३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

अतिक्रमित कोहलपुर नगर विकास समितिको जग्गा फिर्ता ल्याउने तयारी

रूपा गहतराज

नेपालगञ्ज — लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको जग्गा स्थानीय सरकार र गृह प्रशासन मिलेर फिर्ता ल्याउने भएका छन् । कोहलपुर नगरपालिकाको आयोजनामा आइतवार भएको सर्वदलीय-सर्वपक्षीय बैठकमा अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा फिर्ता गर्ने सहमति भएको हो ।

अतिक्रमित कोहलपुर नगर विकास समितिको जग्गा फिर्ता ल्याउने तयारी

अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा फिर्ता गर्नू भन्नु गृह मन्त्रालयको परिपत्रबमोजिम जिल्लाका सरोकारवालाले यस्तो निर्णय गरेका हुन् ।

गएको वैशाख ७ गतेको पत्र अनुसार स्थानीय प्रशासनले बाँकेका आठवटै पालिकालाई पत्राचार गर्दै सार्वजनिक सरकारी प्रकृतिका जग्गा अतिक्रमण भएको भए जग्गाको विवरण र अतिक्रमणको प्रकृति समेत खुलाई सात दिनभित्र जानकारी गराउन परिरपत्र गरेको छ। गृह मन्त्रालयको पत्र र जिल्ला प्रशासनको पत्रलाई समेत आधार बनाएर कोहलपुर नगरपालिका र जिल्ला प्रशासन कार्यालयले नगर विकास समितिको नाममा रहेको कोहलपुर क्रिकेट मैदान क्षेत्रको अतिक्रमित जमिन तत्काल फिर्ता गराउने भएका हुन् ।

जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख सम्मेलित उक्त बैठकमा सहभागीहरुले सरकारी नाममा रहेको जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएकाले गृह प्रशासनले साथ दिनुपर्नेमा जोड दिए । उनीहरुले सरकारी जग्गा संरक्षण गर्नु गृह प्रशासनको समेत दायित्व भएकाले कसैको दवावमा नपरेर कानुन कार्यान्वयन गर्नमा जोड दिए । लुम्विनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले सरकारी जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताए ।

यस्तै प्रदेशसभा सदस्य बसन्ती अधिकारीले वास्तविक सुकुम्बासीहरुको व्यवस्थापन गरेर क्रिकेट मैदान क्षेत्रमा भएको सरकारी जग्गा अतिक्रमण हटाउनु पर्ने बताइन् । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले निश्चित व्यक्तिको नाममा नगर विकासको जग्गा अतिक्रमण भइरहेको भन्दै त्यस्ता व्यक्तिको पहिचान गरेर गृह प्रशासनले कारबाही गर्नुपर्ने बताए । उनले सुकुम्बासीको नाममा केही राजनीतिक दलका निश्चित व्यक्तिहरुले फाइदा लिने काम गरिरहेको भन्दै अतिक्रमण हटाउने सवालमा स्थानीय सरकार र गृहप्रशासनलाई पार्टीको सहयोग हुने प्रतिवद्धता जनाए ।

नेकपा एमालेका कोहलपुर नगर अध्यक्ष कुल बहादुर भट्टराईले पनि अक्रिमित संरचना हटाउने सवालमा पार्टीको एक्यबद्धता रहेको जनाए । यहाँ सबै राजनीतिक दलहरुले सरकारी अतिक्रमित जग्गा फिर्ता ल्याउनुपर्नेमा जोड दिएका छन् ।

नगर विकास समितिको जग्गामा सात सय ५१ घर टहरा निर्माण गरिएका छन् । तीमध्ये भूमिहीन दलित १७ जिल्लाका एक सय ७२ घरधरी, १८ जिल्लाका एक सय ६३ घरधुरी भूमिहीन सुकुम्बासी र २७ जिल्लाका चार सय १६ घरधुरी अव्यवस्थित बसोबासी रहेका छन् ।

प्रकाशित : वैशाख २४, २०८१ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?