१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

प्रो ‘डेब्यु’ प्रतीक्षामा सुवास

काठमाडौँ — व्यावसायिक खेलाडीको रूपमा गल्फर सुवास तामाङले नेपाली भूमिमा आफ्नो बहुप्रतीक्षित ‘डेब्यु’ गर्दै छन् । मंगलबारदेखि तिलगंगास्थित रोयल नेपाल गल्फ क्लबमा हुने सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रोको हिसाबमा सुवासको पहिलो प्रतियोगिता हुनेछ । 

प्रो ‘डेब्यु’ प्रतीक्षामा सुवास

सन् २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक जितेका सुवासले ७ वर्ष एमेच्योरमा प्रतिस्पर्धा गरेर सूर्य नेपाल टुरअन्तर्गतका महत्त्वपूर्ण सफलता हात पारे पनि प्रोको रूपमा उनले पहिलो पटक खेल्न लागेका हुन् ।

‘सुवासले यस वर्षदेखि प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) मा नियमित खेल्दै आएका छन् । फेब्रुअरीबाट उनी प्रो बनेपछि भारतीय टुरमा खेल्दै आएका हुन्,’ नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यले सोमबार पत्रकार सम्मेलनमा भने, ‘काठमाडौं ओपन र सूर्य नेपाल गल्फ टुरको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियरमा उनले खेल्नेछन् ।’

चार महिनाअघि कोलकाता गल्फ क्लबमा अल इन्डिया ओपन एमेच्योर च्याम्पियनसिप जितेर नेपाली खेलाडीको रूपमा इतिहास बनाएका आधारमा पीजीटीआईमा खेल्न सुवासलाई ढोका खुलेको थियो । एमेच्योर खेलाडीको रूपमा उनले व्यावसायिकले खेल्ने सूर्य नेपाल टुरमा ५ उपाधि जितिसकेका छन् । टुरमा पहिलो पटक २०१९ मा सूर्य नेपाल च्यालेन्ज जितेका उनले २०२१ मा वेस्टर्न ओपन, २०२२ र २०२३ मा गरी दुई पटक एनपीजीए टुर च्याम्पियनसिप तथा २०२३ मा प्रिमियर गल्फ च्याम्पियनसिप जितेका थिए ।

काठमाडौं ओपन सूर्य नेपाल गल्फ टुर सिजनको यो सातौं प्रतियोगिता हो । विजेताले १ लाख २० हजार रुपैयाँ पाउनेछन् । कुल ७ लाख ३ हजार ५ सय नगद पुरस्कार रहेको प्रतियोगितामा दोस्रो देखि पाँचौं हुनेले क्रमशः ८२ हजार, ६६ हजार, ५५ हजार र ४३ हजार पाउनेछन् । शीर्ष २१ मा पर्नेले नगद पाउनेछ ।

चार दिने प्रतियोगितामा ३२ प्रो र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ७२ होलमा खेलिने प्रतियोगितामा ३६ होलपछि कट लागू हुनेछ । त्यसपछि शीर्ष २१ प्रो र एमेच्योर खेलाडीले ३६ होलमा प्रतिस्पर्धा गर्नेछन् । सुवाससहित भुवन नगरकोटी, रवि खड्का, दिनेश प्रजापतिलाई प्रतियोगिताको दाबेदार मानिएको छ ।

उनीहरूलाई एमेच्योर सद्भाव आचार्यले बलियो चुनौती तेर्स्याउने अनुमान छ । एमेच्योर खेलाडीकै रूपमा सद्भावले सूर्य नेपाल टुरको तीन उपाधि जितिसकेका छन्, त्यसमध्ये सूर्य नेपाल सेन्ट्रल ओपन र सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप यसै सिजनमा जितेका हुन् ।

नम्बर एक प्रो गल्फर शुक्रबहादुर राई भने नाडीमा लागेको चोटका कारण काठमाडौं ओपन खेल्ने छैनन् ।

प्रकाशित : वैशाख ११, २०८१ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?