कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

नक्कली लाइसेन्स प्रकरणमा बुटवलका दुई कर्मचारीमाथि अनुसन्धान सुरु

घनश्याम गौतम

बुटवल — नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा पक्राउ परेका बुटवलका दुई कर्मचारी माथि अनुसन्धान सुरु भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली लाइसेन्स प्रकरणमा अहिलेसम्म तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सोमबार यातायात व्यवस्था कार्यालय बुटवलमा शाखा अधिकृत पदमा कार्यरत नारायण पाण्डेलाई सीआईबीले पक्राउ गरेको थियो । उनी माथि मंगलबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । यसअघि गत शुक्रबार हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आइटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात व्यवस्था सवारी कार्यालय बुटवलमा इन्जिनियर पदमा कार्यरत करारका कर्मचारी हरिश भट्ट पक्राउ परेका थिए । शुक्रबार र आइतबार पक्राउ परेका २ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट म्याद पाएको र पाण्डेलाई मंगलबार म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय बुटवलबाट कर्मचारी र कम्प्युटर इन्जिनियरको सहयोगमा ट्राफिक प्रहरीको कारबाहीबाट यातायात कार्यालय ल्याइएका लाइसेन्सको कीर्ते गरी सोही नम्बरमा अर्को लाइसेन्स जारी गर्दै बिक्री गर्ने गरेको फेला परेको थियो । प्राप्त सूचनाहरू अध्ययन गर्दा कैफियत देखिएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरिएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताए । ‘केही सुचनाहरू प्राप्त भएका छन्,’ उनले भने, ‘त्यसकै आधारमा पक्राउ गरी अनुसन्धान सुरु गरेका छौं, अहिले अनुसन्धान जारी नै छ ।’

यातायात व्यवस्था विभागले उपसचिव मुकेश रेग्मीको संयोजकत्वमा समिति गठन गरी नक्कली लाइसेन्सबारे छानबिन गरिरहेको छ । विगत ८ वर्षमा १ लाख भन्दा बढी नक्कली लाइसेन्स जारी भएको र ति मध्ये धेरै बुटवलबाट जारी भएको देखिएको छ । बुटवलमा लक्ष्मण पाण्डे नाम गरेका करारका पूर्व कर्मचारीले लाईसेन्स बिक्री गर्ने धन्दा नै चलाएको स्रोतको दाबी छ । उनी अहिले काठमाडौंमै बसेर आफू अनुकुलका कर्मचारी सरुवा गर्ने र त्यसकै आधारमा नक्कली लाइसेन्सको धन्दा चलाउने गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत १ लाख भन्दा बढी लाइसेन्समाथि छानबिन गरिरहेको छ । सोही छानबिनका लागि भन्दै आइटी इन्जिनियर अर्याललाई अख्तियारले छानविनमा सहयोगका लागि काजमा अख्तियार कार्यालयमै लगेको थियो । तर, अनुसन्धानमा उनी पनि १ लाख नक्कली लाइसेन्स प्रकरणमा जोडिएपछि पक्राउ गरिएको स्रोतले बतायो ।

प्रकाशित : वैशाख १८, २०८१ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?