१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

एमालेलाई विरासत जोगाउने चुनौती

पर्वत पोर्तेल

इलाम — एमाले नेता सुवास नेम्वाङको अपराजित क्षेत्र थियो, इलाम–२ । २०५६ सालदेखि नेम्वाङले निरन्तर जित्दै आएको क्षेत्र नम्बर २ फाकफोकथुमलाई ‘लालकिल्ला’ मान्ने पनि छन् । यतिबेला उनकै निधनपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

एमालेलाई विरासत जोगाउने चुनौती

यहाँ सडक, पानी, बिजुलीजस्ता पूर्वाधार मात्रै हैन स्वास्थ्य, शिक्षाजस्ता अत्यावश्यक कुरामा पनि जनप्रतिनिधिको ध्यान पुगेको देखिँदैन । उपचारका लागि सर्वसाधारण एक सय किलोमिटर लामो कठिन यात्रा गरेर दमक वा सदरमुकाम इलाम पुग्नुपर्ने बाध्यता छ ।

‘१५ किमिसम्म बोकेरै बिरामी, घाइतेलाई अस्पताल पुर्‍याइएको छ,’ स्थानीय रघुनाथ मैनालीले दुखेसो गरे । इलाम–राँके सडकको कालोपत्र छिचोलेर देब्रे ओर्लिएपछि सुरु हुन्छ, फाकफोकथुम गाउँपालिकाको दुःखको कथा । नेम्वाङ यो क्षेत्रको जनप्रतिनिधि बनेदेखि नै सुरु भएको राँके–रवि सडकको अवस्था अहिले पनि टिठलाग्दो छ । फाकफोकथुम–६ देउरालीका लीला फुँयाल भन्छन्, ‘यो बाटो अब बन्ने आशा छैन, हामीले त माया मारिसक्यौं ।’

४ वर्षअघि राँके–रवि–भेडेटारसम्मको १ सय २ किमि सडक विस्तार गर्न एक भारतीय कम्पनीले निर्माण ठेक्का पनि लियो । तर, पछि काम अलपत्र पारेर ठेकेदार कम्पनी बेपत्ता भयो । ‘अहिले ठाउँ–ठाउँ खनेर भिरपहरा भत्काएर छाडिएको छ’, स्थानीय तुलसा फुँयालले गुनासो पोखिन् । २०५६ सालयता हरेक उम्मेदवारले बाटो बनाउने आश्वासन दिए पनि पूरा नगरेको गुनासो छ, स्थानीय जितबहादुर थापाको । ‘नेताहरू भोट माग्ने बेलामा चाहिँ आजै बनाइदिन्छु जस्तो गर्छन्, तर, चुनाव जितेपछि वाचाकसम भुलिहाल्ने रहेछन्,’ उनले भने ।

त्यसैगरी, देउराली–फँलाटे–गजुरमुखीसम्मको करिब साढे २६ किमि सडकको दुरवस्था राँके–रवि सडकको भन्दा भिन्न छैन । यो सडक निर्माण सुरु भएको पनि दशक नाघ्यो । निर्माण कम्पनी रोशन–विष्णु जेभी काठमाडौंले समयमा काम सक्नुको साटो लठिभद्र पारेर छाडेको छ । फाकफोकथुम–६ मा सुकुम्बासी समस्या पनि पेचिलो छ । एक दर्जनभन्दा बढी घर पुर्जाविहीन छन् । पुर्जा पाउने आशामा बसेको वर्षौं भएको उनीहरूको दुखेसो छ । त्यस्तै, फाकफोकथुम–७ मा गतिलो सडक नहुँदा कृषिजन्य उत्पादनलाई बजारसम्म पुर्‍याउन नसकिएको स्थानीयको गुनासो छ । सुवास नेम्वाङ २५ वर्ष जनप्रतिनिधि रहेको यो क्षेत्रमा एउटै पानीको धारा नहुँदा स्थानीय दुःखी छन् ।

प्रकाशित : वैशाख ११, २०८१ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?