२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

प्रतिनिधिसभामा थापाको प्रश्‍न : 'गृहमन्त्री आफैँले फारम भरेर एक अर्ब ऋण लिएको प्रमाण छ, अभियोजन किन भएन?'

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफैँले फारम भरेर एक अर्ब रुपैयाँ ऋण लिएको प्रमाण प्रहरीले नै संकलन गरेको भन्दै त्यतिका प्रमाणहरु हुँदा समेत अभियोजन नभएकोबारे प्रश्न गरेका छन् । 

प्रतिनिधिसभामा थापाको प्रश्‍न : 'गृहमन्त्री आफैँले फारम भरेर एक अर्ब ऋण लिएको प्रमाण छ, अभियोजन किन भएन?'

शुक्रबारदेखि सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा कांग्रेसका तर्फबाट धारणा राख्दै महामन्त्री थापाले सहकारीको अर्बौँ रुपैयाँ अपचलनको आरोप लागेका गृहमन्त्री लामिछाने अनुसन्धानबाट भाग्न खोजिरहेको बताए ।

'यहाँ गृहमन्त्रीमाथि सहकारीको करोडौँ रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । तर कुनै अभियोजन भएको छैन । अनुसन्धानसम्म पनि भएको छैन । प्रधानमन्त्री आफैँ संसद्‌मा उभिएर झुट बोल्नुभएको छ । के यहाँ गृहमन्त्रीले आफैँ फारम भरेर एक अर्ब रुपैयाँ ऋण लिएको प्रमाण पेस गरौँ ? कुन-कुन प्रमाणहरु पेस गरौँ ? यही कुरा हामीले स‌ंसदीय समितिबाट छानबान गरौँ भनेका हौँ,' थापाले अघि भने, 'सरकार तपाईंहरु नै चलाउनुस् । तर छानबिन समिति बनाऔँ । तपाईंहरु नै नेतृत्व गर्नुहोस् । हामी पनि सँगै बसेर हेर्छौं । सत्यतथ्य छानबिनबाट बाहिर आउँछ ।'

उनले कांग्रेसले विगतमा सरकारलाई सहयोग पुग्ने गरी सदन सञ्चालन गर्न दिएको भन्दै अब स‌ंसदीय छानबिन समिति नबनेसम्म सदनका कुनै पनि कामकारबाही अगाडि बढ्न नदिने बताए ।

'नेपाली कांग्रेस पार्टी सदन चल्नुपर्छ भन्ने कुरामा गम्भीर छ । सरकारलाई सजिलो होस् भनेर सघाउन खोजेको पनि हो । हामीले जम्मा एउटा कुरा भनेको हो-सहकारीको ठगीका विषयमा छानबिन गर्न संसदीय समिति बनाइयोस् । तर सरकारले यो कुरालाई टार्न खोजिरहेको छ,' उनले भने, 'आरोप लागेको व्यक्ति त छानबिन गर्न तयार हुनुपर्ने हो । तर यहाँ त छानबिनबाट भाग्न सम्पूर्ण शक्ति लगाइएको छ । किन डराएको ? गल्ती गरेको छैन भने छानबिनबाट किन भागेको ? कहिले प्रहरीलाई बोल्न लगाएको छ । कहिले प्रधानमन्त्रीलाई बोल्न लगाएको छ । महान्यायाधिवक्ताले कुनै पनि मुद्दामा कसैको प्रभावमा पर्नुहुँदैन भन्ने छ । तर अब महान्यायाधिवक्ता त झुक्दा-झुक्दा लम्पसार नै परिसक्नुभएको छ । प्रहरीको, महान्यायाधिवक्ताको, राज्यका अंगहरुको दुरुपयोग भइरहेको छ ।'

महामन्त्री थापाले सदन चल्न नसक्ने अवस्थाको जिम्मेवारी कांग्रेसले नलिने बताए । सरकारले गृहमन्त्रीमाथि लागेको आरोपको ढाकछोप गर्न सरकारले राज्यका अंगहरुलाई वासिङ मेसिन जस्तो प्रयोग गरेको उनको भनाइ छ ।

‘सभामुख महोदय, संसदीय छानविन समिति नबनेसम्म अब सदनको कुनै पनि कामकारबाही अगाडि बढ्दैन । यसको जिम्मेवार हामी होइनौं । यो सदन अघि नबढ्ने अवस्थाको कारक सरकार हो । सम्माननीय प्रधानमन्त्रीजी र सरकारको कामकारबाहीप्रति हाम्रो विश्वास रहेन । ढाकछोप गरियो राज्यको तमाम अंगहरुलाई वासिङ मेशिन जस्तो प्रयोग गरियो । यो तपाईहरुले धोएर धोइन्नँ, पखालेर पखालिन्नँ । दुधको दुध, पानीको पानी संसदीय छानविन समितिले छुट्टयाउँछ,’ महामन्त्री थापाले भने, ‘त्यसैले जबसम्म छानविन समिति बन्दैन । त्यो बेलासम्म अव हामीलाई भन्न पाइदैन । सरकार आफैँ निहुँ खोज्न आएको हो । सरकार आफैँ वातावरण बिगार्न आएको हो । सरकारकै कारणले गर्दा यो अप्ठयारो सृजना भएको हो ।’

प्रकाशित : वैशाख २८, २०८१ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?