२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ चोरी

भूषण यादव

वीरगन्ज — नबिल बैंकको वीरगन्जको बाइपास रोडमा रहेको शाखाबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको छ । बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ ।

आइतबार राति बैंकको ताल्चा फुटाई चोर भित्र प्रवेश गरेका थिए । प्रहरीका अनुसार वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको छ ।

प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार चोरले टिनको बक्सा फुटालेर एक सय र बीस रुपैयाँको नोट चोरेका हुन् । ‘बैंकको भल्ट सुरक्षित नै छ,’ पर्सा प्रहरी प्रवक्ता समेत रहेका थापाले भने, ‘सय र बीसको नोट राखिएको टिनको बक्सा काटेर पैसा चोरी भएको देखिएको छ ।’ अनुसन्धानमा खटिएका प्रहरीका अनुसार चोरले ४/५ वटा बोरामा हालेर पैसा लगेका छन् । बैंकको ताल्चा फुटाएका चोरले चोरी गरि फर्किने क्रममा गेटमा नयाँ ताल्चा लगाइदिएका थिए ।

सोमबार बिहान बैंकको गार्डले ताल्चा खोल्दा नयाँ ताल्चा लगाइएको पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको रोहबरमा नयाँ ताल्चा खोलेर बैंक भित्र प्रवेश गर्दा पैसा चोरी भएको पाइएको थियो । सोमबार चोरी भएको पैसा एकिन गरि बैंकले प्रहरीमा जाहेरी दिएको हो । डीएसपी थापाका अनुसार प्रहरीले बैंकमा भएको चोरीको घटनाको सम्बन्धमा अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित : वैशाख १८, २०८१ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?