२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

प्रधानमन्त्रीलाई पनि कांग्रेससँग मिलेर सरकार ढाल्दैछन् भन्ने भ्रममा पारियो : अध्यक्ष यादव

'सरकारलाई समर्थन जारी रहन्छ'

काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हल्लाका आधारमा पार्टी फुटाइएको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधान एवं स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भ्रममा पारिएको बताएका हुन् ।

प्रधानमन्त्रीलाई पनि कांग्रेससँग मिलेर सरकार ढाल्दैछन् भन्ने भ्रममा पारियो : अध्यक्ष यादव

प्रधानमन्त्री दाहाललाई मंगलबार नै भेटेर अध्यक्ष यादवले सबैकुरा सुनाएको समेत पत्रकार सम्मेलनमा जानकारी दिए । 'प्रधानमन्त्रीजीलाई पनि हौवा फैलाइयो । 'फलानो फलानो मन्त्री बन्दैछ', 'अमेरिकाबाटै सरकार पुनर्गठन गरेर आउँदै छ' भन्ने भ्रममा प्रधानमन्त्रीजीलाई पनि पारेको भन्ने कुरा बुझियो,' अध्यक्ष यादवले भने।

प्रधानमन्त्रीलगायत शीर्ष नेताले पनि हल्ला पत्याएको अध्यक्ष यादवको भनाइ छ । 'जसपाले सरकार ढालेर अर्को सरकार बनाउँदैछ भन्ने कपोल्कल्पित हल्लाहरूलाई सरकारमा रहेका केही साथीहरूले पत्याउनुभयो यति हुँदाहुँदै पनि सरकारलाई दिएको समर्थन निरन्तर रहनेछ । हाम्रो कारणले अस्थिरता आउँदैन,' उनले भने ।

सरकारकै प्रतिनिधिका रूपमा राष्ट्रसंघीय सम्मेलनमा भाग लिन गएका बेला गैरकानुनी रूपमा पार्टी फुटाइएको समेत अध्यक्ष यादवको आरोप छ । 'म नेपाल सरकारको प्रतिनिधि भएर विश्व जनसंख्या विकास सम्मेलनमा भाग लिन संयुक्त राष्ट्र संघमा गएका बेलामा मौका छोपेर एउटा हल्ला चलाइयो । हल्ला के चलाइयो भन्दा जसपा र एकीकृत समाजवादी कांग्रेससँग मिलेर यो सरकार ढाल्ने भो भनेर । त्यो हल्ला अत्यन्तै निराधार, अत्यन्तै कपोलकल्पित हल्ला चलाइयो जसको कुनै बेस छैन,' यादवले भने ।

पार्टीको महाधिवेशनको तीव्र तयारी भइरहेका बेला स्वार्थका आधारमा पार्टी फुटाइएको पनि अध्यक्ष यादवले बताए । 'पार्टीभित्र सैद्धान्तिक र वैचारिक कुनै भिन्नता भएन । पार्टीको महाधिवेशन आयोजनाको तयारी तीव्र भइरहेका बेलामा केही व्यक्तिले अत्यन्तै महत्त्वाकांक्षी स्वार्थकेन्द्रित व्यक्तिहरूले पार्टी फुटाएको घोषणा गरे,' उनले भने ।

पार्टी फुटाउने नेताहरूलाई पटक-पटक अवसर दिएको पनि अध्यक्ष यादवको भनाइ छ । 'सांसद बनेकै छन्, मन्त्री बनेकै छन् त्यहाँभन्दा बढी त बनाउन सकिने अवस्था छैन । कार्यवाहक अध्यक्ष दिएरै गएको हो । सांसद बनाएकै हो । पहिले पनि मन्त्री बनाएको हो । अहिले पनि मन्त्री बनेकै थिए,' उनले भने ।

जसपा नेपाल फुटाउनमा बाहिरी शक्तिको हात रहेको भन्ने भ्रमबाट मुक्त हुन पनि अध्यक्ष यादवले ठूला दलका नेताहरूलाई आग्रह गरे । 'ठूला नेताहरूलाई पनि म के भन्न चाहन्छु उहाँहरू भ्रमबाट अब मुक्त हुनुहोस् । सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्नु हुँदैन,' उनले भने । पहिचान र मधेशका मुद्दाका साथै संघीयतालाई धरापमा पार्नेगरी पार्टी फुटाउने काम भएको पनि उनले बताए ।

१२ सांसद भएको जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव विदेशमा रहेका बेला आइतबार विभाजित भएको हो । सात सांसदसहित अशोक राई नेतृत्वको जसपालाई सोमबार निर्वाचन आयोगले दलको मान्यता दिइसकेको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादव अब संसद्मा पाँच सिटको नेतृत्व गर्ने दलको नेतामा सीमित भएका छन् ।

केही समयअघि मात्रै जसपा नेपालबाट बाबुराम भट्टराई नेतृत्वको समूह अलग्गिएको थियो । त्यसअघि महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीसहितका नेताहरू अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाए । महतोले त लोसपाबाट अलग्गिएर छुट्टै मोर्चा सञ्चालन गरेका छन् ।

प्रकाशित : वैशाख २६, २०८१ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?