सबैको पहुँचमा छैनन् पूर्वाधार

प्रकाश बराल

बागलुङ — बागलुङ नगरपालिकाले मुख्य बजार रहेको वडा नं २ को आबारोड, अस्पताल रोड र मरेपिपलमा पक्की नाली, सडक चौडा र फुटपाथ बनाइरहेको छ । चालु आर्थिक बर्षको नगरपालिकाको ८५ लाख र उपभोक्ताको सहभागिता समेत गरी १ करोड लागतमा फुटपाथ निर्माण भैरहेको हो।

सबैको पहुँचमा छैनन् पूर्वाधार

फुटपाथमा अपांगमैत्री टेक्सटायल पनि बिच्छाएको छ । यो टायलमा टेकेर दृष्टिविहीनले पनि यात्रा गर्न सक्नेछन् । तर यो टायल बिच्छ्याएको स्थानको बीचैमा रहेका बिद्युतका खम्बा भने हटाइएको छैन । बाटैमा अबरोध छ । तत्काल ती पोल हटाउने योजना समेत छैन ।

सेतो छडी टेकेर हिड्ने दृष्टिविहीन मात्र होइन, सामान्य नागरिक पनि पोलमा ठोक्किएर घाइते हुने खतरा छ । फुटपाथ कतिपय घरको भित्तामा पुगेर ठोकिन्छ । मापदण्ड मिचिएका घरको पेटीमा पुगेपछि फुटपाथ मेटिएको छ । एक फिट अग्लो सिँढीबाट फेरि सडकमा झरेर हिड्नुपर्ने बाध्यता छ । यो फुटपाथमा न ह्विलचियर प्रयोगकर्ता जान सक्छन् । न जेष्ठनागरिक हिड्न सक्छन् ।

मुख्य बजार क्षेत्रमै आफू खुसी बनेका घरले सडक छेवैसम्म ओगटेका छन् । हरेक घरको छुट्टाछुट्टै आँगन छ । त्यहाँ एकरुपता छैन । कतै अग्लो र होचो । आफ्नो घरमा आउन नदिन ढिला लगाइएको छ । त्यसैले पैदल यात्रीले फुटपाथ छाडेर कालोपत्रे सडकनै प्रयोग गर्छन् ।

‘साँघुरो सडकमै पैदल यात्री हिड्ने भएपछि ट्राफिक जाम भएर हैरान परिन्छ’ सवारी चालक शिव पाठकले भने, ‘त्यसैमा ठाउँठाउँमा दोहोरो पार्किङ गरिएका छन् ।’ केही स्थानमा पार्किङकालागि ठाउँ छुट्टयाइएको छ, तर सडकभरीनै पार्किङ भैरहेको हो । हरेक दिन एकतर्फी नो पार्किङको नियम समेत छ । तर दोहोरो पार्किङले सडकमा दुर्घटनाको जोखिम समेत बढेको स्थानीयले गुनासो गरे ।

जिल्ला प्रशासनको भवन तीन तलाको छ । सभाहल तेस्रो तल्लामा बनेको छ । प्रमुख जिल्ला अधिकारी र सहायक प्रजिअको कक्ष दोश्रो तलामा छ । यहाँ पुग्न सिंढी चढ्नुपर्छ । ह्विल चियर प्रयोग गर्नेहरु गुनासो सुनाउन प्रमुखको कक्षमा पुग्न सक्दैनन् । दृष्टिविहीनहरुलाई पनि भर्‍याङमा चढ्ने संकेत छैन । चारबर्षदेखि यो भवन प्रयोगमा आएको हो ।

नेपाल सरकारले भने ‘भौतिक संरचना संचार सेवा निर्देशिका २०६९’ जारी गरेको छ । उक्त निर्देशिकामा हरेक कार्यालय अपांग र सांग व्यक्तिको पनि पहुँचयुक्त हुनुपर्ने प्रावधान राखेको छ । ‘तीन चार तला माथीको सभाहल पुग्न जेष्ठ नागरिकलाई पनि अप्ठ्यारो छ, अपांगको के कुरा भयो र?’ अपांग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज सुवेदीले भने, ‘सेवा उपयोगमा पहुँचको बिकास भएन भन्ने धारणा बिकास नभएसम्म यस्ता संरचना बनिरहन्छन्, तर लक्षित बर्गको उपयोगविहीन हुन्छन् ।’

