४८ पत्रकार पुरस्कृत, कान्तिपुरकर्मी सम्मानित
काठमाडौँ — इजरायल–प्यालेस्टाइन युद्धको स्थलगत रिपोर्टिङ गर्ने तीन जना कान्तिपुरकर्मीलाई सम्मान गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार नेपाल पत्रकार महासंघले इजरायलमा गई युद्धको साहसिक स्थलगत रिपोर्टिङ गरेका कान्तिपुरकर्मी होम कार्की, प्रकाशचन्द्र तिमिल्सेना र श्याम श्रेष्ठलाई सम्मान गरेको हो ।
महासंघले आफ्नो २७ औं महाधिवेशनको अवसरमा कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक कार्की, कान्तिपुरका फोटो सम्पादक तिमिल्सेना र कान्तिपुर टीभीका भिडियोग्राफर प्रमुख श्रेष्ठलाई सम्मान गरेको हो ।
उनीहरूलाई सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सम्मानपत्र हस्तान्तरण गरेकी हुन् । महासंघले सम्मान गर्दै भनेको छ, ‘सन् २०२३ अक्टोबरमा १० जना नागरिक समेतको ज्यान जाने गरी भएको इजरायल–प्यालेस्टाइन युद्धको साहसिक रिपोर्टिङ गरी नेपाली पत्रकारिताको गरिमालाई उँचो पार्नुभएका यहाँहरूलाई प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको अवसरमा यो सम्मानपत्र प्रदान गरिएको छ ।’ इजरायल र हमासबीचको युद्ध चर्केको आठौं दिन कान्तिपुरले पत्रकार कार्कीको नेतृत्वमा तीन सदस्यीय टोलीलाई स्थलगत रिपोर्टिङ गर्न इजरायल पठाएको थियो ।
यसैगरी प्रेस स्वतन्त्रता सेनानी पुरस्कारबाट ४८ जना पत्रकारलाई सम्मानित गरेको छ । उक्त पुरस्कार पाउनेमा गोविन्दचन्द्र क्षेत्री, शत्रुधन नेपाल, गुणशोखर शर्मा, रमेश तुफान र कुलचन्द्र वाग्ले, निर्मला आचार्य, ओम शर्मा (ललितपुर), रवीन्द्र बाँस्तोला, ओम शर्मा (स्याङजा), कनैयालाल केशरी, बालकृष्ण चापागाईं, श्रीधर पौडेल, वासुदेव श्रेष्ठ, भेषराज पौडेल, उमिद बागचन्द, श्याम चित्रकार, हरि लम्साल, मोहन चापागाईं, झपेन्द्र गैह्रे, बलराम थापा, गोविन्द भट्टराई, गणेश लम्साल, देवराम यादव, कल्पना बिसुराल, पदम रेग्मी, राजेशचन्द्र राजभण्डारी रहेका छन् । त्यसैगरी, नारायण शर्मा, भवानी ऐर, नवराज सुवेदी, प्रमोद दाहाल, टंक पन्त, डा. नवराज लम्साल, प्रकाश खतिवडा, वसन्तराज खनाल, महेश्वर दाहाल, सचिन रोका, टीकाराम रेग्मी, बालकृष्ण प्रसाद, शम्भु श्रेष्ठ, प्रताप विष्ट, धिरेन्द्र चटौत, खिम घले, गोपाल छ्याङ्छा, रमेश खड्का, गजेन्द्र बुढाथोकी, गोपाल बराल, मनऋषि धिताल र रमेश पौडेललाई पनि प्रेस स्वतन्त्र सेनानी पुरस्कारबाट सम्मानित गरेको छ । महासंघले आफ्ना प्रदेश, जिल्ला र प्रतिष्ठान शाखालाई पनि सम्मान गरेको छ ।
प्रकाशित : वैशाख २२, २०८१ ०६:५२