२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

चार्ल्सको शतकमा वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई विशाल लक्ष्य

काठमाडौँ — जोन्सन चार्ल्सले शतक बनाएपछि वेस्ट इन्डिज ‘ए’ ले ट्वान्टी-२० क्रिकेट शृंखलाको तेस्रो खेलमा नेपाललाई २ सय २८ रनको लक्ष्य दिएको छ । चार्ल्सले अविजित १ सय १९ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय २७ रन बनाएको हो ।

चार्ल्सको शतकमा वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई विशाल लक्ष्य

२४ बलमा अर्धशतक बनाएका चार्ल्सले ५५ बलमै शतक पूरा गरेका थिए । सो क्रममा उनले आन्द्रे फ्लेचरसँग दोस्रो विकेटमा ७६ बलमा १ सय ५५ रनको साझेदारी गरे । एलिक एथान्जेलाई अनिल साह र कमलसिंह ऐरीले मिलेर चौथो ओभरमा रनआउट गरेपछि चार्ल्स र फ्लेचर नेपाली बलरमाथी जमेर प्रहार गरेका थिए ।

चार्ल्सले ट्वान्टी-२० क्रिकेटमा चौथो शतक बनाउदै व्यक्तिगत उच्च स्कोर पनि बनाएका हुन् । उनले कुल ६१ बल खेल्दै १३ चौका र ७ छक्का प्रहार गरे । किमो पाल ७ बलमा समान १ चौका र छक्का प्रहार गरी १३ रन बनाई आउट भए ।

फ्लचेरले ३३ बलमा ५३ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । १६ औं ओभरमा सागर ढकालको बलमा उनले स्ट्रेटमा कप्तान दीपेन्द्रलाई क्याच दिन पुगे । शृंखलामा पहिलो खेल खेलिरहेका फाबियन एलेन ९ बलमा २ चौका र १ छक्का प्रहार गरी १९ रनमा आउट भए ।


गुलशन झामात्र नेपाली बलरमा किफायती रहे । उनले ४ ओभरमा २४ रन खर्चे । करण केसीले ४ ओभरमा ५४ र सागर ढकालले ४ ओभरमा ४१ रन खर्चेर १–१ विकेट लिए । कमलले ४ ओभरमा ५३ रन दिएर कुनै विकेट लिन सकेनन् ।

दीपेन्द्रले नेपालको कप्तानी गरिरहेका छन् । नियमीत कप्तान रोहित पौडेललाई ‘रेस्ट’ दिदैं नेपालले दीपेन्द्रलाई नेतृत्वको मौका दिएको हो । रोहितको १ सय १२ रनमा नेपालले शनिबार पहिलो खेल ४ विकेटले जितेर शृंखलामा अग्रता लिएको थियो । उनले दोस्रो खेलमा पनि अविजित ७१ रन बनाए पनि नेपाल १० रनले पराजित भएको थियो । रोहितसहित ओपनिङ ब्याटर कुशल भुर्तेल, अलराउन्डर सोमपाल कामीलाई तेस्रो खेलमा नेपालको प्लेयिङ ११ मा राखिएको छैन ।


दीपेन्द्रसहित लोकेश बम, अनिल साह, विनोद भण्डारी, आरिफ शेख, कुशल मल्ल, विवेक यादव, गुलशन झा, करण केसी, कमलसिंह ऐरी, सागर ढकाल प्लेयिङ-११ बाट खेलिरहेका छन् । विनोद, विवेक, कमल, करणलाई नेपाली टोलीमा ल्याएको छ ।

प्रकाशित : वैशाख १९, २०८१ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?