उनले अबरोधमा बाँच्न कोहीपनि नचाहने उनले बताए । उक्त सभाहलमा आफू जान नसकेको शारिरीक अपांगता भएका धर्मराज आचार्यले पनि गुनासो गरे । आचार्यको दुवै खुट्टा अपांगता छ । दुइवटा लठ्डीको भरमा उनी हिड्छन् ।

बागलुङकै जैमिनी र गलकोट नगरपालिकाले प्रशासनिक भवन बनाइरहेका छन् । ती भवनमा पनि पहुँचयुक्त संरचना नबनेको अपांग महासंघले गरेको अनुगमनमा भेटिएको सुवेदीले बताए । ह्लि चियर जाने र्‍याम मात्र नभइ शौचालय समेत अपांग मैत्री नभएको भेटिएको हो । निर्देशिका अनुसार शौचालयको ढोका न्युनतम ३ फिटको हुनुपर्ने नियम समेत पालना नभएको उनले बताए । शौचालयहरु भुइको सतह देखि एक फिट अग्लो स्थानमा छन् ।

जिल्ला अदालतका सबै इजलाल माथिल्लो तलामा छन् । न्यायाधिसको च्याम्बर पनि माथिल्लै तलामा रहेको छ । बुधवार दुर्घटनामा घाइते लाई इजलास सम्म लैजान नसकेपछि बिरामीको एम्बुलेन्समै बकपत्र गराइएको थियो । जिल्ला अदालतको शौचालय त झनै साँघुरा छन् । ती शौचालयमा ह्विलचियर प्रयोगकर्ता छिर्नै सक्दैनन् ।

‘कतिपय सेवाग्राही काम बिशेषले आए भने शौचालय जानै सक्दैनन्’ अदालतका एक कर्मचारीले भने । जिल्लाका दर्जनौ संरचना अपांग, जेष्ठ नागरिक र बालबालिकाको पहुँच भन्दा टाढा रहेको मानवअधिकार संगठन बागलुङकी अध्यक्ष लक्ष्मी जिसी कार्कीले बताइन् । ‘बालबालिकाले भेट्न नसक्ने स्थानमा धाराको टुटी र शौचालयको चुकुल बनाइन्छ’ उनले भनिन्, ‘गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्ने स्थान समेत सहज पहुँचका छैनन् ।’

सरकारको निर्देशिका जारी भएको र भवन निर्माण संहिता समेतले अपांगता मात्र नभइ सबैप्रकारका नागरिकको पहुँच युक्त भौतिक संरचना बन्नुपर्ने प्रावधान छ । तर प्राविधिकले धेरै खर्च लाग्ने बाहनामा अधिकांश संरचनाको नक्सा समेत नबनाएको जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले बताए । ‘यो वास्तविक आवस्यकता रहेछ, जे पुगेको छैन, त्यो बनाउने प्रयास गर्छौ’ पुनले भने, ‘सबैभन्दा पहिला प्राविधिकले यो निर्देशिका पालना गर्नैपर्छ ।’

सडक निर्माणको बेलापनि ग्रेड नमिलेको, जोखिमको जमिन प्रयोग भएको पाइएमा परिमार्जन गर्न लगाउने उनले बताए । कतिपय कार्यालयले भने पुरानो भवन भनेर उम्कने प्रयास गरेका छन् । सघन सहरी बिकास कार्यालयले निर्माण गरेका भवन समेत पहुँच युक्त नभएको भेटिएको हो ।

हालै बेनीमा बनेको टर्मिनल भवन देखि धौलागिरी अस्पतालको भवनमा समेत बिरामीको सहज पहुँच अभाव रहेको, बिद्यालयका भवनहरु अधिकांस पहुँचमा नरहेको बिद्यामन्दिर माबिका शिक्षक बिकल थापाले बताए । थापा दृष्टि सम्बन्धी अपांग छन् ।

प्रविधि तथा सामाजिक बिकासको क्षेत्रमा पनि अपांगता भएकाहरुलाई समावेश नगरी काम गरिएको भेटिएको हो । कम्पयुटर तालिम लिनु परेमा दृष्टिबिहिन, बहिरा र शारिरीक अपांगलाई छुटाउने गरिएको थापाको गुनासो छ । ‘हामीलेपनि कम्प्युटर सिक्न र कामगर्न सक्छौं’ थापाले भने, ‘एउटा सफ्टवेयर जडान भएपछि सबै काम गर्न सकिन्छ ।’ पहुँच नपुग्ने बाहनामा नीति निर्माणकै चरणमा समेत सबैको सहभागितालाई वेवास्ता गरिएको उनले टिप्पणी गरे ।

प्रकाशित : वैशाख १६, २०८१ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?