२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सम्भव होला हेलिकोप्टरबाट डढेलो नियन्त्रण ?

नेपालमा उडानमा रहेका १२ हेलिकोप्टर कम्पनीमध्ये एक मात्र सिम्रिक एयर डढेलो नियन्त्रण गर्ने उपकरण भएको वायुसेवा कम्पनी हो 
नेपालमा डढेलो नियन्त्रणका लागि मात्रै तोकिएका हेलिकोप्टर छैनन्
सुरज कुँवर

काठमाडौँ — गत चैत १ यता डढेलो र आगलागीमा परी विभिन्न जिल्लामा ५० जनाको मृत्यु भएको छ । त्यस्तै १४९ जना घाइते भएका छन् । अर्बौं रुपैयाँबराबरको भौतिक संरचना नष्ट भएको छ । डढेलोले हजारौं हेक्टर वन क्षेत्र मात्र नभई बस्ती नै सखाप भएको छ । 

सम्भव होला हेलिकोप्टरबाट डढेलो नियन्त्रण ?

केही दिनअघि सरकारले हेलिकोप्टरमार्फत डढेलो नियन्त्रण गर्ने विषयमा छलफल गरेको छ । डढेलो तथा तराई तथा सहरी क्षेत्रमा गर्मी याममा हुने आगलागी हेलिकोप्टरबाट नियन्त्रण कसरी गर्न सकिन्छ भन्नेबारे सरकारले निर्णय भने गरिसकेको भने छैन ।

समयमै हेलिकोप्टरको प्रयोग गरी दक्ष जनशक्ति परिचालन गरेको भए आगलागीको क्षति न्यूनीकरण गर्न सकिने विज्ञहरू बताउँछन् । सरकारसँग आगो निभाउनका लागि हवाई संयन्त्र छैन । बेला-बेलामा निजी वायुसेवा कम्पनीहरूको सहयोगमा हेलिकोप्टरबाट आगो निभाउने भने गरिएको छ । तर पनि त्यो प्रभावकारी रूपमा सञ्चालन भने हुन सकेको छैन । अरु बेला जस्तै विपद् नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका वायुसेवामै भर पर्नुपर्छ ।

नेपालमा १२ वटा निजी हेलिकोप्टर कम्पनीमध्ये हाल एउटा कम्पनीले मात्रै डढेलो नियन्त्रण गर्दै आइरहेको छ । यो वायुसेवा कम्पनी सिम्रिक एयर हो । तीन हेलिकोप्टर भएको सिम्रिकसँग मात्रै अग्नि नियन्त्रणको तालिम लिएका पाइलट र आगो निभाउन प्रयोग गरिने उपकरण छन् । सिम्रिकले हरेक वर्ष नगरकोटमुनि आगो नियन्त्रण गर्न आफ्ना पाइलट तथा प्राविधिक कर्मचारीलाई अभ्यास गराउँदै आएको छ ।

‘नेपालमा भएका एक दर्जन हेलिकोप्टरमध्ये सिम्रिक एयरले मात्रै नेपालमा डढेलो नियन्त्रण सेवा गर्छ,’ नेपाल वायुसेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेले कान्तिपुरसँग भने,‘अन्य विकासोन्मुख मुलुकहरूमा जस्तो नेपालमा पहिले डिमान्ड नभएकाले यसबारे एयरलायन्सहरूले सोचेन । अहिले बिस्तारै हेलिकोप्टरबाट आगो नियन्त्रण गर्नुपर्नेमा चासो आउन थालेको छ ।’

नेपालमा निजीबाहेक नेपाली सेनाका हेलिकोप्टरले पनि चार्टर तथा उद्धार उडान गर्ने गरेका छन् । तर, डढेलो नियन्त्रणमा सैनिक हेलिकोप्टर प्रयोगमा नल्याइएको निजी क्षेत्रका वायुसेवा सेवा सञ्चालकहरूले बताउँछन् । सिम्रिकका महाप्रबन्धक मुरलीधर जोशीका अनुसार सिम्रिकले ४ वर्षअघि कञ्चनजंघा क्षेत्रको पाथीभरामा लागेको डढेलो हेलिकोप्टरबाट पानी हालेर नियन्त्रणमा लिएको थियो ।

‘सिम्रिकसँग आगलागी तथा डढेलो नियन्त्रणबारे तालिम लिएका चार जना पाइलट छन्,’ महाप्रबन्धक जोशीले भने,‘हामीसँग हेलिकोप्टरमा झुन्ड्याएर पानी निभाउने फायरपुफ्र बकेटलगायतका उपकरण छन् । हेलिकोप्टरबाहेक यो उपकरण छुट्टै खरिद गर्नुपर्छ । यसको लागत कम्तीमा ४०–५० लाख रुपैयाँ पर्छ ।’ सिम्रिकले व्यावसायिक रूपमा आगो नियन्त्रणको काम थालिसकेको छैन । पाथीभरापछि सिम्रिकले काठमाडौंको बालाजु औद्योगिक क्षेत्र, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, तनहुँ र लुक्लामा गरी हालसम्म ५ स्थानमा हेलिकोप्टरबाट डढेलो नियन्त्रण गरिसकेको छ । यी क्षेत्रमा सिम्रिकले सामाजिक उत्तरदायित्वअन्तर्गत आगो नियन्त्रण गरेको जोशीले बताए ।

‘आगलागी भएको स्थानबाट ५–१० किलोमिटर क्षेत्र आसपासमा तालतलैया भए आगो नियन्त्रण गर्न सकिन्छ,’ चार्टर अकाउन्टेन्टसमेत रहेका जोशीले भने, ‘यदि यही पेरिफेरीमा फराकिलो तालतलैया भए एउटै पाइलटले पानी बोक्दै आगो नियन्त्रण गर्न खासै गाह्रो हुँदैन । एकपटक इन्धन भरेर उडेको हेलिकोप्टरले ३०/४० साइकल (पटक) आकाश पानी बोक्दै आगो नियन्त्रण गर्न सकिन्छ ।’

नागरिक उड्डयन प्राधिकरणका सह–प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, नेपालमा डढेलो नियन्त्रणका लागि मात्रै तोकिएका हेलिकोप्टर छैनन् । ‘प्राधिकरणले यसलाई डोरीको सहायताले सामान झुन्ड्याएर गरिने सिलिङ उडानकै प्रकृतिमा राखेको छ,’ भुलले भने,‘ आगो नियन्त्रणका लागि प्राधिकरणले बेग्लै कार्यविधि बनाएको छैन । अन्य विपद्का बेला जस्तै आगलागीमा पनि हेलिकोप्टर उडान हुँदै आएको छ ।'

हाल प्राधिकरणमा श्री एयरका ८, एयर डाइनेस्टी ४, माउन्टेन २, सिम्रिक ३, हेली एभरेस्ट ३, फिसटेल २, प्रभु १, अल्टिच्युड एयर २, अन्नपूर्ण १ र कैलाशका ३ गरी १२ कम्पनीका २९ वटा हेलिकोप्टर दर्ता छन् ।

प्रकाशित : वैशाख २४, २०८१ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?