जाजरकोट भूकम्प : लयमा फर्कँदै 'इपिसेन्टर'
काठमाडौँ — गत कार्तिक १७ गते मध्यरातमा गएको भूकम्पको केन्द्रबिन्दु जाजरकोटको फुलबारी लेकै मुन्तिरको रमाइलो सुन्दर मगरबस्ती सिर्पाचौरमा पुन र घर्ती समुदायको १ सय ९० घरधुरी छ । अहिले सिर्पाचौरका खेतबारी जौ र गहुँ पाकेर पहेँलपुर छ ।
इपिसेन्टर नजिकै भए पनि मानवीय क्षति नभएको यो बस्ती जिल्लाकै सबैभन्दा उचाइमा रहेको सुन्दर बस्ती हो । यो बस्ती समुद्र सतहदेखि २३ सय मिटर उचाइमा छ । भूकम्प पछि कैयन घर बस्न नमिल्ने गरी चर्केको छ । अस्थायी टहरामा परिवार थन्को लगाएर युवा कमाइ गर्न बाहिर गएका छन् । कति दसैंमा फर्कने गरी कालापाहाड झरे भने कतिपयले भूकम्पले कमै चर्केका घरमै गुजारा गरिरहेका छन् ।
भूकम्पले भत्काए पछि स्लेटले छाएको मौलिक घर रहन्छ कि रहँदैन कि भन्ने चिन्ता गाउँलेमा छ ।