२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

'विभेद र हिंसाबाट दलितलाई संरक्षण गर्न राज्य विफल, विभेद अन्त्य गर्ने प्रयास अपर्याप्त'

काठमाडौँ — एम्नेस्टी इन्टरनेसनलको एक अध्ययनले प्रहरी र न्याय संयन्त्रले दलित समुदायको विश्वास गुमाइरहेको र दलित विरूद्धको विभेद र हिंसामा दण्डहीनताको संस्कार मौलाइरहेको निष्कर्ष निकालेको छ । दलित समुदाय र खासगरी दलित महिला तथा बालिकाहरूलाई जातीय विभेद र हिंसाबाट उचित संरक्षण गर्न राज्य विफल भएको प्रतिवेदनको निष्कर्ष छ। 

'विभेद र हिंसाबाट दलितलाई संरक्षण गर्न राज्य विफल, विभेद अन्त्य गर्ने प्रयास अपर्याप्त'

ललितपुरमा शुक्रबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको 'कसैलाई मतलब छैन' – नेपालमा दलित विरूद्ध वंशमा आधारित विभेद' नाम दिइएको उक्त प्रतिवेदनमा एम्नेस्टी इन्टरनेसनलले जातीय हिंसा र विभेदका विभिन्न घटनामा दलित समुदायले भोगेको न्यायमा पहुँचसम्बन्धी कैयन चुनौतीहरूका कारण नेपालमा प्रहरी तथा न्याय संयन्त्रले दलित समुदायको विश्वास गुमाइरहेको विषयलाई जोड दिएको छ। अन्तरजातीय विवाह गरेको निहूँमा जातीय हिंसा व्यहोर्नुपरेको र सो कारण मारिएका अजित मिजार ढकालका बुवा हरिभक्त कटुवाल मिजारले सो प्रतिवेदन विमोचन गरेका थिए ।

जातीय विभेद र हिंसामा न्यायमा पहुँचमा पर्याप्त व्यावधानहरू रहेका कारण यस विषयमा दण्डहीनताको संस्कृति व्याप्त रहेको र खासगरी दलित महिला तथा बालिकाहरू यसको अन्तरसामुहिक मारमा परेको प्रतिवेदनमा उल्लेख छ । सरकारले अपनाएका जातीय विभेद तथा छुवाछुत (कसुर तथा सजाय) ऐन तथा सोसँग सम्बन्धित संरचना तथा उपायहरूमा धेरै छिद्रहरू रहेको र ती उपायहरू जातमा आधारित विभेदलाई सम्बोधन गर्न अपर्याप्त र अपूर्ण रहेको अध्ययनको निष्कर्ष छ ।

प्रतिवेदनले विशेषगरी जातीय विभेद तथा हिंसाका घटनाहरूको जाहेरी दर्ता गर्न प्रहरी अधिकारीहरूले आनाकानी गर्ने गरेको, जाहेरी दर्ता गरेपनि यथोचित अनुसन्धान गर्न जानाजानी लापरवाही गर्ने गरेको, जाहेरी दर्ता गरी अनुसन्धान गरेर प्रमाण संकलन गर्नुको साटो जाहेरी दर्ता अगावै पीडितलाई प्रमाण पेश गर्ने असमानुपातिक भार थोपर्ने गरेको र दलित महिला तथा बालिकाहरूले भोग्नुपरेको जातीय एवं लैङ्गिक विभेदको दोहोरो मारलाई ऐन कानुनले सम्बोधन गर्न नसकेको विषयहरूलाई निष्कर्षको रूपमा प्रस्तुत गरेको छ।

उक्त प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा विभिन्न सरकारी निकाय, सामाजिक संस्था, बिकास साझेदारको प्रतिनिधि तथा पीडित समुदायको सहभागी थिए । प्रतिवेदनले संघीय संसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, राष्ट्रीय मानवअधिकार आयोग, राष्ट्रीय दलित आयोग र संयुक्त राष्ट्रसङ्घीय निकायहरू गरी विभिन्न सरोकारवालाहरूलाई आ-आफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयहरूमा कूल २४ बुँदे सिफारिसहरू समेत गरेको छ ।

प्रकाशित : वैशाख २८, २०८१ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?