१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

बुटवलमा चार भाषामा नागरिक बडापत्र

सन्जु पौडेल

तिलोत्तमा — बुटवल उपमहानगरपालिकामा मुख्य चार भाषामा नागरिक बडापत्रको व्यवस्था गरिएको छ । विभिन्न भाषाभाषीका सेवाग्राही कार्यालयमा आउने भएकाले उनीहरुको सहजताका लागि उपमहानगरपालिकाले मंगलबारदेखि सञ्चालन हुनेगरी नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सार्वजनिक गरेको उपमहानगर प्रमुख  खेलराज पाण्डेयले बताए ।

बुटवलमा चार भाषामा नागरिक बडापत्र

प्रमुख पाण्डेयले जनसंख्याको आधारमा ४ भाषामा बडापत्र राखिएको र आगामी दिनमा अरु केही भाषाका बडापत्र राख्ने गरी तयारी भएको बताए । 'अहिले हामीले बुटवलमा बोलीचालीमा रहेका मुख्य ४ भाषाको बडापत्र तयार गरेका छौं,' उनले भने, 'आगामी दिनमा आवश्यकताअनुसार अरु भाषामा पनि बडापत्र तयार गरेर सबैलाई अपनत्व महसुस गराउन प्रयास गरिनेछ ।' उनले स्थानीयस्तरमा थारु, मगर र नेपाल भाषाको बोलीचालीअनुसार स्थानीय विज्ञहरुको संलग्नतामा बडापत्र तयार गरिएकोले भूगोलअनुसार भाषामा फरक आउनसक्ने बताए ।

'बुटवलमा बोलिने र चलनचल्तीमा रहेका भाषा र अन्यत्रका भाषामा मेल नखान सक्छ भन्ने विज्ञहरुकै सल्लाहअनुसार बुटवलमा प्रयोगमा आउने बडापत्र बनाएकको उनको भनाइ छ ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले सबै जाति भाषा संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ४ भाषामा बडापत्र तयार गरिएको बताइन् । उनले बुटवलले आगामी दिनमा अरु भाषामा बडापत्र तयार गर्ने र त्यसका लागि सल्लाहको अपेक्षा रहेको बताइन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार बुटवल उपमहानगरमा नेपाली भाषा बोल्ने ७८.७, मगर भाषा बोल्ने ६.८ नेपाल भाषा बोल्ने ३ र थारू भाषा बोल्ने ४.९ प्रतिशत जनसंख्या रहेको छ । बडापत्रको प्रयोगले सेवाग्राहीले आफ्नो कामको सम्बन्धमा सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्नेछन् ।

आफूले प्राप्त गर्न खोजेको सेवा सो बडापत्रमा हेरेपछि त्यसका लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ ।

प्रकाशित : वैशाख ११, २०८१ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?