नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ को मध्यम लक्ष्य

काठमाडौँ — स्पिनरहरूको दबदबापछि नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको दोस्रो खेल जित्न १६१ सय रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १६०–७ को स्कोर बनायो ।

नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ को मध्यम लक्ष्य

सागर ढकाल, कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कसिलो बलिङ गरेपछि बलियो वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले खेल आफ्नो नियणत्रणमा राख्न सकेको थियो । अनुभवी एन्ड्रयु फ्लेचरले एउट एन्डबाट विकेट जोगाएर खेले पनि नियमीत विकेट गइरहँदा क्यारेबियन टोली ठुलो स्कोर बनाउन असफल रहयो ।

सोमपाल कामी र आकाश चन्दले १–१ ओभर फालेपछि ल्याइएका देव्रेहाते स्पिनर सागर ढकालले पहिलो ओभरमै २ विकेट लिदैं नेपालको वर्चस्वको सुरुआत गरेका थिए । सागरले एलिक एथान्जेलाई ६ रनमा मल्लबाट क्याच आउट गराएका थिए । त्यसको दुई बलपछि उनले जोहनसन चार्ल्सलाई ११ रनमा बोल्ड गरे ।

त्यसपछि चम्किने पालो लेग स्पिनर भुर्तेलको थियो । लेग स्टम्पभन्दा निकै बाहिर पिच भएको बलमा भुर्तेलले वेस्ट इन्डिजका कप्तान रोस्टन चेजलाई अस्भाविक हिसाबमा बोल्ड गरे । फ्लेचरसँग तेस्रो विकेटमा ४८ रन जोडेका चेजले २२ बल खेली २ चौका र १ छक्का प्रहार गरि २३ रन बनाए । भुर्तेलले केइसी कार्टीलाई पनि १० रनमा आउट गरे ।

किमो पल ८ रन बनाई सोमपालको बलमा बोल्ड भए । हेडन वाल्स ९ रनमा रनआउट भए । सातौं खेलाडीको रुपमा आउट भएका फ्लेचरले ३६ बल खेली ३ छक्कासहित ४३ रन बनाए । उनलाई दीपेन्द्रले आउट गरे ।

वेस्ट इन्डिजको टोलीले अन्तिम दुई ओभरमा ४१ रन जोडेको थियो । सोक्रममा दीपेन्द्रले फालेको अन्तिम ओभरमा टोलीले २२ रन जोडेको थियो । गुडाकेश मोटी ८ बलमा २ चौका र ४ छक्का प्रहार गरि ३३, म्याथ्यु फोर्ड ६ बलमा ११ रन बनाई अविजित रहे ।

सागरले ४ ओभरमा १९ र भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २–२ विकेट लिए । मल्लले ४ ओभरमा २३ रनमात्र खर्चेका थिए । दीपेन्द्रले ३ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए ।

कप्तान रोहित पौडेलको शतकमा नेपाले शनिबार पहिलो खेल ४ विकेटले जितेर शृंखलामा अगाडि रहेको छ । पहिलो खेलको टोलीबाट नेपालले दोस्रो खेलमा ५ खेलाडी परिवर्तन गरेको छ ।

नेपाली टोलीमा लोकेश बम, आरिफ शेख, सोमपाल कामी, सागर ढकाल र आकाश चन्दलाई समेटिएको छ । उनीहरुलाई प्रतिश जिसी, विवेक यादव, कमलसिंह ऐरी, अविनाश बोहरा, ललित राजवंशीको स्थानमा ल्याइएको छ ।

वेस्ट इन्डिज ‘ए’ ले कदिम एलेनको स्थानमा हेडन वाल्सलाई खेलाएका छन् । वाल्स विश्व क्रिकेटका दुर्लभ खेलाडी मध्येका एक हुन, जसले दुई देशका लागि खेलेका छन् । वाल्सले वेस्ट इन्डिज अघि अमेरिकाबाट पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।

प्रकाशित : वैशाख १६, २०८१ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?