२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

ट्रिपलजम्पमा आशिषले तोडे ३६ वर्षअघिको कीर्तिमान

काठमाडौँ — दशरथ रंगशालामा भएको १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको एथलेटिक्सतर्फ बिहीबार तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपलजम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान तोड्दै गर्दै स्वर्ण जिते ।

ट्रिपलजम्पमा आशिषले तोडे ३६ वर्षअघिको कीर्तिमान

उनले २०४४ सालमा धनवीर चौधरीले बनाएको १४.०६ मिटरको कीर्तिमान तोडेका हुन् । प्रतियोयगितास्थलमै रहेका धनवीरले आशिषलाई प्रोत्साहनस्वरुप नगद प्रदान गरे । वाग्मती प्रदेशका विशाल गुरुङ दोस्रो र लुम्बिनी प्रदेशका विजय थारु तेस्रो भए । छात्रामा लुम्बिनीकी अनिशा थारुले १०.५७ मिटर जम्प गर्दै स्वर्ण जितिन् । सुदूरपश्चिमकी रेनुका ऐर दोस्रो तथा वाग्मतीकी अपेक्षा महतो तेस्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा प्रतियोगितामा छात्रा ३ हजार मिटर दौडमा सुदूरपश्चिमकी देवकीकुमारी धामीले जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । देवकीले निर्धारित दूरी १० मिनेट ५२.८२ सेकेन्डमा दौड पूरा गर्दै २०७५ सालमा राममाया बुढाले स्थापित गरेको १० मिनेट ५७.२ सेकेन्डको कीर्तिमान तोडिन् । लुम्बिनीकी गुन्जा यादव दोस्रो तथा कर्णाली प्रदेशकी कल्पना बुढा तेस्रो बने । छात्रतर्फ कर्णाली प्रदेशका अजय विकले ९ मिनेट २४.२ सेकेन्डबाट स्वर्ण जिते । वाग्मतीका विश्वराम कुँवरले रजत र कर्णालीका अक्कल बडुवालले कांस्य हात पारे ।

छात्रा ४ गुणा ४ सय मिटर रिलेमा भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा रानासम्मिलित कर्णाली प्रदेश टिमले कीर्तिमानी स्वर्ण जिते । टिमले निर्धारित दूरी ४ मिनेट १७.२ सेकेन्डमा पार गरेको थियो । यसअघि उक्त कीर्तिमान लुम्बिनीका अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालको नाममा ४ मिनेट २३.८ सेकेन्डको थियो । यसपालि लुम्बिनी दोस्रो र सुदूरपश्चिम तेस्रो स्थानमा रहे । सोही स्पर्धाको छात्रमा सुदूरपश्चिम पहिलो, मधेश प्रदेश दोस्रो र बागमती प्रदेश तेस्रो बने ।

तीनदिने एथलेटिक्स प्रतियोगितामा योसहित कुल ५ जुनियर राष्ट्रिय कीर्तिमान बने । पहिलो दिन गण्डकीका गणेश बिकले छात्र हाइजम्पमा १.८१ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए । दोस्रो दिन कर्णालीकी सरिता खड्काले ८ सय मिटर दौड २ मिनेट २८.५ सेकेन्डमा पूरा गर्दै कीर्तिमान रचेकी थिइन् ।

बिहीबारै सटपुटको छात्रमा कर्णालीका बालकुमार नकाल विजेता बने । उनले १२.९५ मिटर टाढा सटपुट फाले । सुदूरपश्चिमका गणेश बिक दोस्रो तथा लुम्बिनीका सुराज थापा तेस्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा सुदूरपश्चिमकी कृष्णा बलमे १०.५७ मिटरसहित स्वर्ण जितिन् । सुदूरपश्चिमकै पूजा साउदले दोस्रो र वाग्मतीकी एलिना विक तेस्रो बने ।

छात्र २ सय मिटर दौडमा मधेशका आदेशकुमार यादव पहिलो भए । उनले २२.८ सेकेन्ड लगाए । सुदूरपश्चिमका चन्द्र बोहरा दोस्रो र वाग्मतीका सन्तबहादुर दराई तेस्रो भए । सोह िस्पर्धाको छात्रामा कोशी प्रदेशकी आरती चौधरीले निर्धारित दूरी २८.२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । सुदूरपश्चिमकी रितु जोशीले रजत र गण्डकीकी एञ्जल अधिकारीले कांस्य जितेका थिए ।

प्रकाशित : वैशाख ६, २०८१ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?