कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

थाहै नपाई गयो श्रमिक दिवस

पाठक पत्र

चुरेमा बस्छौं । अरू विकासझैं सञ्चारमाध्यमले पनि टाढा बनाएको छ चुरेलाई । जीवन नै कृषि कर्ममा बित्न लाग्यो । बिहानदेखि साँझसम्म खेतीमै व्यस्त । पुस्ताले यही सिकाए । यति जानियो । र, यही पेसा अँगालियो । आफ्नो भूमि छ्रैन । तर पनि पर्ती, ऐलानी र अरूको जमिन भए पनि माटोको माया लाग्छ । अनि त्यही माटो खोस्रिएर जीविका धान्छौं ।

थाहै नपाई गयो श्रमिक दिवस

अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन पनि बिहानदेखि साँझसम्म खेतीमै बिते । म मात्र होइन, धेरै किसानको अवस्था उस्तै थियो । धेरैले वैशाख १९ मा श्रमिक दिवस मनाए । तर हामीले थाहा नै पाएनौं । किन कि हामी मजदुर हौं । मजदुरी नगरी छाक टर्दैन । छाक टार्ने मेसो मिलाउँदा मिलाउँदै आफ्नै दिवस थाहा पाउँदैनौं ।

हामी श्रमिक सधैं दुःखमा छौं । चाहे कृषक हौं या गैरकृषि श्रमिक । हामी असाध्यै श्रम गर्छौं । तर हामीले गरेको श्रमको मूल्य छैन । आफूले जोतेको माटो आफ्नो छैन । हामी नै हौं । बाटो, पुल र पुलेसा अनि ठुल्ठूला भवन बनाउने । तर न हामी हिँड्ने बाटो नै आफ्नो छ न घर । मजदुर दिवस पनि हाम्रा लागि भएन । त्यही मजदुरलाई काम लगाएर महलमा बस्ने, किसानले उब्जाएको अन्नले भकारी भर्नेहरूले नै मनाए । अब हामीले पनि खुसीले श्रमिक दिवस मनाउन कहिले पाउने ?

म र म जस्तै श्रमिकहरूलाई मजदुर दिवस मनाउन त मनलाग्ने थियो नि ! दुर्भाग्य, भोको पेट, असुरक्षित बसाइ । उठीबास र बेदखलको डर । कसरी, कहाँ गएर मनाउने श्रमिक दिवस ? हामीलाई त श्रमिक दिवसभन्दा पनि हाम्रो श्रमको मूल्य चाहिएको छ । हामीले खन्ने माटोको अधिकार चाहिएको छ ।

सधैं माटोमा श्रम गर्ने । अन्न उब्जाउने हामी किसानले कहिले आफ्नो जमिन र बासस्थान हो भनेर बस्न पाउने ? श्रमिकको कुरा कि यस्ता श्रमिक दिवसमा उठ्छ, कि चुनावी नारा बनाउने काम मात्र हुन्छ । अनि हामी श्रमिकले कसरी मनाउने श्रमिक दिवस ?
– वीरबहादुर विक, बर्दिबास–१०, खयरमारा, महोत्तरी

प्रकाशित : वैशाख २१, २०८१ ०५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?