कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

रुसी सेनामा भर्ती भएका नेपालीको परिवार अमरण अनशनमा बसेको आज ११ औं दिन

काठमाडौँ — रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले करार पत्रको रद्दसहितको १३ बुँदे माग राखेर सुरु गरेको आमरण अनशन सोमबार ११ औं दिनमा पुगेको छ ।

रुसी सेनामा भर्ती भएका नेपालीको परिवार अमरण अनशनमा बसेको आज ११ औं दिन

रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षा अभियानकी संयोजक कृतु भण्डारी, रुकुमकी सिरानी घर्ती मगर र किसन थापा वैशाख ७ गतेदेखि आमरण अनसनमा बसिरहेका छन् । उनीहरूलाई रुसी सेनाका भर्ती भएका नेपालीका परिवारले पनि आलोपालो अनसन बसेर साथ दिइरहेका छन् ।

माइतीघर मण्डलबाट सुरु गरिएको अनशन भृकुटीमण्डप हुँदै अहिले रत्नपार्कमा बसिरहेको हो । रुसी सेनामा भर्ती भएका नेपाली सकुशल उद्धार गरी नेपाल ल्याउनुपर्ने, करार सम्झौता रद्द गरी उद्धारको पखाईमा रहेका व्यक्तिलाई पुनः युद्ध मैदानमा लगिएकाले उनीहरूलाई तत्काल उद्धार गरी नेपाल ल्याउनुपर्ने, युद्धमा घाइते नेपालीको उचित उपचार र क्षतिपूर्ति, तलव, भत्ता उपलब्ध गराउनुपर्ने, युक्रेनको कब्जामा रहेका ५ जना युद्धबन्दीको सकुशल उद्धार हुनुपर्ने, मृतकको शव ल्याउने र क्षतिपूर्तिसहित रुसी सेनाबाट पाउने तलबभत्ता उपलब्ध गराउन पर्ने, बेपत्ताको अवस्था खोजी गर्न विधि र प्रक्रिया घोषणा गरी तत्काल कार्यान्वयन तहमा ल्याउनुपर्ने, रुसी सेनामा कार्यरत नेपालीको तथ्यांङ सार्वजनिक गर्नुपर्नेलगायतका माग राखेर उनीहरू अनशन बसिरहेका छन् ।

त्यस्तै अन्य मागमा प्रलोभनमा परी रुस पठाउने बिचौलियाको पहिचान गरी तत्काल कारबाही गर्ने व्यवस्था, पीडितपरिवारको उद्धार, राहत र पुनर्स्थापनाका लागि मन्त्रिस्तरीय समन्वय समिति गठन गर्नुपर्ने, रुसी सेनाबाट फर्किएर आएका युवाको पुनर्स्थापना तथा पीडित रिवारको उचित हेरचाहको व्यवस्था गर्नुपर्ने, कुटनीतिक सम्बन्ध भएका देशहरूमा नेपालले आफ्ना नागरीकलाई सैन्य सम्झौता बिना सैन्य सेवामा भर्ती नगर्न पहल गर्नुपर्ने लगायत रहेका छन् ।

रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षा अभियानकी संयोजक भण्डारीले सरकारले रुसी सेनामा गएका नेपालीको विषयमा गम्भीर नभएकोले बाध्य भएर आमरण अनसनमा बस्नुपरेको बताइन् । ‘पुसदेखि नै हामीले करारपत्र सम्झौता भंग गरी स्वदेश ल्याउन भनिरहेको थियौं । रुसमा हरेक सेकेण्ड नेपाली जोखिममा छन् । तर, काठमाडौंमा सरकार सुतेर बसिरहेको भान भइरहेको छ,’ उनले भनिन्,‘जबसम्म सरकारले हाम्रो माग सम्बोधन गर्दैन । तबसम्म हामी आमरण अनसनमा बस्नेछौं ।’

रुसी सेनामा भर्ती भएका मध्ये कम्तीमा सय नेपाली परिवारको सर्म्पकमा छैनन् । ३६ जनाको मृत्यु भइसकेको छ । पीडितपरिवारले अझै शव पाउन सकेका छैनन् ।

अनसनमा बसिरहेकी सिरानीले राज्यले आफूहरूलाई नदेखेको बताइन् । उनका श्रीमान् माइतमान गत मंसिर १२ गतेदेखि सर्म्पकमा आएका छैनन् । १२ लाख रुपैयाँ खर्चेर कार्तिक ७ गते माइतमान रुस पुगेका थिए ।

‘मेरो बुढा मुसा भए पो छिरेर गए भन्नु । चील पनि होइन उडेर जान । सरकारले स्वीकृति दियो अनि मात्रै गए । नेपालकै विमानस्थलबाट गएका हुन् । 'इलिगल' गाका हुन् ।श्रम स्वीकृति नलिइ गएका हुन् । त्यो मान्य हुम । तर राज्यले अनुमति दिने व्यवस्था नै नभएको भए त जाने नै थिएनन्,’ उनले भनिन्,‘राज्यले पीडामाथि पीडा थपिदिएको छ । राज्य त हामीजस्ता जनताको अभिभावक पो हो त । देश छ र पो हामी नेपाली छम् । हामी जनता छौं र पो नेता प्रधानमन्त्री जो पनि छन् । हाम्रो मुद्दालाई कसैले गम्भीर भर लिएन ।’

पछिल्लो पटक रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठबीच टेलिफोन कुराकानी भयो । श्रेष्ठले लाभ्रोभसमक्षरुसी सेनामा भर्ती भएका नेपालीहरूको संख्या, लडाइाका क्रममा मारिएकाको शव नेपाल ल्याइदिन, क्षतिपूर्ति दिन र नेपालीलाई रुसी सेनामा भर्ती नलिन तथा भर्ती भएकालाई फिर्ता पठाइदिन आग्रह गरे । तर रुसी विदेशमन्त्रीले युद्धका क्रममा मारिएकाका परिवारलाई क्षतिपूर्ति दिन रुस तयार भए पनि अन्य विषयमा प्रतिबद्धता जनाएका छैनन् ।

प्रकाशित : वैशाख १७, २०८१ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?