२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

धुलाम्य सडकले सास्ती

पाठक पत्र

काठमाडौंबाट नौबिसे हुँदै नारायणगढ जाने सडक होस् कि सूर्यविनायक हुँदै धुलिखेल जाने सडक, स्तरोन्नति गर्ने भन्दै जताततै भत्काइएका छन्, कतिपय ठाउँमा आफैं भत्किएका छन् । स्तरोन्नतिको काम भने अत्यन्तै सुस्त छ । त्यही कारण यी सडक भएर यात्रा गर्दा यात्रुले सास्ती खेप्नुपर्छ । घाम लाग्दा ती सडक धुलाम्मे र पानी पर्दा हिलाम्मे हुन्छ ।

धूलोले आसपासका बस्ती कुरूप बनेका छन् । सडक निर्माण गर्दा धूलो निस्कने ठाउँमा दिनको तीन/चार पटक पानी हाल्नुपर्ने सर्त ठेकेदारसामु राखिन्छ तर पानी हालेको वा नहालेको कुनै अनुगमन हुँदैन । सडकलाई विकासको मेरुदण्ड मानिन्छ तर त्यही विकासको काममा ढिलाइ गरिन्छ । समयमै काम सम्पन्न नगर्ने ठेकेदारको सम्झौता रद्द गर्नुको सट्टा झन् म्याद थप गर्ने परिपाटी छ ।

समयमै स्तरोन्नति नगरिएका सडकमा गाडी चलाउँदा सवारी चालकले धूलोबाट जोगिन सधैं ज्याकेट लगाइरहेको देखिन्छ । जति नै गर्मी भए पनि यात्रुले गाडीको सिसा खोल्दैनन् । यस्तो सास्ती छिटो हटाउन सम्झौतामा तोकिएको मितिमै निर्माण सक्न ठेकेदारलाई ताकेता गर्नुपर्छ, काम नसके कारबाही गर्नुपर्छ । निर्माण सम्पन्न भइसकेका कामको भुक्तानी पनि सरकारले ठेकेदारहरूलाई समयमै दिनुपर्छ ।
– तिलप्रसाद न्यौपाने, माछापोखरी चोक, काठमाडौं

प्रकाशित : वैशाख २६, २०८१ ०६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?