२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’ [तस्बिरहरू]

राजकुमार कार्की, रासस

काठमाडौँ — सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् ।

प्रधानमन्त्री दाहालले टीबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न पसेको टीबीएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएको थियो । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुङ्ग्रीसम्म सुरुङ रहेको छ । यसको क्षेत्रफल १३ दशमलव ३ किलोमिटर छ ।

सुरुङ खन्न २२ महिनाको लक्ष्य लिइएकामा ३ महिना २ दिनअगावै सम्पन्न भएको छ । एकै दिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनाले जनाएको छ । ०७९ असोज २८ बाट सुरु भएको सुरुङ खन्ने काममा ६ पटक अवरोध भएको थियो । ०७७ फागुन २० मा कमलामाई–२ को कसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भई आयोजना निर्माणको थालनी भएको थियो ।

उच्च प्रविधिबाट ५ दशमलव ५ डायमिटरको सुरुङमा पानी हाल्न सुनकोशी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माणको काम जारी छ । सुरुङमार्फत मरिणखोलामा सुनकोशीको पानी प्रतिसेकेन्ड ६७ क्युसेक खसालिनेछ । त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ०७ मेगावाट बिजुली उत्पादन गरिनेछ ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले टनेल बोरिङ मेसिनले सुरुङ खनेको हो । सुरुङ खन्न मात्रै चाइना ओभरसिज कम्पनी कोभेकले मूल्य अभिवृद्धि करबाहेक १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा ठेक्का सकारेको थियो ।

१५ अर्ब ५९ करोड ४० लाख रुपैयाँको सुरुङ निर्माण कोभेकले ३६ प्रतिशत घटेर ठेक्का लिएको हो । नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिणखोलामा खसाली मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

विद्युत् उत्पादनसँगै वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको मुख्य उद्देश्य छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड छ ।

प्रकाशित : वैशाख २६, २०८१ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्