उपाधि विजेता बास्केटबल टोली सम्मानित
काठमाडौँ — नेपाल बास्केटबल संघले बोर्डर सिङ्फु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री एक्स थ्री बास्केटबलको उपाधि विजेता नेपाली पुरुष टोलीलाई नगदसहित सम्मानित गरेको छ ।
चीनको युनानमा वैशाख १२ देखि १८ सम्म हुने प्रतियोगितामा सहभागी ४ खेलाडी र १ प्रशिक्षकसहित ५ जना सम्मानित भएका हुन् । सम्मानित हने खेलाडीमा विजय बुर्जा (कप्तान), निकेश मगर, मनीष केसी र निश्चल महर्जन छन् । प्रशिक्षकमा सुशील गुरुङ छन् ।
खेलाडी र प्रशिक्षकलाई जनही ३० हजारसहित प्रशंसापत्र प्रदान गरियो । उनीहरूलाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङलगायतले सम्मान गरे । प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जितेको थियो । नेपालले फाइनलमा युनान प्रदेशको ब्याड ५ टोलीलाई २०–१९ स्कोरले पराजित गर्दै उपाधि थियो ।
नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाका अनुसार नेपाली बास्केटबलको इतिहासमै कुनै पनि टोलीले स्वर्ण जितेको पहिलोपल्ट हो । प्रतियोगितामा नेपालसहित ७ राष्ट्र र चीनका ३२ टोली सहभागी थिए ।
नेपालसहित चीनका चार गरी ५ टिम समूह ‘एफ’ मा थिए । समूह चरणका सबै खेल जितेको थियो । प्रतियोगितामा नेपालका मनीष मोस्ट भ्यालुएबल प्लेयर र सुशील उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।
प्रकाशित : वैशाख २७, २०८१ १९:२५