३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

पाल्पामा वैशाख महिनामा मात्रै ३ हजार ५ सय ८६ हेक्टर जंगल डढेलोले सखाप

५० बढी घरगोठ जल्यो, तीन घाइते
माधव अर्याल

पाल्पा — वैशाख महिनामा पाल्पामा मात्रै ३ हजार ५ सय ८६ हेक्टर जंगल डढेलोले सखाप भएको छ । मानव बस्ती, पक्षी, चौपाया मात्र होइन तीन जना डढेलो निभाउन गएका नागरिक घाइते भएका छन् । 

पाल्पामा वैशाख महिनामा मात्रै ३ हजार ५ सय ८६ हेक्टर जंगल डढेलोले सखाप

वैशाख महिना सुरु भएसँगै पाल्पामा डढेलो लाग्न सुरु भएको हो । त्यसयता १ सय २७ स्थानमा डढेलो लागिसकेको छ । डिभिजन वन कार्यालय पाल्पाका अनुसार पछिल्ला दिनमा पानी नपर्ने र सुख्खा खडेरीसँगै चर्को घाम र हावाहुरीले गर्दा डढेलो जताततै फैलिएको हो । सबै भन्दा धेरै तिनाउ गाउँपालिका क्षेत्रमा ३० स्थानमा डढेलो लाग्दा ९ सय ८९, माथागढीमा ६ सय ४, तानसेनमा ४ सय ९५, रामपुरमा ४ सय ५६ हेक्टर क्षेत्रफल जंगलमा डढेलो लागेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

रैनोदेवी छहरामा २ सय ७४, रम्भामा १ सय २९, पूर्वखोलामा ९४, रिब्दीकोटमा ८१, निस्दीमा २३, बगनासकालीमा ७१ हेक्टर क्षेत्रफलमा डढेलो लागको छ । डढेलो निभाउने क्रममा रैनादेवी छहरामा दुई र माथागढीमा एक जना घाइने भएका छन् । जिल्लामा ५० बढी घरगोठ जलेर नष्ठ भएको छ । ३० बढी पशुचौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ । तिनाउमा दुई वटा कटेज जलेको छ । पूर्वखोला गाउँपालिकामा घरगोठ र पशुचौपायाको बढी क्षति पुगेको डिभिजन वन कार्यालयका सूचना अधिकारी संयोग बस्नेतले जानकारी दिए ।

माथागढी गाउँपालिका, रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकामा घरगोठमा क्षति पुगेको छ । निस्दी गाउँपालिकामा खानेपानीको पाइप जलेर क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अधिकांशले बारीमा लगाएको आगो जंगल पसेको, जंगलमा डढेलो लागेको देखेपछि बस्ती जोगाउने नाममा अर्कोतिरबाट आगो लगाउने समस्या छ ।

दाउरा तथा वन्यजन्तु भगाउने नाममा जंगलमा आगो लगाउने समस्या भएको डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भटराईले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयले १८ जना डढेलो लगाउनेलाई नियन्त्रणमा लिए पनि तत्काल छाडेको छ । कतिपय उमेर नपुगेका र वृद्धवृद्धाले समेत आगो लगाइदिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २४, २०८१ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?