२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

यार्सा टिप्न अवैध बाटो, ७४ जनालाई जरिवाना

मुगु — मुगु र डोल्पाको पाटन क्षेत्रमा अवैध बाटो प्रयोग गरेर यार्सा टिप्न जान थालेका छन् । डोल्पामा जेठ १० गते र मुगुमा जेठ १५ गतेबाट पाटन क्षेत्रको यार्सा संकलन गर्न जाने स्थानीयलाई अनुमति दिने निर्णय गरिएको छ । तर अनुमति लिएर जानेभन्दा अनुमति नलिइ अवैध र जोखिमपूर्ण बाटो प्रयोग गरेर जानेको संख्या समेत बढ्दो छ ।

यार्सा टिप्न अवैध बाटो, ७४ जनालाई जरिवाना

अवैध बाटो प्रयोग गरेर यार्सा टिप्न जाँदै गरेका ७४ जनालाई पक्राउ गरी जरिवाना गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए । साविकको यार्सा टिप्ने जाने बाटो छोडेर जोखिमयुक्त अवैध बाटोबाट यार्सा टिप्न जानेको बिगबिगी रहेको उनले बताए ।

संरक्षण अधिकृत श्रेष्ठका अनुसार जिल्लाभित्र भन्दा जिल्लाबाहिरका स्थानीयले यार्सा चोर्न बढी अवैध बाटो प्रयोग गर्ने गरेको पाइएको छ । उनीहरुले बढी पैसा कमाउने लोभले अवैध बाटो प्रयोग गरेका हुन् ।

मुगुमा पनि यार्सा टिप्न अवैध बाटो प्रयोग गरी धमाधम पाटन जान थालेका छन् । मुगुम कार्मारोङ गाउँपालिकाले जेठ १५ बाट यार्सा टिप्ने स्थानीयलाई अनुमति दिने भन्ने निर्णय गरेको भएपनि पनि जिल्लाबाहिर बाट अवैध बाटो प्रयोग गरेर यार्सा चोर्न जान थालेपछि पालिकालाई रोक्न मुस्किल भएको छ ।

अवैध बाटो प्रयोग गरेर यार्सा चोर्न गएका जुम्लाका एक स्थानीयको लेक लागेर मृत्यू समेत भएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । 'अवैध बाटो प्रयोग गरेर धेरै मान्छे यार्सा चोर्न पाटन पुगिसके,' गाउँपालिकाका अध्यक्ष लामाले भने, 'रोक्न नसकिने अवस्था आइसक्यो । यार्सा चोर्ने व्यक्तिले साविकको कर्णाली नदीको बाटो छोडेर माथि हिमाली क्षेत्रको अप्ठेरो बाटो प्रयोग गरेका छन् ।'

गाउँपालिकाले जेठ १५ पछि जिल्लाबाहिरलाई दुई हजार पाँच सय र जिल्लाभित्रका सर्वसाधारणलाई दुई हजार रुपैयाँ प्रवेश शुल्क लिएर मात्रै यार्सा टिप्न अनुमति दिने नियम वनाएको छ । मुगुम कार्मारोङ गाउँपालिकाको ७ वटा वन क्षेत्र र डोल्पाको निकुञ्जसहित गरेर ३२ वटा क्षेत्रमा यार्सा पाइने गरेको छ ।

प्रकाशित : वैशाख २८, २०८१ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?