२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

गणेशमान सिंह क्रिकेट : वाग्मतीको लगातार जित, श्रवणको ह्याट्रिक विकेट

काठमाडौँ — वीर गणेशमान सिंह राष्ट्रिय ट्वान्टी–२० प्रतियोगितामा वाग्मती प्रदेशले लगातार चौथो जित पाएको छ । मंगलबार वाग्मतीले कर्णाली प्रदेशलाई ७ विकेटले हरायो ।

गणेशमान सिंह क्रिकेट : वाग्मतीको लगातार जित, श्रवणको ह्याट्रिक विकेट

वाग्मतीका गौतम केसीले ५ विकेट लिएपछि टस हारेर ब्याटिङ गरेको कर्णाली १९.४ ओभरमा १ सय २० रनमै समेटियो । कर्णालीका विपिन शाहीले ५१ रन बनाए पनि अन्य ब्याटर सस्तैमा समेटिए । गौतमले ३.४ ओभरमा १८ रन खर्चिएर ५ विकेट लिएका थिए । सोनु देवकोटा र रिजन ढकाल २–२ विकेट लिन सफल भए ।

जवाफमा १ सय २१ रनको लक्ष्य वाग्मतीले १४.५ ओभरमा ३ विकेट गुमाई पूरा गरेको थियो । कप्तान रित गौतमले सर्वाधिक ३३, शुभ कंसाकार र इशान पाण्डेले २८–२८ रन बनाए ।

अर्को खेलमा मधेशले कोशीमाथि २ विकेटको रोमाञ्चक जित पाएको छ । जितसँगै ५ खेलबाट ६ अंक बटुलेको मधेश तालिकाको तेस्रो स्थानमा छ भने आफ्नो ४ खेलमा सबै खेल गुमाएको कोशी पुछारमा छ ।

टस जितेको कोशीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ९० रनमात्र बनायो । समीर कार्कीले २८, श्रवण यादवले २७ र सुजन थपलियाले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कसिलो बलिङ प्रदर्शन गरेका मधेशले कोशीलाई कम योगफलमा रोक्यो । मधेशका विशाल पटेल, अभिषेक तिवारी, रन्जित कुमार र प्रदीप पासवानले २–२ विकेट लिए । ९१ रनको सामान्य लक्ष्य पाएको मधेशले दोस्रो ओभरको पाँचौं बलमा ओपनर शाहिल पटेललाई ११ रनको स्कोरमा गुमायो । पाँचौं ओभरमा खेलले नाटकीय मोड लियो ।

पाँचौं ओभर बलिङ गरेका कोशीका श्रवण यादवले दोस्रो बलमा मायन यादवलाई आउट गरे । लगत्तै तेस्रो बलमा राहुल मण्डल र चौथो बलमा अरनिको यादवलाई आउट गर्दै ह्याट्रिक विकेट पूरा गर्दा मधेश १८–४ को अवस्थामा पुग्यो ।

उनले सोही ओभरको अन्तिम बलमा विशाल सुस्लिङलाई पेभेलियन पठाउँदा कोशी खेलमा हाबी भयो । कोशीका दीपेश कँडेलले आठौं ओभरमा प्रदीप पासवानलाई आउट गरे । २३–६ को अवस्थामा रहेको मधेशलाई ओपनर रोहन बिक र विशाल पटेलले सातौं विकेटमा ५९ रनको महत्त्वपूर्ण साझेदारी गरेपछि लयमा फर्काए । विशाल पटेल (३७) लाई दीपेशले आउट गर्दा कोशी पुनः खेलमा फर्किने प्रयासमा देखिएको थियो । तर ओपनर रोहनले अविजित ३१ रन बनाएर मधेशलाई १७ बलअघि २ विकेटको जित दिलाए ।

प्लेयर अफ द म्याच मधेशका विशाल पटेल चुनिए । बुधबार हुने गण्डकी र कर्णाली तथा लुम्बिनी र सुदुरपश्चिम भिड्नेछन् ।

प्रकाशित : वैशाख ११, २०८१ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?