कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

पर्यटकको प्रतिक्षामा गिडीदह

डीबी बुढा

जुम्ला — तातोपानी गाउँपालिका-४ स्थित गिडीदहलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न लागिएको छ । पहिलो पटक दहको लम्बाइ, चौडाइ गहिराइ मापन गरेर गिडीदह पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन लागिएको हो । 

पर्यटकको प्रतिक्षामा गिडीदह

दहको नापजाॅचको जिम्मेवारी काठमाडौं विश्वविद्यालयले लिएको थियो । उपप्राध्यापक रामदेवी तचामो शाहको नेतृत्वमा रहेको टोलीले गिडीदहको नौ दिनसम्म अध्ययन गरेको थियो । समुद्री सतहदेखि ३ हजार ४ सय ८५ मिटर उचाइमा रहेको उक्त तालको लम्बाई एक हजार ५ सय १० मिटर रहेको विश्वविद्यालयको टोलीले जनाएको छ ।

काठमाडौं विश्वविद्यालयले बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार गिडीदहमा दुईवटा ताल छन् । सानो गिडीदह र ठुलो गिडीदह । जसमा ठूलो दहको लम्बाइ एक हजार ६० मिटर, चौडाइ तीन सय १० मिटर, गहिराइ ४३.३ मिटर रहेको छ । सानो गिडीदहकै सानो तालको लम्बाइ चार सय ५० मिटर, चौडाइ दुई सय १० मिटर र गहिराइ २१.३ मिटर रहेको छ ।

यो दह समग्रमा क्षेत्र २९.११ हेक्टर क्षेत्रफलमा फैलिएको छ । १८ प्रकारका चरा, सात प्रकारका स्तनधारी जनावर, ७४ प्रजातिका चराचुरुंगी रहेको अध्ययनले देखिएको छ । गिडी दह उचाइका हिसाबले कर्णालीको दोस्रो अग्लो स्थानमा रहेको तालका रूपमा रहेको उपप्राध्यापक शाहले बनाइन् । उनका अनुसार पहिलोमा से–फोक्सन्डो र तेस्रोमा राराताल रहेका छन्।

टोलीले गिडीदहको लम्बाइ, चौडाइ, गहिराइ, जीवजनावर, रुख बिरुवा, क्षेत्रफललगायतको अध्ययन गरेको थियो । कर्णाली राजमार्गको हाँकुबाट गिडी दहसम्मको दूरी २९ किलोमिटर रहेको छ । यो दूरीमा फुलचौल्या, बाइस पाटनलगायतका पर्यटकीय क्षेत्र छन्। गिडीदहमा पूर्वाधार विकासका लागि डीपीआर, वातावरणीय प्रभाव मूल्यांकन लगायतका काम भइसके पनि रकम अभावका कारण पूर्वाधार निर्माण हुन नसकेको तातोपानी-४ का वडाध्यक्ष अमर रोकायाले बताए ।


दहको नापजाँचसंगै पर्यटकलाई निम्तो दिन सहज भएको हो । गिडीदहको अध्ययनको लागि १५ लाख रुपैयाँ खर्च भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए । जसमा राष्ट्रिय ताल विकास समितिको ५ लाख र गाउँपालिकाको १० लाख रुपैयाॅ लगानी भएको हो । यो वर्षमै गिडी दह जाने २७ सय मिटर घोरेटो बाटो निर्माण भइसकेको छ ।’

अध्ययन टोलीले गिडीदहमा डुंगा समेत चलाएको थियो । घनाजंगलको बिचमा गिडीदह भएकोले वरिपरिको वातावरण झनै हेर्न लायक देखिएको छ । गत बर्ष गिडीदहमै मिडिया सम्मेलन समेत भएको थियो ।

प्रकाशित : वैशाख १४, २०८१ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?