नोकिएलाई दक्षिण अफ्रिकाको समर्थन
जोहानेसबर्ग — एनरिच नोकिएलाई समेट्दै दक्षिण अफ्रिकाले ट्वान्टी–२० विश्वकप टोली घोषणा गरेको छ । सेप्टेम्बरमा अस्ट्रेलियासँगको शृंखलाका क्रममा ढाडमा चोट बोकेयता नोकिएले अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् र अहिले आईपीएलमा पनि राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् ।
निकै खर्चालु बनेका उनले प्रतिओभर १३.८६ को हिसाबले रन दिँदै ७ विकेट लिएका छन् । तर २०२२ को विश्वकपमा दक्षिण अफ्रिकाको प्रमुख बलर रहेका नोकिएलाई स्तरीय खेलाडी भन्दै प्रशिक्षक रोब वाल्टरले टिममा समावेश गरेको जनाए ।
नोएिकसँगै जेराल्ड कोएट्जी, कागिसो रबाडा र मार्को जोन्सनले दक्षिण अफ्रिकाको तीव्र बलिङ र केशव महाराज, टाब्राइज साम्सी र बियोन फोर्टुइनल स्पिन बलिङ मोर्चा सम्हाल्ने छन् । समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले श्रीलंका, नेदरल्यान्ड्स र बंगलादेशसँग अमेरिकाको न्युयोर्कमा बन्दै गरेको नासाउ काउन्टी इन्टरनेसनल स्टेडियम तथा नेपालसँग समूह चरणको अन्तिम खेल वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा खेल्नेछ ।
दक्षिण अफ्रिकाले यसअघिका सबै आठ ट्वान्टी–२० विश्वकप खेलेको छ, तर दुई पटकमात्र समूह चरण पार गरेको छ । सन् २००९ र २०१४ मा टोली विश्वकप पुगेको थियो । क्विन्टन डी कक र डेविड मिलरको यो पाँचौं र रबाडाको चौथो विश्वकप सहभागिता हुनेछ ।
प्रकाशित : वैशाख १९, २०८१ ०७:०४