२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

प्रधानमन्त्री दाहाल- रुस चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले मंगलबार शिष्टाचार भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयबाट जारी प्रेसनोटमा छ ।

प्रधानमन्त्री दाहाल- रुस चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

प्रधानमन्त्री दाहालले विभिन्न क्षेत्रमा विदेशी लगानी नेपाल भित्राउने तयारीका साथ सरकारले लगानी सम्मेलनको तयारी गरेको जानकारी दिँदै नेपालमा लगानी गर्न आग्रह गरे ।

'व्यवसायी र विदेशी लगानीकर्तालाई केन्द्रित गरेर हामीले लगानी सम्मेलनको तयारी गरेका छौँ,' प्रधानमन्त्री दाहालले भने , 'नेपालमा विदेशी लगानीलाई सहज बनाउनका लागि केही कानुनसमेत परिमार्जन गरेका छौँ, नेपालमा लगानीका लागि इच्छुक सबैलाई सहयोग गर्ने सरकारको नीति छ ।'

नेपालको आर्थिक विकासमा रुसले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सडक, कृषि, जलविद्युत् र सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि नेपालमा राम्रो अवसर भएको बताए ।

नयाँ परिस्थितिमा नेपाल–रुसबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आपसी सहयोग र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

भेटमा चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिज अफ रसियन फेडेरेशनका अध्यक्ष सर्गेयी कटीरिन, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकोभलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : वैशाख ११, २०८१ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?