कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६१

डढेलो नियन्त्रणका उपाय

डढेलो नियन्त्रणमा लिने उपाय अपनाउने, बस्ती जोगाउने, घाइतेको उपचार गर्ने लगायतमा तालिमप्राप्त समूह परिचालन गर्नुपर्छ । त्यसो हुन सकेमा डढेलोबाट हुन सक्ने ठूलो जनधन, जैविक विविधता तथा वातावरणीय प्रभाव घटाउन सकिन्छ ।

लेखनाथ पौड्यालको वसन्त कवितामा वसन्त ऋतुको बयान मात्रै सुनिन्छ । तर वसन्त त्यति मात्रै होइन । यसको आगमनसँगै प्रकृति नै ध्वस्त पार्ने वन डढेलो पनि हरेक वर्ष फर्किन्छ । मनसुनको समाप्तिपछि सुरु हुने सुक्खायाम गहिरिँदै जाँदा तराईदेखि हिमालसम्मै वन डढेलो देख्न सकिन्छ । कुनै वर्ष वन डढेलो अत्यधिक हुन्छ भने कुनै वर्ष तुलनात्मक रूपमा कम । नेपालमा यस वर्ष डढेलोको प्रकोप पछिल्ला वर्षभन्दा भयावह हुने देखिएको छ । 

डढेलो नियन्त्रणका उपाय

ग्लोबल फायर वाचका अनुसार सन् २००१ बाट २०२३ सम्म संसारभर १३ करोड ८० लाख हेक्टर क्षेत्रफलको वन डढेलोबाट नष्ट भएको छ । यो सो अवधिमा अन्य सम्पूर्ण तरिकाले नष्ट भएको वनको क्षेत्रफलको ३९ प्रतिशतभन्दा धेरै हो । सन् २००० यता नेपालमा वार्षिक ४० हजार हेक्टरभन्दा धेरै वन क्षेत्र डढेलोबाट नष्ट हुने गरेको छ । हालसम्मको तथ्यांक केलाउँदा सन् २००९, २०१६ र २०२१ सबैभन्दा धेरै डढेलो प्रभावित वर्ष रहेका छन् । अहिलेसम्मको

रफ्तार हेर्दा थप केही दिन पानी नपरेको खण्डमा सन् २०२४ ती वर्षभन्दा पनि खराब हुन सक्ने लक्षण देखिएको छ । डढेलोसम्बन्धी शोध प्रकाशन गर्ने जर्नल फायर इकोलोजीमा प्रकाशित अनुसन्धानात्मक लेखमा नेपालमा डढेलो लाग्न सक्ने सम्भावित ठाउँको नक्सांकन गरिएको छ । सो नक्सांकन २००० देखि २०१९ सम्म उपलब्ध वन डढेलोसम्बन्धी तथ्यांक, टोपोग्राफिक सूचना, मौसमसम्बन्धी तथ्यांकलाई समेटेर तयार पारिएको हो । अध्ययनअनुसार चुरे क्षेत्र सबैभन्दा धेरै डढेलोको खतरामा छ । पूर्वको भन्दा पश्चिमतिर डढेलोको खतरा धेरै रहेको छ । त्यसमा पनि दक्षिण फर्केको पहाडी भूभागको वन क्षेत्रमा उत्तर वा अन्य दिशातिर फर्केको वन क्षेत्रमा भन्दा धेरै वन डढेलोको खतरा रहने देखिएको छ ।

हाम्रो देशमा डढेलोका घटना सिजनल हुने गर्छन् । फागुनदेखि जेठसम्म ८० प्रतिशतभन्दा धेरै डढेलोका घटना हुन्छन् । मनसुन अवधिभर खासै डढेलोको खतरा देखिँदैन । मनसुनपछाडि सो क्रम बिस्तारै बढेर लामो सुक्खा हिउँदमा बढ्दै जाने गरेको छ । वसन्त ऋतुसँगै रूखबिरुवाको पात सुकेर झरेको तथा गर्मीले गर्दा झुरुम्म भएर रहेको वन क्षेत्रमा आगोको झिल्का, चुरोट खाएर फालेको ठ्टुा वा वनभोजमा जानेहरूले छाडेको कोइलाबाट आगो सल्किन सक्छ ।

