२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

पहाडी भेगमा खानेपानीकै पिरलो

सम्पादकीय

पहाडी भेगका अधिकांश बस्तीले धेरथोर झेल्दै आएको समस्या हो– खानेपानीको अभाव । धेरै परिवार बर्खायाममै पनि स्वच्छ खानेपानीको पहुँचबाट टाढा छन् । सुक्खायाममा त भएका मुहानसमेत सुक्छन् । खाना पकाउने र पिउने पानीकै जोहो कसरी गर्ने पिरलोमा गुज्रनुपर्छ, बालीनालीका लागि सिँचाइ त परको कुरा भयो । खेतीपाती आकाशेपानीमा निर्भर हुँदै गएको छ ।

पहाडी भेगमा खानेपानीकै पिरलो

पहाडी क्षेत्रमा बसाइँसराइ दर निरन्तर बढ्नुको एउटा मुख्य कारण खानेपानी अभाव नै हो । पानी अभावले पहाडी क्षेत्रको सामाजिक, आर्थिक र जनसांख्यिक अवस्थामै नकारात्मक असर पारिरहँदा न स्रोत संरक्षणमा पर्याप्त ध्यान पुगेको छ, न भएको पानी पनि अधिकतम नागरिकको पहुँचमा पुर्‍याउन यथोचित पहल हुन सकेको छ ।

जलवायु परिवर्तनको प्रभावस्वरूप विश्व तापमान बढिरहेको छ । हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घट्दै गएको छ । पानीको मुहान सुक्ने क्रम पनि बढिरहेको छ । विकास निर्माणको शैलीले पनि पानीको स्रोत सुक्ने दर बढाइरहेको छ । सडक लगायतका पूर्वाधार जथाभाबी निर्माण गर्ने क्रम पछिल्लो समय बढेको छ । सडक निर्माण गर्दा नै पानीको भूमिगत बाटो बिथोलिन सक्छ, त्यसमाथि एक्स्काभेटर लगायतका मेसिन चलाइन्छ । कतिपय क्षेत्र भूकम्पले पानीको स्रोत सुकाएको छ । पानी अभावले कृषि क्षेत्रमा उत्पादकत्व घटिरहेको छ । यसपालि त हिउँद झनै सुक्खा बन्यो । त्यसपछि पनि पानीको मूल फुटाउने गरी वर्षा भएको छैन । त्यसैले यति बेला धेरै क्षेत्रमा खानेपानीको चरम अभाव छ । खानेपानी ओसार्न घण्टौं धाउनुपर्ने, लाम लागेर पानी थाप्नुपर्ने बाध्यता चुलिँदो छ । बल्लतल्ल ल्याइएको पानी स्वच्छ छ कि छैन भन्नेतिर सोच्नसमेत सक्ने अवस्था छैन । पिउने पानीकै लागि संघर्ष गर्नुपर्ने भएपछि सरसफाइमा ध्यान पुग्न सक्ने पनि भएन । यसले स्वास्थ्य समस्या निम्त्याउने जोखिम उच्च बनाएको छ । पानीको चरम संकटका बीच भूमिगत पानीको अनियन्त्रित दोहन पनि बढेको छ । खानेपानी कतिपय ठाउँमा परिवार–परिवार, गाउँ–गाउँबीच द्वन्द्वको कारणसमेत बनेको छ ।

पानीको अभावका कारण बसाइँ सर्दा कैयन् बस्ती पातलिएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार ३४ जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक छ, तीमध्ये अधिकांश खानेपानीको संकट भोगिरहेका जिल्लामा पर्छन् । २०६८ को जनगणनामा ऋणात्मक जनसंख्या वृद्धिदर भएका जिल्ला २७ वटा थिए । बसाइँसराइ दर घटाउने लक्ष्यका साथ विभिन्न क्षेत्रमा खानेपानी आयोजना सञ्चालन नगरिएका होइनन् । तर ती आयोजनामध्ये कुनै बिग्रिएपछि मर्मत गरिएका छैनन्, कुनै आयोजनाका लागि पानीको स्रोत नै सुकेको छ । जस्तो– पाँचथरको भारपाका बासिन्दालाई खानेपानी आपूर्ति गर्न ३० करोड रुपैयाँ लागतको खानेपानी आयोजना सञ्चालन गरिएको थियो । तर १२ वर्ष नबित्दै आयोजनाको मुहान नै सुक्यो । अहिले स्थानीयले खानेपानीको चरम संकट सामना गरिरहेका छन् ।

मुलुकभर खानेपानीका सयौं आयोजना निर्माणाधीन छन् तर कतै काम सुस्त छ, कतै आर्थिक स्रोत अभावले अलपत्र परेको छ । कुनै आयोजनामा विवाद वा आर्थिक अनियमितताले काम अघि बढ्न सकेको छैन । कतिपय गाउँमा नदीबाट जटिल प्रविधिमार्फत पानी तानेरसमेत गाउँमा खानेपानी सुविधा पुर्‍याइएको छ । तर बिजुली नियमित नहुने, मेसिन बिग्रने जस्ता समस्या आउँदा पानी आपूर्ति रोकिन्छ । विद्युत् खपत हुने भएकाले यस्तो आयोजना खर्चिलो पनि हुन्छ । जसोतसो खानेपानीको आपूर्ति भए पनि खेतबारी बाँझिएपछि मानिस बसाइँ सर्न बाध्य हुँदै गएका छन् । पछिल्लो समय वन डढेलो अनियन्त्रित रूपमा बढ्दै जानुको प्रमुख कारण खेतीपाती घट्दै गएर सुकेका काठ, स्याउला, सोत्तर थुप्रिँदै जानु रहेको विज्ञहरूले औंल्याएका छन् । सुक्खा क्षेत्रमा आगलागी भइहाले नियन्त्रण गर्न उस्तै मुस्किल पर्छ ।

खानेपानी अभावको चर्कंदो समस्या समाधान गर्न हामीसँग सीमित विकल्प छन् । डाँडापाखा अलग्गै रहेको घरसम्म खानेपानी आपूर्ति खर्चका हिसाबले असम्भवप्रायः बन्दै गएको छ । सम्भव भएका बस्तीहरूमा खानेपानी आयोजनामार्फत पानी आपूर्तिको प्रबन्ध यथाशक्य छिटो उपलब्ध गराउनुपर्छ । निर्माणाधीन आयोजनालाई तीव्रताका साथ अघि बढाइनुपर्छ । अलपत्र आयोजनालाई पनि आर्थिक स्रोत व्यवस्थापन गरेर, मर्मतसम्भार गरेर सञ्चालन गर्नुपर्छ । बर्खामा समेत सिँचाइ सुविधा नहुने ठाउँको बसाइँसराइ रोक्न सकिँदैन । तैपनि पानीको स्रोत उचित तरिकाले संरक्षण गर्न सक्यौं भने सुकेका मूलहरू रसाउन सक्छन् । यसका लागि वर्षा–भेलको पानी जम्मा गर्ने गरी नयाँ–नयाँ पोखरी ठाउँ–ठाउँमा बनाउनुपर्छ, सुकेका पोखरीहरू पुनःस्थापना गरिनुपर्छ । ठुल्ठूला मेसिन चलाएर जथाभाबी जमिन खोतल्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्छ ।

प्रकाशित : वैशाख २८, २०८१ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?