कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाम्रो गरिबी कस्तो छ ?

काठमाडौँ — राष्ट्रिय तथ्यांक कार्यालयले चौथो नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० ले ५९ लाख ६० हजार जनसंख्या गरिबीको रेखामुनी रहेको निष्कर्ष निकालेको छ । गरिबीको रेखामुनी रहेको जनसंख्यालाई एकल अंकमा झार्ने सरकारको लक्ष्य भएपनि गरिबी अझै २०.२७ प्रतिशत रहेको छ ।

हाम्रो गरिबी कस्तो छ ?

यो सर्वेक्षणले दैनिक १.९० अमेरिकी डलर अर्थात २ सय रुपैयाँ पनि खर्च गर्न नसक्नेहरुलाई गरिबीको रेखामुनी राखेको छ । अर्थात दैनिक २ सय रुपैयाँ अर्थात बार्षिक ७२ हजार ९ सय ८ रुपैया पनि खर्च गर्न नसक्नेहरुले न्यूनतम जीवनस्तर कायम राख्न पनि सक्दैनन् ।

सर्वेक्षणका अनुसार सहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा गरिबीको दर उल्लेख्य रहेको छ । सहरमा १८.३४ प्रतिशत गरिबीको दर रहेको छ भने ग्रामीण भेत्रमा २४.६६ प्रतिशत गरिबीको दर रहेको छ । सर्वेक्षणले पछिल्लो १२ वर्षमा नेपालीको उपभोग्य खर्च औसत ६६ प्रतिशतले बढेको देखाएको छ । हालको मूल्यको तुलनामा ०६६/६७ मा औसत प्रतिव्यक्ति उपभोग खर्च ७५ हजार ९ सय २ रुपैया रहेकोमा अहिले बढेर १ लाख २६ हजार १ सय ७२ रुपैया पुगेको छ । सर्वेक्षणले भनेको छ, पछिल्लो १२ वर्षमा उपभोग खर्चमा गैरखाद्य खर्चको अंश ३७ प्रतिशतबाट बढेर ४७ प्रतिशत पुगेको छ ।

सर्वेक्षणमा नेपालीहरुको पहुँच सवारी साधन र विद्युतीय सामग्रीहरुमा कसरी बढेको छ भनेर पनि देखाएको छ । सन् २०११ मा ०.८२ प्रतिशतसँग कार थियो । अहिले कार हुनेको संख्या १.८५ प्रतिशत पुगेको छ । त्यस्तै २०११ मा ६.०३ प्रतिशतसँग कम्प्युटर थियो भने अहिले ८.७७ प्रतिशतमा कम्प्युटरको पहुँच पुगेको छ । मोबाइलमा पहुँच हुनेको संख्या सन् २०११ मा ६१.७९ प्रतिशत रहेको थियो भने अहिले यो बढेर ९३.५५ प्रतिशत रहेको छ । घरमा फ्रिज हुनेको संख्या पनि या बीचमा दोब्बरभन्दा धेरैले बढेको छ । सन् २०११ मा ८.६१ प्रतिशतसँग फ्रिज थियो भने अहिले फ्रिज हुनेको संख्या २६.८९ प्रतिशत पुगेको छ ।

प्रकाशित : फाल्गुन ८, २०८० २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?