नेपालमा डढेलो लाग्ने प्रमुख कारण मानवजन्य गतिविधिलाई नै पहिचान गरिएको छ । गर्मी तथा सुक्खा मौसम लम्बिँदै गर्दा मानिसले गर्ने दैनिक गतिविधिबाट नै डढेलो सुरु हुने गरेको छ । कतिपय स्थानमा वनमा राम्रो घाँस उमार्नका लागि मात्रै पनि नियन्त्रित डढेलो लगाउने गरिएको छ । कहिलेकाहीं नियन्त्रणबाहिर गएर भयावह अवस्था निम्तने गरेको छ । कतिपय अवस्थामा वन अतिक्रमण गर्नका लागि वा सिकारीले वन्यजन्तु सिकारका लागि समेत डढेलो लगाउने गरेको पाइन्छ ।

डढेलो निभाउने क्रममा हरेक वर्ष कैयौं सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् भने यदाकदा सेना वा प्रहरी जवानसमेत पर्ने गरेका छन् । यस वर्ष तीन जना सैनिकको डढेलोमा परेर मृत्यु भयो । यस्तै घटना सन् २००९ मा समेत भएको थियो । त्यति बेला ९ सैनिकले ज्यान गुमाएका थिए । हरेक वर्ष हुने डढेलोबाट वन तथा जैविक विविधतामा असर पुग्छ भने मानवबस्तीसम्मै पुग्दा थुपै धनजनको क्षति हुने गरेको छ । पहाडी भेगमा बढ्दै गरेको वन क्षेत्र तथा घट्दै गरेको बस्तीमा बसाइँसराइको कारण डढेलो पनि देखिन थालेको छ ।

यस प्रकारका विपद् नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारका अलग्गै निकाय रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जसले देशैभरिका सबै प्रकारका विपद् न्यूनीकरण तथा व्यवस्थापनको जिम्मा पाएको छ । तर, हालसम्म यसले डढेलो नियन्त्रणका लागि गरिने छलफल तथा बहसबाहेक कुनै ठोस पहल गरेको देखिँदैन । त्यसैगरी, सशस्त्र प्रहरी बलभित्र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा रहेको छ । सशस्त्रले कुरिनटारमा विपद् व्यवस्थापन तालिम विद्यालय सञ्चालन गरेको छ र त्यहाँ विभिन्न विपद् व्यवस्थापनसम्बन्धी तालिम दिइने गरिन्छ । तर हालसम्म दिने तालिमलाई बाढीपहिरो, भूकम्पलगायतका विपद्मा जोड दिँदा डढेलो नियन्त्रण तथा व्यवस्थापन ओझेलमा परेका छन् । स्थानीय स्तरमा रहेका सेना, प्रहरी र सशस्त्र प्रहरीको ब्यारेक नजिक डढेलो लाग्दा त्यहींको स्रोत साधनबाट नियन्त्रणको प्रयास गर्नेबाहेक स्थानीय जनसमुदायमै भर पर्ने गरिएको छ ।

डढेलो नियन्त्रण प्रयास गर्दा कतिपय अवस्थामा सर्वसाधारण, सैनिक वा प्रहरीको ज्यान जाने गरेको छ । यसको प्रमुख कारण आफू कसरी सुरक्षित रहेर डढेलोलाई नियन्त्रणमा लिन सकिन्छ भन्ने ज्ञानको अभाव हो । डढेलो लागेको ठाउँमा हावा बहेको दिशा, स्थानीय वस्तुस्थिति (टोपोग्राफी), वनको ढाँचा लगायतको प्रकृति बुझ्नुपर्छ । कता डढेलो बहन्छ तथा अग्निरेखा कसरी, कहाँ बनाउने विषयमा जानकारी नहुँदा पनि यस्ता घटना हुने गर्छन् । अधिकांश अवस्थामा डढेलो नियन्त्रण गर्ने उपायको जानकारी नभएका व्यक्तिको ज्यान जाने गरेको छ ।

