिविर दुई साताअघि प्रहरीले हटाइदिएपछि विद्यार्थी प्रदर्शन थप फैलिएको थियो । तर यहुदी विद्यार्थीमाथि आक्रमण भएको र त्यसलाई रोक्न नसकेको भन्दै विश्वविद्यालयको नेतृत्वमाथि कारबाही वा पद छाड्न दबाब बढिरहेको छ । विश्वविद्यालय यहुदीविरोधी भावनाले यहुदी विद्यार्थीहरू जोखिममा परेका विषयमा अमेरिकाभरि भइरहेको बहसको केन्द्रमा छ ।

प्रहरीले अप्रिल १८ मा क्याम्पसको मध्यभागमा प्यालेस्टिनी समर्थक विद्यार्थीले बनाएको शिविर हटाउनुका साथै एक सयभन्दा बढी विद्यार्थीलाई पक्राउ गरेको थियो । तर विद्यार्थीहरूले फेरि अर्को शिविर बनाएका थिए । जसका कारण विश्वविद्यालयले अनलाइन पढाइ सुरु गरेको थियो । पुनः प्रहरी गुहार्ने कुनै योजना नरहेको बताएको विश्वविद्यालयले ग्य्राजुएसन कार्यक्रमसमेत स्थगित गरेको छ ।

प्रतिनिधिसभाका सभामुख माइक जोन्सनले गत साता विश्वविद्यालयका अध्यक्ष नेमात सफिकले पद छाड्नुपर्ने बताएका थिए । ‘कोलम्बियामा जे भइरहेको छ त्यो निकै लज्जास्पद छ,’ रिपब्लिकन नेता जोन्सनले एक्समा लेखेका थिए । त्यस्तै, प्रतिनिधिसभाका डेमोक्रेट सांसदहरूले समेत कोलम्बिया विश्वविद्यालयका बोर्ड अफ ट्रस्टिज, व्यवस्थापकलगायतलाई ‘निर्णायक कारबाही गर्न, शिविरहरू हटाउन र सबै विद्यार्थीहरूको सुरक्षा सुनिश्चित’ गर्न आग्रह गरेका थिए ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा पाल हालेर बसेका विद्यार्थी । तस्बिरहरू : एएफपी/एपी

स्वतन्त्र पर्यवेक्षकले इजरायलविरुद्ध विद्यार्थीले गरेको विरोधलाई एक्काइसौं शताब्दीकै ठूलो प्रदर्शनका रूपमा व्याख्या गरेका छन् । यी प्रदर्शनलाई भियतनाम युद्धको विरोधमा सन् १९६० को दशकमा भएको आन्दोलन र १९८० को दशकमा भएको रंगभेदविरोधी आन्दोलनसँग तुलना गरिएको छ । अमेरिकाले यो शताब्दीमा तीन ठूला आक्रमणको सामना गरेको छ । ती इराकमाथि अमेरिकी आक्रमणको विरोध, अकुपाई वालस्ट्रिट आन्दोलन र अश्वेत युवा जर्ज फ्लोइडको हत्यापछि उठेको रंगभेदविरोधी प्रदर्शन हुन् ।

समाचार संस्था रोयटर्सका अनुसार आन्दोलित विद्यार्थीहरूले प्यालेस्टाइनको गाजामा स्थायी युद्धविरामको माग गरेका छन् । त्यसका साथै, उनीहरू इजरायललाई अमेरिकाले गरिरहेको सैन्य सहयोगको अन्त्य गर्नुपर्ने आवाज उठाएका छन् । हतियार विक्रेता र युद्धबाट नाफा कमाउने कम्पनीहरूबाट विश्वविद्यालयले वित्तीय सहयोग लिन बन्द गर्नुपर्ने विद्यार्थीहरूको माग छ । अमेरिकी शैक्षिक संस्थाहरूले इजरायलसँग आर्थिक दूरी कायम गर्नुपर्ने विद्यार्थीहरूको माग छ । त्यस्तै, आन्दोलनका क्रममा प्रहरीले पक्राउ गरेका विद्यार्थी तथा अध्यापकहरूलाई बिनासर्त रिहा गरिनुपर्ने पनि उनीहरूको माग छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने जोकोही अमेरिकीलाई प्रदर्शन गर्ने अधिकार रहेको बताएका छन् । तर प्रदर्शनका क्रममा कानुनको पालना गरिनुपर्ने उनको भनाइ छ । ‘प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको अधिकार छ,’ प्यालेस्टाइनको समर्थनमा विद्यार्थीले गरेको प्रदर्शनबारे बाइडेनले भनेका छन्, ‘तर कानुनको सम्मान गर्नुपर्छ ।’ विद्यार्थीहरूका पछिल्ला प्रदर्शनमा कानुनको अवहेलना भएको उनको दाबी छ । ‘शान्तिपूर्ण विरोधको समर्थन गर्न सकिन्छ, तर हिंसात्मक विरोधको होइन,’ बाइडेनले भने, ‘जब हिंसा हुन्छ, त्यो कानुनको दायराभन्दा बाहिर जान्छ ।’ प्रदर्शनकारीले प्यालेस्टाइनमा के भइरहेछ भन्ने नबुझेको उनको दाबी छ ।

विद्यार्थी प्रदर्शनका विषयमा राष्ट्रपति कार्यालय ह्वाइट हाउस भने अप्ठेरोमा पर्दै गएको कतिपयको आकलन छ । ह्वाइट हाउस शान्तिपूर्ण प्रदर्शनको अधिकार र घृणाजन्य अभिव्यक्तिको निन्दाको विषयमा सन्तुलन खोजिरहेको जस्तो देखिएको कतिपयको विश्लेषण छ । ‘यो पीडादायी क्षण हो,’ ह्वाइट हाउसकी प्रेस सेक्रेटरी करिन जाँ पियरले भनिन्, ‘स्वतन्त्र अभिव्यक्ति कानुनको परिधिभित्र रहनुपर्छ ।’

त्यस्तै, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि विद्यार्थी आन्दोलनको विरोध गरेका छन् । उनले आन्दोलनकारी विद्यार्थीलाई ‘रिसाहा पागलहरू’ को संज्ञा दिएका छन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई उदारवादी समूहहरूले खटाएको उनको दाबी छ । केही यहुदी विद्यार्थीहरूले भने प्रदर्शनकारीबाट घृणाजन्य अभिव्यक्ति र हिंसाका धम्कीहरू आएको दाबी गरिएको छ । न्युयोर्कबाट रिपब्लिकन पार्टीबाट निर्वाचित कंग्रेस सदस्य एलिज स्टेफानिकले यहुदी विद्यार्थीहरूको चिन्ता सम्बोधन गर्न कोलम्बियाको नेतृत्व कमजोर देखिएको भन्दै आलोचना गरेकी छन् ।

प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा अमेरिकासँगै अस्ट्रेलिया, क्यानडा, जर्मनी, फ्रान्स, डेनमार्क, इटाली, फिनल्यान्ड, यूकेलगायत देशका विभिन्न विश्वविद्यालयका विद्यार्थीले समेत इजरायलको ज्यादतीविरुद्ध प्रदर्शनहरू चर्काएका छन् ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : वैशाख २६, २०८१ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?