न्यायाधीश र कानुन व्यवसायीमाथि निराधार लाञ्छना लगाउनु निन्दनीय : सर्वोच्च बार
काठमाडौँ — सर्वोच्च अदालत बार एसोसियसनले सिधाकुरा डटकममा प्रकाशित अडियो रिपोर्टबारे ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एसोसियसनका सचिव अधिवक्ता श्यामकुमार खत्रीले विज्ञप्ति जारी गर्दै उक्त अडियोबारे तुरुन्त छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
खत्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'मिति २०८१/०१/१४ गते सिधाकुरा डट कमबाट प्रकाशित तथा प्रसारित अडियो सम्बन्धमा सही, सत्य तथ्य कुरा के हो ? त्यसमा तुरुन्त छानबिन गरी बास्तविक तथ्य बाहिर ल्याउन सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं । साथै छानबिनपछि दोषीमाथि तुरुन्तै कारबाही गर्न यो बार जोडदार माग गर्दछ ।'
सर्वोच्च बारले मुद्दाका विषयमा विभिन्न सामग्री प्रकाशन तथा प्रसारण गरी सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पेशागत वरिष्ठ अधिवक्ता तथा अधिवक्तामाथि कुनै प्रकारको निराधार एवं आपत्तिजनक लाञ्छना लगाउने कार्य जो कसैबाट भए पनि निन्दनीय भएको ठहर गरेको छ ।
स्वतन्त्र न्यायपालिका र कानुन व्यवसायमाथि आँच आउने गरी कोही कसैबाट हुने कुनै पनि क्रियाकलाप सह्य नहुने बारको चेतावनी छ । यस विषयमा सर्वोच्च अदालतको संस्थागत धारणा तत्काल सार्वजनिक हुनुपर्ने पनि सर्वोच्च बारको माग छ ।
सम्बन्धित समाचारहरू
- न्यायाधीश र कानुन व्यवसायीमाथि निराधार लाञ्छना लगाउनु निन्दनीय : सर्वोच्च बार
- ‘फेक अडियो’ मा अख्तियारको पनि ध्यानाकर्षण
- न्यायालय र मिडियाप्रति अनास्था फैलाउन 'फेक न्युज’
- 'फेक न्युज' सम्प्रेषण गर्नेलाई कारबाही गर : अध्यक्ष सिरोहिया
- ‘फेक न्युज’ उत्पादन गरेर मिडिया र न्यायाधीशबारे भ्रम फैलाउने कुचेष्टा’ : मिडिया सोसाइटी