हालसम्म सशस्त्रको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा वा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नजरमा डढेलोलाई विपद्का रूपमा लिएर तयारी गरेको देखिँदैन । डढेलो नियन्त्रणका लागि पनि बाढीपहिरो वा भूकम्पमा प्रयोग गर्ने जस्तै विपद् न्यूनीकरण तथा व्यवस्थापन गर्ने चक्रलाई प्रयोग गर्नुपर्छ । जसमा जोखिम न्यूनीकरण, पूर्वतयारी तथा नियन्त्रण तथा उद्धार र रिकभरी रहेका छन् ।

जोखिम न्यूनीकरणअन्तर्गत वन तथा भू–संरक्षण विभागले सञ्चालन गरेको डढेलो पहिचान तथा र अनुगमन प्रणालीले हरेक दिन भूउपग्रहको माध्यमबाट देशैभरको डढेलो पहिचान तथा अनुगमन गर्छ । यसबाट प्राप्त तथ्यांकसहित देशको भूबनोट, बस्ती विकास लगायतका तथ्यांकको प्रयोग गरी कहाँ कस्तो डढेलो हुन सक्छ, त्यसले जनधन, जैविक विविधतामा कस्तो प्रभाव पर्न सक्छ, संवेदनशीलता कति हुन सक्छ भनेर पहिचान गर्नुपर्छ । त्यसका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजनमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम विद्यालयबाट तालिम प्राप्त जनशक्तिलाई जोखिमयुक्त क्षेत्रमा परिचालन गर्नुपर्छ । स्थानीय सरकारको सहयोगमा स्थानीय जनसमुदायमा सचेतना तथा डढेलो नियन्त्रणका उपायको जानकारी गराउने तथा निरन्तर तयारीको कार्यक्रमअनुसार विद्यालय तहमा पाठ्यक्रम विकास गरी व्यावहारिक ज्ञान दिने कार्य गर्नुपर्छ ।

डढेलो नियन्त्रणमा लिने उपाय अपनाउने, बस्ती जोगाउने, घाइतेको उपचार गर्ने लगायतमा तालिमप्राप्त समूह परिचालन गर्नुपर्छ । त्यसो हुन सकेमा डढेलोबाट हुन सक्ने ठूलो जनधन, जैविक विविधता तथा वातावरणीय प्रभाव घटाउन सकिन्छ । रिकभरीअन्तर्गत डढेलो लागेको भूभागमा रूखबिरुवा हुर्काउने तथा यसबाट प्रभावित जनसमुदाय तथा व्यक्तिलाई पूर्ववत् अवस्थामा फर्काउन आवश्यक कार्यक्रम सरकारी तवरबाट ल्याउन सके हरेक वर्ष हुने क्षतिबाट पीडित समुदायले राहत पाउनेछन् ।

नेपालमा हरेक वर्ष ठूलो वातावरणीय क्षति पुर्‍याउने डढेलोलाई मनसुनी वर्षाले निभाउन थालेसँगै बिर्सने गरिन्छ, फलस्वरूप यस विषयमा खासै अध्ययन अनुसन्धान तथा तयारी भेटिँदैन । त्यसैले अझैसम्म पनि डढेलो लाग्दा जैविक विविधतामा पर्न सक्ने असरको जानकारी छैन । काठमाडौंको हावामा प्रदूषणको मात्रा बढ्यो भने देशैभरिको डढेलोको कारणले हो भन्ने प्रचलन छ । तर आजसम्म कसैले कुनै अध्ययन अनुसन्धानबाट सोको सम्बन्ध देखाएको भेटिँदैन । यस्ता प्रश्नको जवाफका लागि हामीले अध्ययन अनुसन्धान गर्नुपर्छ । त्यसका लागि स्रोत साधन तथा तथ्यांकको आवश्यकता पर्छ, जसमा सरकारले लगानी गर्न जरुरी छ ।

प्रकाशित : वैशाख १८, २०८१ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?